कविता : मेरुदण्ड नभएका मान्छे

खरानीले मस्काएर
मस्को धस्काएर
घरि साबनपानीले
घरि तातो पानीले
खुब गरे धोइपखाली उनीहरुले
चाँदीको पुरानो कोपरा
उनीहरुलाई
थालभन्दा कोपरा प्यारो भएको छ ।

बिगाहमा
निगाहमा
आनामा
मोहरमा
फिकबिर्ता लिने पनि
फिकबिर्ता नलिने पनि
उसैगरी धोइपखाली गरिरहेछन् फिकदानी
दिक्दार लाग्छ
फिकदारहरु देखेर
जो दरिद्र भावमा
गरिरहेछन् आशा
फिकदानीबाट पञ्चामृतको ।

म हेरिरहेछु
कसरी लिनेरहेछन्
मान्छेहरुले
गद्दरदानको छहारी
कसरी खानेरहेछन् कोपरामा भात
कसरी पिउने रहेछन् फिकदानीको पञ्चामृत ।

श्रीपेचहरु
स–सम्मान छन् संग्रहालयमा
चँदुवारेहरु
मान्छे होइन प्रजा बन्छु भन्छन्
मान्छे होइन रैती सही भन्छन्
मालिक होइन दासी बन्छु भन्छन् ।

म चिन्छु
यी तिनीहरु नै हुन्
जसको मेरुदण्ड छैन
जो उभिन जान्दैनन्
निहुरिन जान्छन् ।

(२९ मंसिर २०७७ सोमबार)

३० मंसिर २०७७, मंगलवार ०९:१२



तपाईको प्रतिक्रिया