मन्त्रालय फुटाउदा कर्मचारी अभाव

विदुर । सत्ता गठबन्धनलाई भाग पु-याउन मन्त्रालय फुटाउदा बागमती प्रदेशमा कर्मचारी अभाव भएको छ ।

सरकारले मन्त्रालयका संख्या बढाउँदा पूर्वाधार र कर्मचारी अभाव भएको छ । कर्मचारी अभाव भएकाले एक जनाले दुई मन्त्रालय हेर्नुपर्ने अवस्था सिर्जना भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता गठबन्धनलाई भाग पु-याउन ८ मन्त्रालयलाई फुटाएर १४ मन्त्रालय बनाएका छन् ।

मन्त्रालयको संख्या थपिएपछि सरकारलाई पूर्वाधार व्यवस्थापनको चटारो परेको छ । सरकारलाई ठूलो आर्थिक भार नपर्ने गरी पुराना सरकारी भवन मर्मतसम्भार गरेर र मौजुदा जनशक्ति प्रयोग गरेर मन्त्रालय सन्चालनको तयारी भैरहेको बताईएको छ ।

थपिएका मन्त्रालयहरुमा कर्मचारीहरुको पनि अभाव रहेको छ । तत्काललाई मौजुदा जनशक्तिबाटै काम चलाउने गरी कर्मचारीहरुको व्यवस्था गरिएको छ । संघबाट कर्मचारी आउन समय लाग्ने भएकाले एउटा कर्मचारीले दुईवटा मन्त्रालय हेर्नुपर्ने अवस्था आएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

मन्त्रालयका कर्मचारी र बजेट व्यवस्थापन बिस्तारै मिलाउदै लैैजाने गरी एकै कर्मचारीले २ वटा मन्त्रालयको काम गर्नुपर्ने जिम्मेवारी थपिएको छ । प्रदेश सरकारलाई ठूलो आर्थिक भार नपर्ने गरी मन्त्रालय सञ्चालनको तयारी भइरहेको मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत लामिछानेले बताए । उनका अनुसार नवनियुक्त मन्त्रीहरुलाई नयाँ गाडी खरिद नगरी अहिले पुरानै गाडी उपलब्ध गराइएको छ ।

तीन दिनभित्र मन्त्रीहरु आउने भएपछि क्रममा तत्कालीन जिल्ला विकास समितिले प्रयोग गरेको भवनको फुटेको र चर्केका ठाउँ टालेर रंगरोगन गर्ने काम चलिरहेको एक अधिकारीले बताए । उक्त भवन काम नलाग्ने भन्दै भत्काउने तयारी गरिएको थियो । तर अहिले भत्काउने ठेक्का रद्ध गरेर सोही भवनलाई मर्मत गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय राख्ने तयारी गरिएको छ । मुख्यमन्त्री कार्यालयका प्रवक्ता रमेशकुमार उपाध्याय लुइँटेलका अनुशार पुरानो जीर्ण भवन भएको ठाउँमा नयाँ बनाउन डिपीआर तयार गरी बजेट समेत छुट्याइसकेको थियो । अहिले पूर्वाधार अभाव भएकाले एउटा मन्त्रालय राखी खर्च कम गर्ने नीतिअनुसार त्यसैमा व्यवस्थापन गर्न लागिएको उनले बताए ।

प्रदेश सरकारले थपेका पाँच मन्त्रालयहरुमध्ये श्रम, रोजगार तथा यातायात, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय तत्कालीन श्रम कार्यालयले निर्माण गरेको भवनमा राखिएको छ । युवा तथा खेलकुद मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय भने भाडाको घरबाट सञ्चालन भैरहेको छ ।

६ पुष २०७८, मंगलवार १५:१०



तपाईको प्रतिक्रिया