फेरि देखियो नुवाकोटमा कोरोनाको संक्रमण

विदुर । १९ महिनापछि विश्व महामारी कोभिड–१९ नोबेल कोरोना भाइरसको संक्रमण मुक्त भएको नुवाकोट जिल्लामा मंगलवार पुनः एक जनामा संक्रमण फेला परेको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटले पुस १४ गते नुवाकोट कोरोना संक्रमण मुक्त रहेको जनाएको थियो । तर स्वास्थ्य कार्यालय नुवाकोटले पुस २० गते सार्वजनिक गरेको तथ्याङ्कमा एक जना संक्रमित रहेको उल्लेख गरेको छ । स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालका अनुसार सुर्यगढी गाउँपालिकाका एक जना महिलामा संक्रमण देखिएको छ । उनी हाल घरमै स्वास्थ्य मापदण्ड पालना गरी सुरक्षित बसिरहेको बताइएको छ । स्वास्थ्य कार्यालय नुवाकोटका खोप अधिकृत अमृत महर्जनका अनुसार पुस १४ गतेदेखि २० गतेसम्म नुवाकोटमा कुनै संक्रमण फेला परेको थिएन ।

हालसम्ममा विदुर नगरपालिकाका नागरिकहरू बढी संक्रमित भएका छन् । ३३ सय ८९ जना विदुर नगरपालिकाको संक्रमित भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिएका छन् । त्यस्तै दोश्रोमा तारकेश्वर गाउँपालिकाको ९ सय ५८ जना संक्रमित भएका छन् । सबै भन्दा कम पञ्चकन्या गापाको १९३ जना र म्यागाङ गापाको १९४ जना छन् ।

जिल्ला अस्पताल त्रिशुलीको ३० वटा, खरानीटार अस्पतालको ३० वटा र १६९ वटा आइसोलेसन सेन्टरहरूका बेड खाली भएका छन् । कोरोनाका कारण नुवाकोटमा ५२ जनाको निधन भएको छ । काठमाडौं वा अन्य जिल्लामा निधन भएको नुवाकोटका नागरिकको संख्या भने यसमा समावेश छैन । जिल्ला बाहिर कत्ति जना जिल्लावासीको कोरोनाका कारण निधन भयो भन्ने यकिन तथ्याङ्क पनि सरकारी पक्षसंगै छैन ।

२० पुष २०७८, मंगलवार २१:२१



तपाईको प्रतिक्रिया