चट्याङबाट १० वर्षमा ९५२ को मृत्यु

विदुर । पछिल्लो समय सुक्खायामसँगै हरेक दिनजसो चट्याङ खस्ने गरेको छ । नेपालमा मध्यचैतदेखि मध्यअसारसम्म साँझतिर बढी चट्याङ पर्ने गरेको छ । मान्छेमाथि सोझै चट्याङ पर्दा शरीरमा त्यसको विद्युत् प्रवाह भएर मृत्यु हुन्छ भने भौतिक संरचनामा पर्दा आगलागी हुने गरेको छ ।

‘मडारिएको कालो बादलमा तापक्रमका कण घर्षण हुँदा विद्युतीय ताप उत्पन्न हुन्छ, अत्यधिक तापपछि चट्याङ पर्छ,’ चट्याङविज्ञ श्रीराम शर्मा भन्छन्, ‘यो भनेको पानी पर्न लागेको वा पानी पर्न नसकेको अवस्थामा बादल मडारिन थालेको अवस्थामा हो ।’

मौसम पूर्वानुमान महाशाखाले हरेक दिन दुईपटक जारी गर्ने मौसमी बुलेटिनमा (फागुनयता) मेघगर्जन र चट्याङको सम्भावना उल्लेख हुन्छ । नेपालमा १० वर्षमा दुई हजार दुई सय ३९ स्थानमा चट्याङ खसेको तथ्याङ्क छ । जसबाट नौ सय ५२ जनाको मृत्यु भएको छ भने दुई हजार पाँच ७५ जना घाइते भएका छन् । ०६९/७८ सम्मको विवरणअनुसार चट्याङबाट एक सय २३ घर ध्वस्त भएका छन् भने तीन सय २९ घरमा क्षति पुगेको छ । चट्याङबाट सात करोड ८४ लाखको क्षति भएको तथ्यांक राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रको छ ।

गत वर्ष (०७८) मा दुई सय तीन ठाउँमा चट्याङ खस्दा ५६ जनाको मृत्यु भएको छ भने एक सय ७९ जना घाइते भएका छन् । १४ घरमा पूर्ण क्षति र २८ घरमा आंशिक क्षति भएको थियो । जसबाट दुई करोड १५ लाखबराबरको क्षति भएको थियो । यो बस्तीछेउछाउ वा मानवीय गतिविधि भएको क्षेत्रमा खसेको चट्याङको विवरण मात्र हो । यसबाहेक घना वनजंगल वा बस्ती नभएका स्थानमा चट्याङ खसे पनि मानवीय र भौतिक क्षति नभएको विवरण आपत्कालीन केन्द्रसँग छैन ।

चट्याङबाट वार्षिक औसतमा सयजनाको मृत्यु हुने गरे पनि सरकारसँग चट्याङबारे सामान्य प्रक्षेपण गर्ने प्रविधिसमेत छैन । विश्वका अधिकांश देशहरूले कहाँ–कहाँ र कुन समयमा चट्याङ पर्न सक्छ भन्ने जानकारी पहिल्यै दिन सक्छन् । छिमेकी देश भारतमा पनि उक्त प्रविधि छ । भारतसहित दक्षिण एसियाका कैयौँ मुलुकले ५–६ दिनअघि नै चट्याङको प्रक्षेपण गर्ने गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले वायुमण्डलमा उत्पन्न अवस्थामा वायुको प्रभाव, स्याटेलाइट तथा तथ्याङ्कको विश्लेषण गरेर ७२ घन्टाअगाडि मौसमको प्रक्षेपण गर्ने गरेको छ । तर, कहाँ–कहाँ चट्याङ पर्छ भनेर उल्लेख हुँदैन ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले राष्ट्रिय भवन संहितामा चट्याङ प्रतिरोधी घर (अर्थिङलगायतका सिस्टम)को प्रावधान समेट्न स्थानीय तहसँग समन्वय भइरहेको बताएका छन् । यसबाहेक चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि रणनीतिक योजना बनाउन अध्ययनको काम भइरहेको उनले बताए ।

पछिल्लो समय निर्माण गरिएका भवनमा विद्युतीय सामानका अर्थिङ गर्ने गरिएको छ । तर, यो प्रभावकारी ढंगले भएको पाइँदैन । घरका विद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट विद्युतीय तार र टेलिफोनका तारमार्फत आउने करेन्टबाट बचाउन सकिने शर्मा बताउँछन् । ‘घरको माथि रड राखेर त्यसलाई तामा वा ग्याल्मोनाइज आल्मोनियमको पाता अथवा रडमार्फत जमिनमुनिसम्म पु-याउन सकिन्छ,’ उनले भने ।

विज्ञहरूका अनुसार दुई किसिमका चट्याङ पर्छन्। एउटा बादलभित्रै, अर्काे जमिनमा । बादलभित्रै गर्जिने चट्याङले विद्युतीय उपकरण र सञ्चार आदानप्रदानमा अवरोध पु-याउने गर्छ । जमिनमा पर्ने चट्याङले भौतिकसँगै मानवीय क्षति गर्छ । चट्याङविज्ञ श्रीराम शर्माका अनुसार बंगालको खाडीनजिक रहेका नेपालका भूभागमा बढी चट्याङ पर्ने गर्छ । मानवीय क्षतिका हिसाबले मकवानपुर, झापा र उदयपुर अगाडि छन् ।

तराईभन्दा चुरे क्षेत्रको दूरी वायुमण्डलसँग नजिक हुने भएकाले चट्याङको फोर्स बढी हुने गरेको र यसले मानवीय क्षति पनि धेरै नै हुने गरेको बताइएको छ ।

मकवानपुरमा पछिल्लो १० वर्षमा एक सय ४९ स्थानमा चट्याङ पर्दा ६७ जनाको मृत्यु भएको छ । झापामा ७६ र उदयपुरमा ७३ ठाउँमा चट्याङ खसेको विवरण छ । तीन घटनामा झापामा २६ र उदयपुरमा ३९ जनाको मृत्यु भएको छ ।

पछिल्लो १० वर्षको विवरणअनुसार इलाम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, मोरङ, सुनसरी, सप्तरी, बारा, पर्सा, दोलखा, लमजुङ, कास्की, बाग्लुङ, गुल्मी, रोल्पा, प्युठान, दाङ, पश्चिम रुकुम, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुरमा धेरै चट्याङ खस्ने गरेको छ ।


गड्याङगुडुङ सुनेपछि के गर्ने ?


घरबाहिर हुँदा : अग्लो र एक्लो रूखमा ओत नलाग्ने, धातुको तारबार नजिक नबस्ने ।
घरभित्र हुँदा : विद्युतीय सामग्रीको प्रयोग नगर्ने, घरबाहिर ननिस्कने, झ्याल–ढोका बन्द गरेर घरको भित्तादेखि टाढा बस्ने, विद्युतीय सामग्रीका तार प्लगबाट छुटाउने ।

२३ जेष्ठ २०७९, सोमबार ०४:००



तपाईको प्रतिक्रिया