कविताः देउतै मात्र नाखुस

जो टोपी सिउँछ
उसको शिरमा पनि शिव छ
जो आरन चलाउँछ
उसको मनमा पनि नारायण छ
जो कूचो लाउँछ
ऊ पनि जपिरहेछ राम
जो छाला बुन्छ
ऊ पनि भजिरहेछ कृष्ण काला
सबका तखताहरूमा
उसैगरी सजिएका छन् गणेश र दुर्गाहरू
आशाका लक्ष्मी र सरस्वतीहरू
अरु त सब खुसी छन्
देउतै मात्र बेखुसी छ
जो बाँधिएका छन् जनै र टुप्पीहरूमा ।

माली,
गोडिरहेछ देवत्वको बगैंचा
उनीरहेछ आस्थाको फूल
बुनिरहेछ विश्वासको माला
छरिरहेछ धर्मको सुवास
नाकहरू जुनै आकारको होस्
उस्तै छ सुगन्ध कर्मको
आँखाको आकारमा
विभक्त छैन ओमकारको प्रकाश
न तत्व, न पदार्थ
न आकार, न प्रकार
कसले बनायो ईश्वरको लालपूर्जा ?
कसले लगायो द्वारमा ताल्चा ??
अरु त सबै खुसी छन्
देउतै मात्र बेखुसी छ
जो थुनिएको छ
जात र गोत्रको कैदखानामा ।

पिउरी कात्छन्– चल्छ
दीप बनाउँछन्– चल्छ
दीप जलाउँछन्– बल्छ
त्यो टुँडालर त्यो तोरण र त्यो गजूर
चलेको छैन र हजूर ?
त्यो शिला/त्यो मूर्ती/त्यो थाली
जँचेको छैन र हजूर ?
फेरि कसरी भयो
यो ईश्वर तिम्रो मात्र ?
हे पूजारी !
तिमीहरू मात्र बेखुसी छौ
बाँकि देउता खुसी छन्
सुन्दासका छोरीहरूले वेद वाचन गर्दा ।

उनीहरूले सहनाई बजाए
ढोल पिटे, दमाहा बजाए
ट्याम्को ठटाए
नरसिंगा पनि फुके
देवीथानको मुनी
धुमधाम भो इष्टपूजा
भव्य भो दिवाली
जसले बाजा बजाए
तिनीहरू चाँहि परै थिए
बाँकि त खुसै थिए
देउतै मात्र नाखुस थिए ।

१ माघ २०७७, बिहीबार ०८:५७



तपाईको प्रतिक्रिया