महोत्सबमा ५ लाख बढी घाट

विदुर । नुवाकोट उद्योग बाणिज्य संघको अयोजनामा एक बर्ष अघि भएको छैटौं नुवाकोट महोत्सब घाटामा गएको छ ।

महोत्सबको आयब्यय प्रस्तुत गर्दै नुवाकोट उद्योग बाणिज्य संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले महोत्सवमा ५ लाख ७८ हजार रुपैयाँ घाटामा रहेको जनाकारी दिए । २०७६ माघ १६ गते देखि २६ गतेसम्म सञ्चालन भएको महोत्सबको अझै ५ लाख ६५ हजार रुपैयाँ तिर्न बाँकी छ । महोत्सब आयोजना गरेको स्थलको जग्गाको भाडा, सम्झौता भन्दा थप भएका कलाकारहरूको खर्च लगायत ५ लाख ६५ हजार रुपैयाँ तिर्न बाँकी रहेको नुवाकोट उद्योग बाणिज्य संघले जनाएको छ ।

धार्मिक एतिहासिक कला संस्कृतिको सम्बद्र्धन, दिगो आर्थिक बिकासको लागी ब्यबसायिक प्रबद्र्धन भन्ने मुल नाराका साथ आयोजना भएको महोत्सवमा नुवाकोटका १२ वटै स्थानिय तहले सहयोग नगरेको नुवाकोट उद्यग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले बताए ।

महोत्सब सकिएलगत्तै मुलुकमा कोरोना भाईरसको संक्रमण भयाबह भएको र मुलुक लामो समयसम्म बन्दाबन्दीमा परेका कारण स्थानीय तहहरूले सहयोग गर्न नसकेको उनले बताए । उनले होटलको खर्च सोचेभन्दा बढी भएका कारण महोत्सव घाटामा गएको बताएका छन् । १० दिनको महोत्सवमा १५ लाख रुपैयाँ बराबर होटलको खाना र खाजामा मात्र खर्च भएको बताइएको छ ।

महोत्सबमा स्थानीय तहमा उत्पादन भएका सामानहरूको बजारीकरणको लागी ६० वटा स्टल निःशुल्क रुपमा उपलब्ध गराएको थियो । यस्तै, महोत्सबमा नुवाकोट उद्योग बाणिज्य संघका सदस्यहरूलाई निःशुल्क पासको ब्यबस्था, ज्येष्ठ नागरिकहरूलाई निःशुल्क प्रबेश र बिद्यार्थीहरूलाई ५० प्रतिशत छुटको ब्यबस्था गरेको थियो । यस्तै, नुवाकोट उद्योग बाणिज्य संघले छैटौं महोत्सबमा विदुर नगरपालिकालाई १ लाख रुपैयाँ मनोरञ्जन कर तिरेको नुवाकोट उद्योग बाणिज्य संघका प्रबक्ता सबिन राजभण्डारीले बताए ।

६ पुष २०७७, सोमबार ०९:२५



तपाईको प्रतिक्रिया