त्रिशुली । नुवाकोटको पुरानो तथा ऐतिहासिक साँघु अर्थात् त्रिशुली बजारको मुहार फेरिएको छ । नुवाकोटको सबैभन्दा पुरानो बजारको रुपमा रहेको त्रिशुली बजार व्यापारिक तथा ऐतिहासिक रुपमा प्रख्यात रहेको छ । प्राचीन समय देखिकै रसुवा, नुवाकोट तथा धादिङ लगायत गोरखा, लमजुङ्ग सम्मैको व्यापारिक बाटोको रुपमा परिचित त्रिशुली बजारले राजधानी काठमाडौंसंग जोडिने पुलको काम समेत गरेको थियो ।
भौगोलिक रुपमा त्रिशुली नदीको किनारमा रहेको यो बजारको आधुनिक बजार बाहिरी राजमार्गमा फैलिएको भएपनि पुरानो तथा ऐतिहासिक बजार अहिलेको पुरानो बजारलाई अझै व्यवस्थित र कलात्मक बनाउन विदुर नगरपालिकाले अग्रसरता लिएको छ ।
विदुर नगरपालिकाको आर्थिक सहयोगमा पुरानो बजार भित्रका सडकहरुमा कलात्मक ढुङ्गा विछ्याउने काम अन्तिम चरणमा पुगेको स्थानिय समाजसेवी तथा त्रिशुली सामाजिक क्लवका सचिव प्रज्वल सापकोटाले बताए । विदुर नगरपालिकाले बजार क्षेत्रको सडकलाई स्तरउन्नति, उकालो बाटोहरुमा ढलान तथा भित्री बजारलाई ढुङ्गा बिछ्याउनुका साथै व्यवस्थित बसपार्क र सुन्दरपार्क बनाउन नगरपालिकाले लगानी गरिसकेको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए ।
१९ मंसिर २०७७, शुक्रबार ०९:३३