प्रदेश सरकारले घर बनाउने

विदुर । बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रम अन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका २२ सय ४६ घरमध्ये ६२० घर निर्माण सम्पन्न भएका छन् ।

सरकारले उक्त कार्यक्रम अन्तर्गत उपत्यकाका तीन जिल्ला बाहेक प्रदेशका १० जिल्लामा जम्मा २२ सय ४६ घर निर्माण गर्ने लक्ष्यसहित काम अगाडि बढाएको थियो । सो कार्यक्रमका लागि सरकारले अघिल्लो आर्थिक वर्षमा ४३ करोड रुपैयाँ बजेट विनियोजन गरेर काम शुरु गरेको र क्रमागत योजना अन्तर्गत चालू आर्थिक वर्षमा आठ करोड ६३ लाख बजेट थप गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

सरकारले नुवाकोटमा ५०, रसुवामा ५०, धादिङ्गमा ३५० घर बनाउने अघिल्लो वर्ष योजना तयार गरेको थियो । त्यस्तै, चितवनमा ७६६, मकवानपुरमा ६५०, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, सिन्धुली र रामेछापमा ५०-५० घर निर्माण गर्ने योजना अनुसार अघिल्लो आर्थिक वर्षमा ६२० घर निर्माण सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।

यस मध्ये नुवाकोट, रसुवा र धादिङ्गमा घर निर्माण भएको छैन । मन्त्रालयका अनुसार जनता आवास कार्यक्रम अन्तर्गत यो वर्ष नुवाकोटमा ५०, रसुवामा ५, धादिङ्गमा एक सय घर बनाउने योजना छ । त्यस्तै, चितवन र मकवानपुरमा दुई-दुई सय घर, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र दोलखामा पाँच-पाँच घर गरी ५८० घर बन्ने छ ।

१५ भाद्र २०७७, सोमबार १०:४७



तपाईको प्रतिक्रिया