पाँच हजार ८७ जना सङ्क्रमित

काठमाडौँ, । पछिल्लो २४ घन्टामा पाँच हजार ८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. सङ्गीता मिश्राले शुक्रबार पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार २० हजार ५६० को परीक्षण गर्दा पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पाइएको हो ।

देशभरि १३ हजार ४७४ जनाको पीसीआर परीक्षण र ७ हजार ८६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । डा. मिश्राका अनुसार पछिल्लो २४ घन्टामा ३०६ जना सङ्क्रमणमुक्त भएका छन् । देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २३५ रहेको उहाँले बताउनुभयो । क्वारेन्टिनमा ११५ जना रहेको मन्त्रालयले उल्लेख गरेको छ । कोरोना सङ्क्रमणबाट थप ३ जनाको मृत्यु भएको छ ।

तीन लाखले लगाए खोप
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा तीन लाख २० हजार २६७ जनाले खोप लगाएका छन् । खोप अभियान सुरु भएयता दुई करोड ७४ लाख ७५ हजार ९९५ डोज खोप लगाइएको छ । जसमा एक करोड ५६ लाख छ हजार २१ जनालाई एक मात्रा र एक करोड १८ लाख ६९ हजार ९७४ जनालाई पूर्ण मात्रा लगाइएको मन्त्रालयले बताएको छ ।

हालसम्म ४९ लाख ८१ हजार २६० जनाको पीसीआर र ८ लाख ८० हजार ८८२ जनाको एन्टिजेन परीक्षण गरिएको छ । यसैबीच कोभिड–१९ को सङ्क्रमणदर वृद्धि भएपछि स्वास्थ्य मन्त्रालयले बजारमा औषधि अभाव हुन नदिन सबै संयन्त्रलाई परिचालन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले औषधि उत्पादन, आयात र वितरणलाई प्रभावकारी बनाउन सरकारी र निजी उत्पादकहरूसँग समन्वय भइरहेको बताए ।

राज्यमन्त्री खापुङले भने, ‘अघिल्लो पटक कोरोना भाइरसको सङ्क्रमणदर उच्च भएका बेला कतिपय औषधिको अभाव भएको थियो तर यस पटक कुनै औषधिको अभाव हुन दिइने छैन ।’ उनका अनुसार स्वास्थ्य मन्त्रालयले औषधि उत्पादक र आयातकर्तासँग समन्वय गरेर बजारमा औषधि पर्याप्त मात्रामा उपलब्ध गराउन पहल गरिरहेको छ । नेपालमा उत्पादन हुने औषधिहरूका लागि चाहिने कच्चा पदार्थ र रासानियक पदार्थको आयातमा कुनै समस्या नरहेको पनि उनले बताए । सातै प्रदेशमा सञ्चालित कोभिड अस्पतालमा सङ्क्रमितको उपचारका लागि चाहिने औषधि पर्याप्त रहेको उनले दाबी गरेका छन् ।

उत्पादन र वितरणमा ६८ कम्पनी
सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडले कोभिड प्रकोपअघि सिटामोल र जीवनजल उत्पादन गरिरहेको थियो । कोभिड–१९ प्रकोप सुरु भएपछि लिमिटेडले सेनिटाइजर पनि उत्पादन गर्न थालेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीका अनुसार नेपालमा ६८ वटा कम्पनी औषधि उत्पादन र बजारीकरणमा संलग्न छन् ।

केसीले भने, ‘स्वदेशी उत्पादक र आयातकर्ताहरूमार्फत बजार धान्ने गरी औषधि उत्पादन र वितरण गर्ने प्रबन्ध गरिएको छ । कुनै पनि औषधिको अभाव हुँदैन भन्नेमा हामी विश्वस्त छौँ । ’ विशेषगरी सघन उपचार कक्षमा प्रयोग हुने ‘क्रिटिकल केयर’का औषधिहरूको तथ्याङ्क स्वदेशी उत्पादनकर्ता र आयातकर्तासँग लिने तयारी भइरहेको केसीले बताए । उनले भने, ‘उत्पादन र वितरणको सन्तुलन मिलाउन उत्पादक कम्पनीसँग कुरा गरिरहेका छौँ । माघ १ गतेदेखि सघन उपचार कक्षमा चाहिने औषधि सङ्कलन गरेरै कति चाहिने रहेछ भन्ने तथ्याङ्क निकाल्छौँ । ’

खोप र उपचार सँगसँगै
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सङ्गीता मिश्राले खोपको पहुँचमा सबै नागरिकलाई पु(याउने लक्ष्यका साथ मन्त्रालयले काम गरिरहेको बताए । उनले भने, ‘खोप लगाउने काम जारी रहन्छ । साथै कोभिड–१९ का सङ्क्रमितहरूलाई उपचारको प्रबन्ध गर्ने कार्य प्राथमिकताका साथ अघि बढाइएको छ ।’ डा. मिश्रले कोरोना सङ्क्रमण हुनै नदिनका लागि खानपानमा ध्यान दिने तथा स्वास्थ्य मन्त्रालय र कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले तयार पारेको स्वास्थ्यसम्बन्धी मापदण्ड कडाइका साथ पालना गर्न पनि आग्रह गरे ।

१ माघ २०७८, शनिबार १२:३७



तपाईको प्रतिक्रिया