म्यादी प्रहरी नेताको टाउको दुखाई

विदुर । यस अघि आफ्ना कार्यकर्तालाई जागिर खुवाउन दवाद दिएर फोन गर्ने राजनीति दलका नेताहरूलाई अहिले म्यादी प्रहरी टाउको दुखाई बनेको छ । स्थानीय तह निर्वाचनमा गाउँटोलमै खटिनुपर्ने र पार्टीलाई मतदान गर्नुपर्ने युवाहरू म्यादी प्रहरी बन्नका लागि सिडिओ र एसपीलाई फोन गदिर्नु पर्यो भन्दै आउन थालेपछि नेताहरू अप्ठ्यारोमा परेका हुन् । ‘चुनावी कार्यक्रम लिएर खटिनुपर्ने युवाहरू म्यादी पुलिस बन्नुपर्यो भन्दै फोन गराउन आउछन्’, एक नेताले भने– ‘स्थानीय तहमा दुई चार भोटले हार्ने अवस्था आउछ यसरी जागिर खान जानु हुँदैन भन्ने गरेको छु, तर रिसाएर फर्कन्छन् ।’

नेताहरू विपक्षी पार्टीका युवाहरू मात्रै म्यादी प्रहरीमा गईदिए हुन्थ्यो भन्ने चाहन्छन् । आफ्ना कार्यकर्ताहरू म्यादी प्रहरीको फारम भर्न विदुर झर्न थालेको जानकारी पाएपछि काँग्रेस, माओवादी केन्द्र, एमाले लगायतका ठुला पार्टीहरूले समेत रोक्नका लागि सकुर्लर नै जारी गरेको थियो । ठुला पार्टीका जिल्ला नेताहरूले म्यादी प्रहरी बनाउन आफ्ना मान्छेका लागि फोन गर्ने काम बन्द गरेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एक अधिकृतका अनुसार म्यादी प्रहरी भर्नाका लागि नेताहरूको फोन र दवाव कम आउने गरेको छ । अघिल्लो निर्वाचनको अनुभवका आधारमा उनले भने– ‘बरु सेना, प्रहरीबाट रिटायर भएका, पूर्व वन रक्षकहरूले चाही बढी बल गर्ने गरेका छन् ।’

म्यादी प्रहरीको लागि आवेदन लिन आउनेमा दुधे बालकका आमाहरू सम्म छन् । ४० दिनको काममा राम्रो रकम हात पर्ने भएकोले आफु आकर्षित भएको बेलकोटगढी नगरपालिकाका एक महिलाले बताए । ‘अब दुध छुटाउने बेलापनि भएको छ, घरमा बच्चा हर्ने मान्छे छन्, मैले जागिर पाए भने पनि कुनै समस्या हुँदैन’ ति महिलाले भने ।

त्यसो त, म्यादी प्रहरीका लागि सामान्य लेखपढ गर्न सक्ने र नेपाली नागरिकता भएका व्यक्तिले आवेदन दिन पाउनेछन् । तर सामान्य लेखपढ गर्ने आवेदकको संख्या अत्यन्त न्यून भएको एक प्रहरीले बताएका छन् । ‘हामीकहाँ प्रहरी निरीक्षक तहमा भिड्न योग्य मान्छेको आवेदन परिरहेको छ’, उनले भने । म्यादी प्रहरीको आवेदन दिनेहरूमा स्नातक तह उत्तीर्ण गरेकाको समेत आवेदन परेको नुवाकोटका एसपी रामप्रकाश शाहले बताए । विविएस उत्र्तिण गरेका विदुर नगरपालिकाका एक युवाले आफुले पनि म्यादी प्रहरीका लागि आवेदन दिएको सुनाए । ‘विदेशमा सेक्युरिटको काम गर्थें, केही समय भयो घर आएको’, उनले भने– ‘अझ केही समय यता बस्ने भएपछि दुई÷चार पैसा किन छाड्नु भनेर म्यादी प्रहरीका लागि फारम भरेको हुँ ।’

म्यादी प्रहरीमा भर्ना हुन नुवाकोटको सबै स्थानीय तहबाट युवाहरू आएका छन् । कुन पालिकाबाट कत्तिजनाको आवेदन पर्यो भन्ने चाँही जिल्ला प्रहरी कार्यालय नुवाकोटले तथ्याङ्क तयार गरेको छैन । पछिल्लो समयको बढ्दो बेरोजगार, गाउँ–गाउँमा रहेका युवा तथा अवकाशप्राप्त सेना, प्रहरी म्यादीमा आकर्षित भएका हुन् ।

अहिले आवेदन लिने र पछि छनोटमा प्राप्त अंकका आधारमा भर्ना गरिने प्रमुख जिल्ला अधिकारी एवं म्यादी प्रहरी छनोट समितिका संयोजक नारायणप्रसाद रिसालले बताएका छन् । म्यादी प्रहरीमा भर्ना हुनेले करीब दुई महिना समय बर्दीमा बिताउनेछन् । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गएको आइतबारदेखि ११ गतेसम्म नुवाकोटमा ३ हजार ५८१ जनाले आवेदन दिए । ११ गते आवेदन दिने अन्मित मिति थियो । नुवाकोटका लागि एक हजार ३२७ जना मात्रै म्यादी प्रहरी माग छ ।

४० दिन काम गरेको तलव र भत्ता गरेर एक व्यक्तिले ४३ हजार ३४० रुपैयाँ एकुमष्ठ बुझ्छन् । दिनको ७५६ रुपैयाँका दरले तलब पाउने छन् । ४० दिनको सात हजार रुपैयाँ रासन भत्ता, पोसाक भत्ता ६ हजार र एक हजार रुपैयाँ यातायात खर्च उपलब्ध गराइनेछ । छनोट भएका म्यादी प्रहरीलाई सात दिन तालिम दिएर निर्वाचनको सुरक्षामा खटाउने छ ।

म्यादी प्रहरी भर्ना गर्न प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय समिति गठन भएको छ । चैत ११ गतेसम्म १८ वर्ष पूरा भएका र ५४ वर्ष ननाघेका नेपाली नागरिक भर्ना हुन पाउनेछन् ।

स्वास्थ्य मापदण्ड प्रहरी जवानसरह हुने छ । म्यादीका आवेदक कुनै पनि नैतिक पतन देखिने फौजदारी कसुरमा दोषी नठहरिएको, राजनीतिक दलको सदस्यता नलिएको, शारीरिक तथा मानसिक रूपमा तन्दुरुस्त, साधारण लेखपढ गर्न जान्ने, आँखाको दृष्टि माइनस वा प्लस २ भन्दा कमजोर नभएको, उचाइ पुरुषको पाँच फिट दुई इन्च र ५० केजी तौल, महिलाको हकमा पाँच फिट उचाई र तौल कम्तीमा ४२ केजी हुनुपर्ने छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपिएफ) बाट उपदान/निवृत्तिभरणमा निस्किएका पूर्वसुरक्षाकर्मी, पूर्व वन रक्षक, विदेशस्थित सुरक्षा निकायबाट अवकाश÷उपदानमा निस्किएका, यसअघि म्यादीमा काम गरेका र २०७८ साउनदेखि सुरक्षा निकायमा भर्ना आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्णलाई म्यादी छनोटमा प्राथमिकता दिइने मापदण्ड छ ।

१४ चैत्र २०७८, सोमबार १०:२६



तपाईको प्रतिक्रिया