सिङ्ग भएका गोरुहरू कहिलेकाही जुधाएर
सिङ्ग नभएका गोरुहरू बर्षैभरी जुध्ने देश हो यो ।
घाँस खाने गोरुहरू त जन्मजातका पशु नै भए ।
भात खाने गोरुहरू देख्दा पो दिक्क लाग्छ ।
अनि मनमनै सोच्छु
कहिल्यै हारजित नहुने
कुर्सीका लागि बाह्रै मास बाह्रै काल जुधी मात्रै रहने
गोरुहरूलाई बाँधेर घाँस हालुँहालुँ लाग्छ ।
कोहि अस्तित्वका लागि जुधेका छन्
कोहि सह–अस्तित्वका लागि ।
जुध्ने प्राकृतिक सिङ्ग छैनन् यिनिहरूसंग
तर पनि
कोखा भित्र उमारिएको दाह्रा
काखिका भुत्ला,
छातिका रौं
ओठ माथिको जुँगा भिडाई रहेकाछन् ।
कहिले देश बन्धक बनाएर जुध्छन्
कहिले झण्डा लिलाम गराएर जुध्छन्
कहिले राष्ट्र, राष्ट्रीयता र स्वाभिमान लुटाएर जुध्छन् ।
घाँस खाने गोरुमा बरु इमानदारिता र नैतिकता भेटिएला ।
भात खाने गोरुहरूमा फिटिक्कै भेटिएन ।
त्यसैले त कहिलेकाही
भात खानेलाई जोतेर,
घाँस खानेलाई पुँजौं पुँजौं लाग्छ ।
भात खानेलाई बाँधेर घाँस हालौंहालौं लाग्छ ।
५ माघ २०७७, सोमबार ०७:०९