भीम रावलको कविता यात्रा

आफ्नै पार्टी र पार्टी नेतृत्व सरकारको आलोचना गरेर चर्चामा आइरहने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावल कविता लेख्न पनि माहिर मानिन्छन् । रावलका कविताले पार्टीभित्र र बाहिर राम्रै प्रभाव छोड्ने गरेको छ ।

पछिल्लो पटक पृथ्वीनारायण शाहको स्मृति दिवस २७ पुसमा ‘राष्ट्रनिर्माता’ शिर्षकको कविता लेखे यता रावलको अर्काे सृजना सार्वजनिक भएको छैन। उनले २०३० सालदेखि कविता लेख्न सुरु गरेको बताए । ‘२०३० सालमा काठमाडौंको रत्नराज्य क्याम्पसमा पढ्न थालेपछि कविता लेख्न सुरु गरें ।’

रावललाई आफ्नो पहिलो कविता कुन थियो ठ्याक्कै सम्झना छैन । तर, कलेजमा साथीहरुले ‘कवि’ भन्दै जिस्काएको भने याद छ ।

कविता यात्रा

रावलको कविता लेखनको सक्रिय अभ्यास जेल जीवनमा भयो । ‘२०३२ सालको विद्यार्थी आन्दोलनको क्रममा २०३३ मा राजकाज मुद्दामा जेल परें । जेलमा मैले कविता लेख्ने र सुनाउने काम जारी राखें’ रावल सुनाउँछन्, ‘अदालतबाट धरौटीमा छुटेपछि अछाम गएर मैले त्यतिखेरका प्रगतिशिल गीत र कविता सुन्ने, सुनाउने अभियान नै चलाएँ ।’

समसामयिक घटनाक्रमले हृदय छोएपछि कविता लेख्ने गरेको सुनाउँछन् रावल । सक्रिय राजनीतिक जीवनमा कविता लेखनकै लागि भनेर समय निकाल्न भने गाह्रो हुने गरेको उनले बताए । तर, थोरै समय मिल्यो कि लेखनमा लागिहाल्छु भन्छन् रावल ।

रावलपरिस्थिति र समय हेरेर रावल तुरुन्तै कविता रचना गर्नसक्छन् । ३ पुसको स्थायी समिति बैठक चलिरहँदा रावलले ‘धुवाँले छोपिँदै दीयो’ शिर्षकको कविता लेखेपछि नेकपा वृत्तमा निकै हलचल भयो ।

१७ पुस २०७५ मा राष्ट्रिय पोसाकसम्बन्धी पर्यटन बोर्डमा आयोजित कार्यक्रममा सहभागी रावलले मञ्चमा बस्दाबस्दै पोसाकको महत्व देखाउँदै ‘स्वदेशी मन र राष्ट्रिय धुन’ शीर्षकको कविता लेखे । उनको यो कविता सामाजिक सञ्जालमा निकै चर्चित भएको थियो ।

२३औँ मदन आश्रित स्मृति दिवस, राष्ट्रिय नाचघर जमलमा पनि रावलले मञ्चमा बस्दाबस्दै कविता लेखे । मञ्चमै बसेर ‘मदनको झण्डा उठाऔँ’ शीर्षकमा कविता लेखेर रावलले कार्यक्रममा उपस्थित सबैलाई अचम्भित तुल्याए । ‘अगाडि जे दृश्य देख्छु त्यही लेख्छु’ उनले भने, ‘कुनैपनि घटना वा दृश्यले मलाई छुनेवित्तिकै मनमा आउने भावनालाई कविताको रुप दिन्छु ।’

यसरी तत्काल रचना गरिएको कविताको लामै फेहरिस्त छ । २१ फागुन २०५९ मा कैलाली लम्कीमा शहिदको सम्झनामा ‘श्रद्धा सुमन शहिदहरुमा’ लेखे । २०५९ सालतिर देशमा युद्ध चर्किरहेको समयमा मानिसहरु गाउँ छाड्दै थिए । गाउँ छाडिरहेका मानिस देखेपछि उनले  ‘विस्थापितको ताँती’ शिर्षकमा कविता लेखे ।

अधिकांश कविता मञ्चमै बसेर लेखेको दाबी गर्छन् रावल । ‘आजसम्म जति पनि मञ्चमा कविता सुनाएको छु, ती सबै म मञ्चमै बसेर लेखेको हुँ । २०४८ साल यताका चुनावमा मैले सधैँ गाउँमा ठाढीभाका (सूदूरपश्चिमा प्रचलित भाका) गाएको छु । गीतबाटै भोट मागेको छु’ रावल सुनाउँछन् ।

आफ्ना कवितालाई समाज र देशप्रतिको इमानदार भावनाको प्रमाणको रुपमा अथ्र्याउँछन् रावल । रावल भन्छन्, ‘जुन व्यक्तिमा समाज, देशप्रति गहिरो भावना हुन्छ । र, जसलाई त्यो भावनाले छुन्छ, त्यस्तो व्यक्ति देशप्रति इमानदार हुन्छ । मेरा कविताहरु त्यही इमानदारीका प्रमाण हुन् जस्तो लाग्छ मलाई ।’

४ फागुन २०५८ मा तत्कालिन माओवादीले अछाम सदरमुकाम आक्रमण गरेपछि रावलले ‘ध्वस्त मंगलसेनलाई नियाल्दा’ शिर्षकको कविता लेखे । २०५८ मा नेकपा (माले) र एमालेबीच पार्टी एकता हुँदा ‘मिलेका हातहरु’ शिर्षकमा कविता लेखे । माओवादी संघर्षका दौरान संकटकाल घोषणा गरिएपछि ‘संकटकाल’ शिर्षकको कविता लेखे रावलले ।

