स्वस्थानीको किताबमा के छ ?

विदुर । स्वस्थानीको मूल कथा शिव भट्ट ब्राह्मणबाट सुरु हुन्छ । गोमाको जन्म तथा अनमेल विवाह, नवराजको जन्म तथा विवाह, गोमा र चन्द्रावतीको स्वस्थानी व्रत र अन्तमा नवराजको राजामा वरणपछि गोमाले पाएको सुख तथा सन्तोष नै स्वस्थानी कथाको सार हो । लगभग तीन सय वर्षसम्म यही प्रारम्भिक कथा नै प्रचलनमा थियो । प्रचलित कथामा भएका अन्य प्रसङ्गहरू पटक–पटक गरेर पछिल्लो दुई सय वर्षमा थपिएका हुन् ।

एकतीस अध्याय र एक महिनाको व्रत पनि पछिल्लो समयको रूपान्तरण हो । यसअघि बाइस अध्याय मात्र थियो । प्रचलित स्वस्थानी कथा किताबमा उल्लेख गरिने स्वस्थानी व्रत तथा पूजा विधि नेपाली भाषामा स्वस्थानी प्रचलनमा आएपछि विकास गरिएको हो। व्रत÷उपासना पनि अड्चालिस घन्टेबाट एक महिनामा अठारौँ शताब्दीमा मात्र विस्तार गरेको प्रमाण पाइएको छ (बर्केन्होल्ज, पृ. १०९) । जेसिकाका अनुसार नेपाली भाषामा पुराणीकरण हुन थालेपछि नेपाल भाषामा पनि पुराणका अंशहरू थपिन थालेका हुन् । तर, नेपाल भाषामा थपिएका अंश नेपाली भाषाको अंशसँग ठ्याक्क मेलचाहिँ खाँदैनन् ।

प्रचलित स्वस्थानी कथाका प्रत्येक अध्यायपछि कथाको स्रोत भनेर स्कन्द पुराणलाई उल्लेख गरेको पाइन्छ । स्कन्द पुराण भनेको महादेव(पार्वती (वा गंगा) पुत्र कुमार (स्कन्द) बाट वाचन गरिएको कथा हो । स्वस्थानीमा पनि कथावाचक कुमार नै छन् । तर, स्वस्थानी स्कन्द पुराणको अंश भने होइन । स्वस्थानीको उपासना गरिएको गोमाको मूल कथा कुनै पनि पुराणको अंशको रूपमा प्रमाणित भएको छैन । स्वस्थानी स्वयंको पनि देवीका रूपमा पुराणमा उल्लेख भएको भेटिँदैन । हालका संस्करणहरूमा पद्मपुराण र स्कन्द पुराणको सन्दर्भ दिने गरिए पनि प्रारम्भकालीन स्वस्थानीलाई लिङ्ग पुराणको अंश भनेर उल्लेख गरिएको छ । जबकि प्रचलित लिङ्ग पुराणमा पनि स्वस्थानीको यो कथा भेटिँदैन । छुट्टै पुराण पनि नबनिसकेको र स्रोत भनेर उल्लेख गरिएको पुराणमा कथा नभेटिनु खोजको विषय हो ।

श्री स्वस्थानी व्रत कथा सुरु

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने श्री स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा शुक्रवार (पुस २२ गते) बाट सुरु भएको छ ।

पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ ।

बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।

माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् । स्वस्थानी व्रत हरेक वर्ष विभिन्न बहसका कारण चर्चाको विषय बन्ने गर्छ । स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा समेटिएको यो कथालाई कसैले नारी अधिकारको कुरा गरेर आलोचना गर्छन् भने कसैले तत्कालीन समयको समाजसँग चित्रित गरेर यसलाई स्वाभाविक मान्छन् ।

यत्तिका बहस चलिरहँदा पनि स्वस्थानीको कथा शुरुआती अवस्थामा नै यस्तै अवस्थामा थियो कि थिएन ? यो कतैको सत्य घटनामा आधारित कथा हो कि होइन ? भन्ने जस्ता मूलभूत विषयमा भने अझै यकिन हुन सकिरहेको छैन ।

कति पुरानो हो स्वस्थानी कथा ?

