गुर्जे–छहरे सडक स्तरोन्नती धमाधम

छहरे । पछिल्ला वर्षहरूमा तीव्र गतिमा स्तरोन्नति भइरहेको नुवाकोट गुर्जेभन्ज्याङ–छहरे सडक खण्डमा थप ६ करोड रुपैयाँको ठेक्का सम्झौतापछि धमाधम काम भइरहेको छ । अर्थ र भौतिक पूर्वाधार मन्त्रालयबाट बजेट प्राप्त हुने निश्चित भएपछि शिवपुरी गाउँपालिका–८ को वडा कार्यालय आसपास, थापागाउँ क्षेत्रमा ढलान, नाली निर्माण, मर्मत, कालोपत्रका लागि बागेश्वरी वाग्मती सिम्रन जेभीसँग गत चैत १३ गते ३ किलोमिटर सडक स्तरोन्नतिको सम्झौता भएको सडक डिभिजन कार्यालय नुवाकोटका इन्जिनियर तथा सूचना अधिकारी सुमन बस्नेतले ग्लोबल मिडियालाई जानकारी दिए ।

उक्त खण्डमा ७ करोड १३ लाख स्टिमेट गरिए पनि बागेश्वरीले ६ करोड (भ्याटसहित)मा निर्माण जिम्मा लिएको छ । सूचना अधिकारी बस्नेतका अनुसार चौडा नपुगेको ठाउँमा अधिकतम ७ मिटर पु-याउने, ‘असफाल्ट’ (गुणस्तरीय) कालोपत्रलगायत काम हुनेछ ।

चैत १३ गते ३ किमि सडकको लागि ६ करोड ठेक्का सम्झौता भएको हो भने उक्त रकमको लागि सडक डिभिजन कार्यालयले संघ र प्रदेशको निर्वाचनअघि नै फाइल तयार पारी भौतिक पूर्वाधार मन्त्रालयमा पेश गरेको थियो । निर्वाचनपछि टेन्डर आह्वान गरिएको थियो । सम्झौतापछि निर्माण कम्पनीले काम थालेको करिब दुई हप्ता पुगिसकेको छ । प्राविधिक सहायक सुपरभाइजर विशाल खड्काले थापागाउँ क्षेत्रमा कटिङ र नाली बनाउने काम भइरहेको बताए । उनका अनुसार जेठभरिमा पिचको काम सकाउने लक्ष्यसहित अहिले मेसिनरी वाल लगाउने, नाली बनाउने काम भइरहेको छ । डोजर, टिपरसहित झन्डै ५० जना सडक मजदुर खटिएका छन् ।

उधारोमा खोलिएको ठेक्का नरोकियोस् भनेर बजेटका लागि बारम्बार ताकेता गरिरहेको इन्जिनियर बस्नेतले बताए । ‘उधारोमा ठेक्का खोलेका हौं । समस्या आउँला भनेर बजेटका लागि भौतिक मन्त्रालयलाई पत्र लेखेर पठाएको छौं,’ उनले भने ।

निर्माण कार्य सम्पन्न भैसक्दा पनि कयौं निर्माण व्यवसायीहरूले समयमै भुक्तानी नपाउँदा निर्माण क्षेत्रमा नकारात्मक प्रभाव बढ्दै गइरहेको छ । जसले समग्र आर्थिक क्षेत्रमै ठूलो असन्तुलन पैदा भैरहेको अर्थका जानकारहरू बताउने गर्छन् ।

चापाबोट क्षेत्रमा जी टेक सर्भिसेसले काम गरिरहेको छ । उक्त ठेक्का चालु आर्थिक वर्षमा केन्द्रीय बजेटमा छुट्याइएको ६ करोड रुपैयाँमध्येबाट ४ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी सम्झौता भएको छ । सूचना अधिकारी बस्नेतका अनुसार गत आर्थिक वर्षको दुई करोड दायित्व वहन गर्नुपर्ने भएकोले दुई किलोमिटरमा मर्मत र गुणस्तरीय पिचका लागि ४ करोडमा सम्झौता गरिएको हो ।

