विदुर । नुवाकोट प्रहरी गाँजाको बोट फडानी गर्ने कार्यमा बढि केन्द्रित दखिएको छ । प्रहरीले स्थानीय युवा तथा महिला समुहहरुलाई अघि सारेर यो कार्यलाई तिब्रता दिएको छ । पछिल्लो चार दिनको अवधिमा नुवाकोट प्रहरीले विभिन्न फरक स्थानमा सयौं गाँजाका बोट नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार साउन १ गतेदेखि यता मात्रै नुवाकोटका विभिन्न स्थानमा ५३ सय भन्दा बढि गाँजाको बोट नष्ट भएको छ । चालु आर्थिक वर्ष २०७७-७८ मा नुवाकोटका करिव साढे २८ रोपनीमा उम्रिएको अबैध लागू औषध गाँजा फडानी गरि नष्ट गरिएको छ । प्रहरी नायव उपरिक्षक राजेश थापाका अनुसार नुवाकोट प्रहरीको गाँजा फडानी अभियान निरन्तर रहने छ । यही क्षेत्रफलमा उम्रिएको वा लगाइएको अन्दाजी ५ हजार ३ सय ५० बोट नष्ट गरिएको प्रहरी तथ्याङ्क रहेको छ ।
आइतवार म्यागाङ गाउँपालिका वडा नं. ३ फासाङ गाउँमा प्राकृति रुपमा उम्रिएको दर्जनौं गाँजाको बोट प्रहरीले नष्ट गरेको छ । त्यहाँका घरवारी र करेसामा आफै उम्रिएको झण्डै चार सय गाँजाको बोट नष्ट गरिएको जानकारी प्रहरी चौकी देउरालीका हवल्दार केशव तामाङले दिएका छन् ।
शनिबार विदुर नगरपालिका वडा नं. २ को सितापोखरी र तिनधारे क्षेत्रमा ब्यक्तिहरुको जग्गा तथा करेसाबारीमा आँफै उम्रिएको झण्डै दुई रोपनी जग्गाको गाँजा नष्ट गरिएको छ । साढे तीन सय बोट काटेर नष्ट गरिएको अनुमान प्रहरीको छ । स्थानिय जनप्रतिनिधि तथा महिलाहरुको सहभागिता देखिएको थियो ।
शुक्रवार सुर्यगढी गाउँपालिका वडा नं. १ को लच्याङ र जोङडाँडा क्षेत्रमा प्रहरीले साढे तीन सय भन्दा बढि गाँजाको बोट नष्ट गरेको छ । घरको करेसाबारीमा आँफै प्राकृतिक रुपमा उम्रिएको अन्दाजी २ रोपनी जग्गामा फैलिएको साढे तीन सय बोट नष्ट गरिएको हो । गाँजा फडानी गर्न इलाका प्रहरी कार्यालय चोकतेबाट प्रहरीहरु गएका थिए ।
यस्तै, बेलकोटगढी नगरपालिका वडा नं. ९ स्थित सिरान टोल र पोख्रेल टोल क्षेत्रको सडक छेउछाँउ तथा बिभिन्न ब्यक्तिहरुको जग्गामा प्राकृतिक रुपमा उम्रिएको ४ रोपनी जग्गाको गाँज पनि शुक्रवार नै नष्ट गरेको छ । प्रहरीका अनुसार त्यहाँ अन्दाजी साढे पाँच सय बोटहरु थिए । प्रहरी चौकी बाघखोरबाट प्रहरी सहायक निरिक्षकको नेतृत्वमा गएका प्रहरीहरुले त्यहाँ गाँजा फडानी गरेका हुन् ।


१५ भाद्र २०७७, सोमबार ११:१७