विदुर । नुवाकोटमा अहिलेसम्म ३ हजार ९३६ जनाले कोरोनालाई जितेका छन् । कोरोना संक्रमणको सुरुवाती चरणदेखिनै हालसम्म नुवाकोटमा ३ हजार ९६७ जना कोरोना मुक्त बनेका हुन् । यो समयमा संक्रमणका कारण नुवाकोटमा ३३ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङ्क अनुनसार संक्रमण पुष्टि भएर नुवाकोटमै रहेका ३३ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १०८ जनासंक्रमित कोरोनामुक्त भएका हुन् । योसँगै ३८ जना नयाँ संक्रमित थपिएका छन् । अहिले नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ९५२ छ ।
स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालका अनुसार नुवाकोटमा हाल सम्म झण्डै २० हजार जनाको स्वाब संकलन गरि परिक्षण भएको छ । उनीहरु मध्ये करिव ५ हजार जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा १३४ जनाको कोरोना परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा भेटिएका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी विदुर नगरपालिकाको १३ जना छन् । यस्तै तादीको ७ जना, सुर्यगढीको ३ जना र लिखु र म्यागाङको १/१ जना छन् ।
हालसम्म नुवाकोटमा ३३ जना कोरोना संक्रमितको ज्यान गइसकेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । स्वास्थ्य कार्यालय नुवाकोटको तथ्याङ्क अनुसार सबै भन्दा धेरै संक्रमित विदुर नगरपालिकामा छन् । अहिले पनि विदुर नगरपालिकामा २५६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
७ असार २०७८, सोमबार १७:३१