स्वास्थ्य चौकीलाई स्थानीय सरकारको सम्मान

विदुर । गत आर्थिक वर्ष २०७७/७८ मा सबै भन्दा वढी प्रशुती सेवा उपलव्ध गराउने स्वास्थ्य चौकीहरुलाई विदुर नगरपालिकाले सम्मान गरेको छ ।

विदुर नगरपालिका भित्र रहेको १८ वटा स्वास्थ्य सस्थाहरु मध्ये ६ वटामा प्रशुती सेवा उपलव्ध रहेको छ । ती मध्ये सबै भन्दा वढी प्रशुती सेवा प्रदान गर्ने खड्गभञ्ज्याङ स्वास्थ्य चौकी र नुवाकोट स्वास्थ्य चौकीलाई नगरपालिकाले नगद रुपैयाँ सहित प्रमाण पत्र प्रदान गरिएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक रामराजा भण्डारीले जानकारी दिए । खड्गभञ्जयाङ स्वास्थ्य चौकीलाई १० हजार रुपैयाँ र नुवाकोट स्वास्थ्य चौकीलाई ५ हजार रुपैयाँ प्रदान गरिएको छ । गत आर्थिक वर्षमा खड्गभञ्ज्याङ स्वास्थ्यचौकीले १५ जनालाई र नुवाकोट स्वास्थ्य चौकीले ५ जनालाई सुत्केरी सेवा उपलव्ध गराएको थियो ।

विदुर नगरपालिका भित्र रहेको स्वास्थ्यचौकीहरु मध्ये खडगभञ्ज्याङ, चारघरे, कल्याणपुर, गेर्खु, तुप्चे र नुवाकोटबाट प्रशुती सेवा उपलव्ध हुने गरेको छ । आमा र बच्चाको स्वास्थ्यलाई मध्यनजर गर्दै संस्थागत सुत्केरीलाई नगरपालिकाले प्रोत्साहन गर्ने कार्यक्रम अन्तरगत रहेर ती स्वास्थ्य चौकीहरुलाई सम्मान गरेको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताएका छन् ।

आफ्नै गाउँको स्वास्थ्य चौकीबाट सुत्केरी सेवा लिन सकिने भए पनि त्रिशुली अस्पताल लगायत बाहिरी अस्पतालमा सुत्केरी गराउन जाने प्रचलन बढिरहेको छ । आफ्नै गाउँको स्वास्थ्य चौकीमा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट गुणस्तरीय सुत्केरी सेवा लिन सकिन्छ भन्ने विश्वास दिलाउन सकियो भने सेवाग्राही अन्यत्र धाउनु नपर्ने मेयर पण्डितको भनाई छ । आगामी दिनमा पनि स्वास्थ्य चौकीहरुको कार्य मूल्याङ्कनको आधारमा नगरपालिकाले प्रोत्सहान गर्दै जाने उनले बताएका छन् ।

विदुर नगरपालिकाले स्वास्थ्य सस्थामा नै सुत्केरी गराएको खण्डमा प्रति सुत्केरी ३ हजार रुपैयाँ उपलव्ध गराउदै आइरहेको छ । त्यस्तै कोरोना भाइरस जस्ता खोखिमपूर्ण समयमा स्वास्थ्य सस्थामा नै पुगेर सुत्केरी गराएको खण्डमा २ हजार रुपैयाँ बरावरको पोषण युक्त खानेकुरा उपलव्ध गराउदै आइरहेको उपमेयर गीताकुमारी दाहालले बताए । कोरोना भाइरस जस्तो अप्ठ्यारो परिस्थितमा पनि ज्यानको बाजी थापेर स्वास्थ्य सेवा उपलव्ध गराउन तल्लिन स्वास्थ्यकर्मीहरुलाई पेशाप्रति लगनशिल भई सेवा प्रवाह गर्नलाई हौसला दिने काम नगरपालिकाले निरन्तर गरिरहेको उपमेयर दाहालको भनाई छ ।

२९ मंसिर २०७८, बुधबार १०:५३



तपाईको प्रतिक्रिया