नुवाकोट प्रवेशको छोटो मार्ग टोखा–छहरे सडकखण्ड काठमाडौं सामाखुसीबाट नुवाकोट छहरेसम्मको दुरी २९ किलोमिटर रहेको छ । यो खण्डमध्ये काठमाडौं जिल्ला टोखा नगरपालिकाको झोरदेखि शिवपुरी राष्ट्रिय निकुञ्ज हुँदै छहरेसम्मै पाँच वर्षअघिसम्म बेहाल थियो, हिउँदमा जसोतसो गाडी चल्ने गथ्र्यो । तर बर्खायाममा नागरिकले कष्ट पाउँथे । नुवाकोट, रसुवा, धादिङका लागि काठमाडौंको नयाँ बसपार्क र सामाखुसी आपपासबाट छुटिने बस र अन्य सवारी साधन झोर क्षेत्रमै हिलोमा फसेर घान्टौं जाम पर्दा यात्रुले सास्ती बेहोनुपर्थ्यो । सामान्य यात्रुलाई सास्ती हुन्थ्यो नै बिरामी ओसारपसार गर्ने एम्बुलेन्ससमेत जाममा पर्दा बिरामीको अवस्था के हुन्थ्यो सहजै अनुमान लगाउन सकिने विषय रह्यो ।

तर, पछिल्लो करिब ४ वर्षको अवधिमा भने यो सडकले विस्तारै काँचुली फेर्दै गरेको आभाष हुन्छ । काठमाडौंतर्फ झोर र जगात क्षेत्रको कालोपत्र (पिच) तथा ढलानसहित पक्की सडक बनिसकेको छ । गुर्जेभञ्ज्याङदेखि गुरुङगाउँ, थानाभञ्ज्याङ, चाँपबोट क्षेत्रसम्मै कहींकतैबाहेक सडक बिनाअवरोध यातायात सञ्चालनको लागि बर्खायाममा पनि सहज बनेको छ । अब करिब ५ किलोमिटर जति स्तरोन्तति आफ्नो कार्यकालमा सकाउने लक्ष्य रहेको उक्त क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङको भनाई छ ।

सांसद तामाङले अघिल्लो कार्यकालमा गुर्जेको माउन्टेन भ्यू रिसोर्ट आसपासदेखि गुर्जे सार्वजनिक शौचालयसम्म निर्माणका लागि संघ र प्रदेश सरकारबाट बजेट छुट्याउन सफल भएका छन् ।

सांसद तामाङ, वाग्मती प्रदेश सांसद राधिका तामाङ लगायत जनप्रतिनिधिहरूकै पहलमा गुर्जेको सार्वजनिक शौचालयदेखि गुरुङगाउँ, थानाभन्ज्याङ, सिस्नेरी भीर कटिङ हुँदै चाँपबोटसम्म आर्थिक वर्ष ०७७/७८ मा १० करोड र सडक बोर्डबाट ५ करोड बजेट परेको थियो ।

१० करोड बजेट प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसबमोजिम योजनामा खर्च गर्न मिल्ने सरकारको नीतिअनुसार सांसद तामाङले सो सडक खण्ड निर्माणका लागि एकमुष्ठ सिफारिस गरेका थिए । अन्य निर्वाचन क्षेत्रका सांसदले भने उक्त १० करोड रकम ८/१० वटा योजनामा कनिका छरेझै गरिएको पाइएको छ ।

त्यस्तै, थप बजेट आवश्यक परेको सिस्नेरी भीर कटिङलगायतका लागि सडक बोर्डबाट सांसद तामाङलगायतको पहलमा १० करोड रुपैयाँ पारिएको थियो । जसको काम सम्पन्न भइसकेको छ ।

२०७८/७९ मा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेटमा ७ करोड रहेको बजेटलाई नयाँ अर्थमन्त्री बनेका माओवादी नेता जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत उक्त सडकखण्डलाई १० करोड बजेट पु¥याइदिएका थिए । चालु आर्थिक वर्ष २०७९/८० मा पनि ६ करोड रुपैयाँ परेको थियो । जसको ठेक्का सम्झौतापछि कार्यान्वयन जारी छ ।

१८ बैशाख २०८०, सोमबार १४:३२



तपाईको प्रतिक्रिया