विदुर । रसुवागढी नाका जोड्ने स्याफ्रु–रसुवागढी सडक खण्डको स्तरोन्नतीको काम आउँदो चैतदेखि सुरु हुने भएको छ । बिजुलीको पोल सार्ने काम आउँदो चैतसम्ममा सकिने र भएकाले त्यस लगत्तै काम सुरु हुने भएको हो । चिनियाँ लगानीमा स्तरोन्नती हुन लागेको सडक खण्डमा पर्ने विद्युतको पोल सार्ने काम भइरहेको छ । गत चैतदेखि विद्युतको पोल सार्ने काम सुरु भएको थियो ।
केही ठाउँमा मुआब्जा वितरण भइनसकेकाले बाँकी क्षेत्रमा पोल सार्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण धुन्चे बितरण केन्द्रले जनाएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण काममा ढिलाई भएको र टेलिफोनको तार तथा फाइबर नेटवर्कको तार नसारिएको कारण ढिलाई भएको हो । यसैगरी तातोपानी क्षेत्रमा मुआब्जा वितरण नभएका कारण स्थानीयको अवरोध र भौगोलिक विकटता लगायतका कारण काममा ढिलाइ भएको केन्द्रले जनाएको छ ।
स्याफ्रु चौकीदेखि रोङ्गा पुल र रोङ्गा पुलदेखि लिङलिङसम्मको पोल सार्ने काम चलिरहेको छ । यही पुस महिनाभित्र पोल सार्न‘पर्ने काम सकाउनुपर्ने भएपनि विविध कारणले चैत महिनासम्म म्याद थप गरिएको छ ।
सडक खण्डमा पर्ने ३२५ वटा पोल हटाउनुपर्नेमा करिब ५० प्रतिशत पोल हटाइएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । साइड क्लिएर भएपछि काम सुरु हुने योजना प्रमुख नारायणदत्त भण्डारीले बताएका छन् । प्राधिकरणले चैतसम्ममा पोल सारिसक्ने छ ।
सडक खण्डमा रहेका विद्युत्का पोल सार्ने, सडक क्षेत्रमा पर्ने घर टहरा हटाउने र तातोपानी क्षेत्रका प्रभावितलाई मुआब्जा दिने काम नेपाली पक्षले गर्नुपर्ने छ । यी तीनवटै काम सकिएपछि चिनियाँ पक्षले काम अघि बढाउने छ ।
रसुवागढी नाका जोड्ने यो सडकको स्तरोन्नति १४ महिना अघि सुरु गरिएको थियो । चिनियाँ टोली आएर २०७६ असोजमा नै स्तरोन्नति सुरु भएको घोषणा गरेको थियो। नेपाली पक्षले ‘साइड क्लिएर’ गरेपछि स्तरोन्नति अघि बढाउने बताएर टोली चीन फर्किएको थियो । त्यसको केही महिनापछि विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण काम प्रभावित बनेको हो ।
३९ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी चिनियाँ टोलीले काम अघि बढाएको भएपनि कोभिड–१९ ले पनि यसलाई प्रत्यक्ष असरका कारण समयाबधि लम्बिएको हो । स्याफ्रु–रसुवागढी सडकको दूरी १७ किलोमिटर रहेको छ । जसमा चिनियाँ पक्षले १५.८ किलोमिटर स्तरोन्नति गर्ने छ । यो अहिले एक लेनको कच्ची सडक हो । चिनियाँ पक्षले कालोपत्रेसहितको दुई लेनको सडक बनाउने छ ।
यो सडक खण्डको स्तरोन्नति चीन सरकारको अनुदान सहयोगमा हुन लागेको हो । योजनाका अनुसार टिबेट थियानलु कम्पनी लिमिटेडले सडकको स्तरोन्नति गर्ने छ । स्याफ्रुबेंसी–रसुवागढी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ ।
तर निर्माण गरिएको डिपिआरले स्याफ्रुका बासिन्दालाई असर गर्ने देखिएपछि संशोधनको लागि प्रस्ताव गरिएको योजना प्रमुख भण्डारीले बताए । सडक सिधा बनाउनका लागि छेउपटिका घर मात्र भत्काउने गरी डिपिआर तयार भएकाले शंसोधन गर्न लागेको उनले जानकारी दिए । उक्त सडक चीन सरकारले स्तरोन्नती गरेर नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ । यो सडक निर्माण भएपछि नेपाल–चीनबीच हुने व्यापारमा सहज हुने छ ।
गल्छीदेखि रसुवागढी सम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम गरिँदै छ । गल्छी–मैलुङ पहिलो खण्ड, मैलुङ–स्याफ्रु दोस्रो खण्ड र स्याफ्रु रसुवागढी सडक तेस्रो खण्ड हो । गल्छीदेखि रसुवागढीसम्म ८२ किलोमिटर दूरी रहेको छ ।
१ माघ २०७७, बिहीबार ०८:५१