जिल्ला प्रशासनमा डिजिटल टोकन प्रणाली

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सेवा लिन आउनेहरूलाई लाइनमा नराख्न र पालो मिलाउनका लागि डिजिटल टोकन प्रणालीको सुरुवात गरेको छ ।

प्रशासनले सेवाग्राहीको चापलाई व्यवस्थापन गर्नका लागि यो प्रणालीको सुरुवात गरेको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालका अनुसार तीन वटा सेवा लिन आउने नागरिकहरूले टोकन लिएर आफ्नो पालो कुर्ने छन् । नागरिकता शाखा, राहदानी शाखा र राष्ट्रिय परिचयपत्र शाखाको कामका लागि आउनेहरूले मेसिनमा थिचेर आफ्नो टोकन नम्वर पाउने छन् र नम्वर अनुसार पालो कुरेर काम गर्नेछन् । यसबाट भिड नहुने र कोरोना भाइरसको संक्रमण नफैलने बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयले यस अघि हुलाक टिकट विक्री काउण्टर कार्यालयमा भित्रै राखेको छ । १० रुपैयाँको हुलाक टिकट बाहिर १५ रुपैयाँ किन्नु परेको नागरिकको गुनासो आएपछि प्रशासन कार्यालयमै टिकट विक्रिका लागि हुलाकको काउन्टर स्थापना गरिएको हो । त्यस्तै जिल्ला प्रशासन कार्यालय नुवाकोटको नाममा तिर्नु पर्ने राजश्व जम्मा गर्नका लागि नेपाल बेंकसम्म पुग्नु पर्ने बाध्यता पनि अघिल्लो महिनाबाट प्रमुख जिल्ला अधिकारी ढकालले हटाएका छन् ।

प्रशासनसंगै रहेको जिल्ला मातपोत कार्यालयको परिषरमा रहेको एनआइसिएसिया बैंकमै रकम जम्मा गरेर जिल्ला प्रशासन कार्यालयको सेवा लिन सक्ने व्यवस्था पनि भएको छ ।

१३ पुष २०७७, सोमबार ०७:४६



तपाईको प्रतिक्रिया