आईसियु बेड सहित १६ लाखको सहयोग

त्रिशुली । नुवाकोट समाज जापानले त्रिशुली अस्पताल नुवाकोटलाई आईसियु बेड सहित १६ लाख रुपैयाँको स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ ।

विदुर नगरपालिका मार्फत समाजले आईसियु बेड ३ वटा, ३ थान मोनिटर, अक्सिमिटर, सिरिञ्ज, पिपिई सेट र मास्क उपलब्ध गराएको हो । बिभिन्न जिल्लाबाट जापानमा अध्ययन र रोजगारीको सिलसिलामा रहेका युवाहरुको सक्रियतामा संकलित रकमले स्वास्थ्य सामाग्री खरिद गरि त्रिशुली अस्पताललार्ई नगरपालिका मार्फत उपलब्ध गराएको नुवाकोट समाज जापानका सल्लाहाकार राजेन्द्र अधिकारीले बताए ।

तीन वटा जिल्लाका नागरिकहरुलाई उपचार सेवा उपलब्ध गराउदै आएको त्रिशुली अस्पताललाई रोजगारी तथा अध्ययनमा रहेका ब्यक्तिहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत संकलन गरेको रकमको सहि सदुपयोग गर्न त्रिशुली अस्पताललाई उनले आग्रह गरेका छन् ।

नुवाकोट समाज जापानबाट उपलब्ध सामाग्री त्रिशुली अस्पताललाई उपलब्ध गराउदै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बैदेशिक क्षेत्रमा पुगेका ब्यक्तिहरुको रगतपसिनाबाट संकलन भएको स्वास्थ्य सामाग्रीबाट नुवाकोट, रसुवा र धादिङका नागरिकहरुले उपचार सेवा पाउने बताए । कोरोना भाईरसबाट संक्रमित भएकाहरुको उपचारको लागी अत्याबश्यक आईसियु बेड र स्वास्थ्य उपकरणहरुको सहयोगले त्रिशुली अस्पतालमा सहयोग पुगेको पण्डितले बताए ।

नुवाकोट समाज जापानमा आबद्ध १२० जनाले संकलन गरेको रकमबाट स्वास्थ्य सामाग्री खरिद गरेको हो ।

आईसियु वेड र आईसियु मोनिटर हस्तान्तरण

त्रिशुली । रोजगारीको शिलशिलामा दक्षिण कोरिया पुगेका युवाहरुको समूहले त्रिशुली अस्पताल नुवाकोटलाई आईसियु वेड र आईसियु मोनिटर हस्तान्तरण गरेको छ ।

नुवाकोट समाज दक्षिण कोरिया स्थापना गरेर युवाहरुले नुवाकोटमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको छ । कोरोना भाइरसको रोकथाम, नियनत्रण र उपाचार गर्नलाई अघिल्लो वर्ष त्रिशुली अस्पताल सहित जिल्लाका ९२ वटा स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री नुवाकोट समाज दक्षिण कोरियाले वितरण गरेको थियो ।

यस वर्ष त्रिशुली अस्पताललाई २ थान आईसियु वेड र २ थान आईसियु मोनिटर शुक्रवार हस्तान्तरण गरेको हो । ती सामाग्री त्रिशुली अस्पताललाई हस्तान्तरण गर्दै नुवाकोट समाज दक्षिण कोरियाका प्रमुख सल्लाहकार राजदोङ तामाङले आफ्नो जन्म स्थानमा कोरोना भाइरसलाई परास्त गर्नुपर्छ भन्ने सल्लाह बमोजिम त्रिशुली अस्पताललाई आईसियु वेड र आईसियु मोनिटर उपलव्ध गराइएको बताए ।

दक्षिण कोरियामा कार्यरत नुवाकोटका युवाहरुबाट संकलित रकमबाट आईसियु वेड र आईसियु मोनिटर खरिद गरिएको दोङले बताए । दक्षिण कोरियामा नुवाकोटका १ हजार भन्दा वढी युवाहरु कार्यरत छन् । नुवाकोट समाज दक्षिण कोरियाले केही समय पछि बेलकोटगढी नगरपालिकालाई एम्बुलेन्स उपलव्ध गराउने योजना रहेको बताएको छ ।

७ असार २०७८, सोमबार १८:०९



तपाईको प्रतिक्रिया