साहित्यकार श्रीराम श्रेष्ठका तीन पुस्तक लोर्कापण

काठमाडौं । नुवाकोटका साहित्यकार श्रीराम श्रेष्ठद्वारा जापानी शैलीमा लेखिएका तीनवटा साहित्यिक कृतिहरु डोब, लकडाउन र नाङ्गो सपना राजधानी काठमाडौंमा लोकार्पण गरिएको छ ।

शिक्षा सचिव एवं साहित्यकार गोपिनाथ मैनाली, वरिष्ठ साहित्यकार पुष्कर लोहनी, साहित्यकार लव गाउँले र बाल्मिकी क्याम्पसका उपप्राध्यापक टेकनाथ दाहालले संयुक्त रुपमा कृतिको अनावरण गरे । जापानी साहित्यमा प्रचलित शैलीहरु डोडोइट्सु डोबमा, बुसोकुसेकिका नाङ्गो सपनामा र सेडोका लकडाउन नामक कृतिमा प्रस्तुत गरिएको छ ।

विमोचित कृतिका विषयमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोपिनाथ मैनालीले कृतिहरु नेपाली साहित्यमा जापानी शैलीको नौलो प्रस्तुती रहेको उल्लेख गरे । जापानी शैलीका कविताहरु र जापानी जीवनशैलीबारे उनले चर्चा गरे । यसैगरी समालोचक टेकनाथ दाहालले कृतिमा समसामयिक चेतना तथा लेखकीय अनुभूतिको राम्रो प्रस्तुती रहेको उल्लेख गरे ।

वरिष्ठ साहित्यकार पुष्कर लोहनीले जापानी शैलीका कविताका सैद्धान्तिक पक्षका बारेमा चर्चा गरेका थिए । यस्तै कृतिकार श्रीराम श्रेष्ठले कृतिका रचनागर्भका बारेमा आफ्ना भनाइ राखे ।

१६ आश्विन २०७७, शुक्रबार १७:२३



तपाईको प्रतिक्रिया