‘विकास बहश’ माओवादीको नयाँ अभियान

चारघरे । नेकपा माओवादी केन्द्र विदुर नगरपालिका वडा नं. १२ कमिटिले वडास्तरका लागि विकास बहश थालेको छ । वडालाई सम्मृद्ध बनाउन र नागरिकहरू कसरी सुखी बनाउन सकिन्छ भनेर माओवादी केन्द्रले विकास बहश थालेको हो । त्यस अवसरमा शनिावर विरेन्द्र माविमा औपचारिक कार्यक्रमको समेत आयोजना भएको छ । माओवादी केन्द्र नुवाकोटका जिल्ला समन्वय समिति सदस्य एवं स्थानीय माओवादी नेता नमराज ढुङ्गाना ‘विज्ञान’ले विकासको अवधारणा प्रस्तुत गरेका छन् ।

विभिन्न १२ वटा शिर्षकमा प्रस्तुत अवधारणामा अन्य राजनीतिक दलका नेता तथा नागरिक समाजका अगुवाहरूले टिप्पणी र समीक्षा गरे । माओवादीले सुरु गरेको यो अभियान प्रभावकारी र नागरिकको पक्षमा रहेको भन्दै अन्य राजनीति दलका नेताहरूले समेत प्रशंसा गरेका छन् । स्थानीय जनप्रतिनिधि तथा निर्वाचित राजनीतिक दललको जिम्मेवारीलाई वडामा प्रतिपक्षको रुमा रहको माओवादीले अगाडी सारेकोमा कार्यक्रममा सहभागिहरूले प्रशंसा गरे । माओवादीले सञ्चालन गरेको भएपनि यस्ता बहश नुवाकोटको ८८ वटै वडामा पुग्नु आवश्यक भएको तर्क राजनीतिक दलका नेताहरूले दिएका छन् ।

नेकपा एमालेका जिल्ला कमिटि सदस्य एवं साविकको चारघरे गाविसका पुर्व अध्यक्ष पशुपती कोइराला, नेकपा एकीकृत समाजवादीका जिल्ला सचिवालय सदस्य एवं आर्थिक विभाग प्रमुख ईञ्जिनियर रामकृष्ण राजभण्डारी, जनता समाजवादी पार्टी नुवाकोटका जिल्ला सदस्य भिम तामाङ लगायतका नेताले विकास बहशले नुवाकोटमै नयाँ सुरुवातको सुत्राधार भएको बताएका छन् ।स्थानीय तह निर्वाचन नजिकिदै गर्दा सुरु भएको यस्ता बहशले नागरिकहरूलाई सक्षम उम्मेदवारलाई आफ्नो नेतृत्व सुम्पनका लागि सघाउ पुग्ने र विकासको विषयमा नागरिकको धारणा समेत प्रष्ट हुने साझा तर्क उनीहरूले राखेका छन् ।

राजेन्द्र खड्का स्थानीय समुदायबीचमा

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी राजेन्द्र खड्काले नागरिक स्तरबाट विकासका लागि सुरु भएको यस बहशले आफुलाई उत्साही पारेको सुनाए । सामाजिक अभियानमा आफ्नो व्यक्तिगत रुपमा आर्थिक लगानी गर्दै आएका राजेन्द्र खड्काले प्रस्तावित १२ वटा विकासका आधारमा सम्भव भएका केही विषयबाट आफ्नो सहयोग तत्कालै सुरु हुने त्यस अवसरमा बताएका छन् ।

‘महिलाको विकास र उनीहरूको दैनिक जीवन सहजका लागि यहाँ प्रस्ताव भएको कार्ययोजनामा रहेर तत्कालै नयाँ कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्छु’ खड्काले भने ।

विगत केही वर्षदेखि उनले चारघरेका विद्यालय, स्वास्थ्य केन्द्र लगायतका सामाजिक क्षेत्रमा व्यक्तिगत लगानीमा भौतिक विकास गर्दै आएका छन् । शनिवारको कार्यक्रममा पनि खड्काले विभिन्न विद्यालयलाई कम्प्युटर, स्वास्थ्य केन्द्रमा बिजुली बत्तिको बैकल्पिक प्रयोग हुने ब्याट्री र ‘ब्याकअप’ हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र विदुरका अध्यक्ष प्रभा बोगटी, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, माओवादी केन्द्र वडा नं. १२ का अध्यक्ष भोजराज पौडेल, जिल्ला सहकारी संघका प्रतिनिधि कृष्णप्रसाद रिमाल, तिनधारे पिपलडाँडा माविका प्रधानाध्यापक रामहरि रिमाल, माओवादी केन्द्रका नेताहरू रामचन्द्र पौडेल ‘सागर’, मधु दवाडी लगायतले प्रस्तावित विकासको मोडलको समीक्षा गरेका थिए ।

विदुर नगरपालिका वडा नंं १२ को विकास लागि कृषि, सिप बिकास तथा ब्यबस्थापन, शिक्षा, सूचना, सञ्चार, स्वास्थ्य तथा यातायात, महिला बिशेष कार्यक्रम, प्राकृतिक श्रोत तथा साधनको परिचालन तथा ब्यबस्थापन, गरिब, दलित तथा असाह्यको लागी स्वरोजगार कार्यक्रम, पर्यटन, खानेपानी, खेलकुद तथा सहभागीतामुलक लोकतन्त्र र सामाजिक न्यायको बिषय प्राथमिताका साथ उठेको छ ।

२० पुष २०७८, मंगलवार १२:०४



तपाईको प्रतिक्रिया