समाजप्रति संवेदनशील मानिसले मात्र साहित्य सिर्जना गर्ने धारणा छ रावलको । रावल भन्छन्, ‘साहित्य र सिर्जनाले समाजलाई प्रतिविम्बित गर्छ । समाजप्रति संवेदनशिल हुने मान्छेले नै साहित्य सिर्जना गर्छन् ।’

३ पुसको स्थायी समिति बैठकको कविता सम्झिदै रावल भन्छन्, ‘त्यो कवितामा मैले जति कुरा भनेका छु नि, त्यही कुरा बोलेर भन्नु परेको भए मलाई आधा घण्टा लाग्थ्यो । तर मैले ३ मिनेटभित्र भन्नुपर्ने सम्पूर्ण कुरा भनेँ ।’

त्यो बैठकमा उनले सुनाएको कविता यस्तो थियो :

अँध्यारो अन्तराल चिर्दै बल्छ कि भनी यो दियो
धुम्बाराहीमा एउटा अभ्यास गरिँदै थियो
एक्कासी धुवाँको मुस्लो बालुवाटारमा उठ्यो
आशाको धिपधिपे पट्ट पानीको फोका झैं फुट्यो

रक्तिम झण्डाको आडमा समाजवाद खोजिँदै थियो
त्यही झण्डा समात्ने हातले आफ्नै काल रोजिँदै थियो
अंकमाल नाकाबन्दीलाई, देशभक्ति कहाँ गयो ?
विधि र पद्धति भन्ने क्षणभरमा नै धूलो भयो

सत्ता–धन सबैथोक भए चाहियो साम्यवाद किन ?
शीर्ष भनी कहलिने नेता हो, इमानले भन
सिद्धान्त, वर्ग, विधिका डम्फु बजाइ राख्न सबै छोडौं
जहाँ पाइन्छ सत्ता, धन, यो जीवन त्यहीँ नै जोडौं

यही कवितापछि रावलप्रति लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र नयाँ कवि जन्मिएको भन्दै टिप्पणी समेत गरेका थिए । प्रधानमन्त्रीले समेत आफ्नो कवितामा टिप्पणी गर्नुलाई रावल कविताको शक्तिको रुपमा अथ्र्याउँछन् ।

उनी भन्छन, ‘साहित्य सशक्त माध्यम हो । साहित्य भनेको कोरा भावुकता होइन, यथार्थको जगमा उभिएर लेखिएको हो । त्यो कवितामा जसले जे टिप्पणी गरेपनि मैले विधि, प्रणाली, विषयमा लखेको हो । त्यो कविता कति शसक्त रहेछ भन्ने त उहाँ (प्रधानमन्त्री)को टिप्पणीबाट थाहा हुन्छ ।’

साहित्य सिर्जना गर्ने राजनीतिज्ञ समाज, राष्ट्र, नागरिकप्रति संवेदनशिल र जवाफदेही हुन्छन् भन्ने लाग्छ रावललाई । यही संवेदनशिलता र जवाफदेहिताको जगमा उभिएर आफूले ‘लिम्पियाधुरा’ कवितासंग्रह प्रकाशित गरेको बताउँछन् । रावलले २०५८ मा ‘लिम्पियाधुरा’ कविता संग्रह प्रकाशति गरे । आफ्नो लागि साहित्य र राजनीति एक अर्काका परिपुरक हुन् भन्छन् रावल ।

मन परेका कवि

रावललाई सबैभन्दा मन पर्ने कवि माधव घिमिरे हुन् । त्यसो त, भूपि शेरचनाका कविता पनि आफूलाई मन पर्ने बताउँछन् रावल । पार्टीभित्रका साहित्यकार मोदनाथ प्रश्रित, प्रदीप नेपालका रचना पनि आफूलाइ मन पर्ने बताउँछन् रावल ।

कविता मात्र होइन, रावल गीत सुन्न पनि माहिर छन् । ‘देशभक्तिपूर्ण गीत नेपालमा निस्केजति सबै सुनेको हुँला, यस्ता गीतहरु म गाडीमा सुन्छु’ गीत सुन्नुको कारण बताउँदै रावल भन्छन्, ‘यसले मेरो राजनीतिक यात्रामा नयाँ अनुभूति दिन्छ, जीवनप्रति विश्वस्त बनाउँछन् ।’

नेपालमा भएको द्ध्वन्द्धमाथि विद्यावारिधी गरिरहेका रावलले पछिल्लो समय साहित्यभन्दा कुटनीतिक विषय सम्बन्धी पुस्तक अध्ययन गरिरहेको बताए । ‘हालसालै मैले प्रयोगशाला, मिसन र, माओवाद र क्रिश्चियानिटी , कुटनीति र राजनीति जस्ता किताब पढेर सकें’ रावलले सुनाए ।

सक्रिय राजनीतिक व्यक्तित्वले आफ्नो कवि व्यक्तित्व ओझेलमा परेको हो कि जस्तो पनि लाग्छ रावललाई । रावल भन्छन्, ‘म भित्र रहेको सर्जक वा कवि मेरो सक्रिय राजनीतिक व्यक्तित्वको छायाँमा पर्यो कि जस्तो पनि लाग्छ ।’

छिट्टै नै नयाँ कविता संग्रह सार्वजनिक गर्ने योजना बनाएका रावल सक्रिय राजनीतिमा नलागेका भए के गर्थे ?

रावलसँग यसको सिधा जवाफ छ, ‘म सक्रिय राजनीतिक जीवनमा नभएको भए सक्रिय साहित्य साधनमा लाग्थेँ ।’

१९ असार २०७८, शनिबार ११:५५



तपाईको प्रतिक्रिया