स्कन्ध पुराणको केदार खण्डमा रहेको माघ महात्म्यमा समेटिएको यो कथालाई कसैले नारी अधिकारको कुरा गरेर आलोचना गर्छन् भने कसैले तत्कालीन समयको समाजसँग चित्रित गरेर यसलाई स्वाभाविक मान्छन् । यत्तिका बहस चलिरहँदा पनि स्वस्थानीको कथा शुरुआती अवस्थामा नै यस्तै अवस्थामा थियो कि थिएन ? यो कतैको सत्य घटनामा आधारित कथा हो कि होइन ? भन्ने जस्ता मूलभूत विषयमा भने अझै यकिन हुन सकिरहेको छैन ।

२०७६ माघ २८ गते प्रतिनिधिसभामा बोल्दै सत्तारुढ तत्कालीन नेपाल कम्युनिस्ट पार्टीकी सांसद यशोदा सुवेदी गुरुङले महिनावारी हुँदा छोइछिटो गर्ने परम्परालाई मजबुत पार्ने स्वस्थानी व्रतकथा र ऋषिपञ्चमीका कथाहरू च्यात्नुपर्ने बताएकी थिइन् ।

धार्मिक अन्धविश्वास र परम्परालाई भत्काउने मजबुत खालको अभियानको खाँचो परेको उनको अभिव्यक्तिले उनलाई विवादमा तान्यो । त्यसो त जब माघ महिना शुरु हुन्छ, स्वस्थानी व्रत कथामाथि यावत टीकाटिप्पणी आउने गर्छन् । व्रतमाथि अनेक बहस पनि हुने गर्छन् । तर यसको कथाको प्रसंग र कुन अवस्थामा यसको शुरुआत भएको थियो त ?

अमेरिकाको पेनस्टेट विश्वविद्यालयमा एसियाली अध्यययन, महिला अध्ययन, लैंगिकता तथा यौनिकता पढाउने जेसिका भेन्टिन बिर्कन्होल्जले चार वर्षअघि नेपालमा स्वस्थानी व्रतसँग सम्बन्धित एउटा पुस्तक तयार पारिन् । दुई दशकको अध्ययनपछि उनले प्रकाशित गरेको पुस्तकमा स्वस्थानीको बारेमा हुने दुईवटा मिथकलाई विश्लेषण गरिएको छ । मिथकहरूमा महिलालाई प्रायः दुई स्वरूपमा देखाइएको हुन्छ । पहिलो : शान्त, भद्र र नरम, अनि सधैं उनीहरूका पतिका साथमा रहने, जस्तो, पार्वती । अनि दोस्रो : अविवाहित तथा पुरुष साथीबिना एक्लै रहेकी, अनि आक्रामक र लडाकु स्वभावकी, जस्तो, दुर्गा वा काली । तर, स्वस्थानी देवी एक जटिल चरित्र हुन् र अन्य सबैभन्दा फरक छिन् । शान्त र भद्र भइकन पनि उनलाई चन्द्रावतीको कथामा उग्र र माफी दिन नसक्ने जसरी देखाइएको छ ।

स्वस्थानी व्रत कथा कति पुरानो हो भन्नेमा विद्वानहरूबीच एक मत छैन । तर यो एउटा सत्य कथामा आधारित पुस्तक हो भन्नेमा भने धेरै सहमत छन् । शुरुमा नेवारी भाषामा लेखिएकोमा नेपालीकरण गर्ने बेलामा यसलाई केही अतिरञ्जित पनि गरिएको पाइन्छ । तर यसमा समेटिएका अधिकांश कथा काठमाडौं उपत्यका र त्यसमा पनि साँखु क्षेत्रको कथासँग सम्बन्धित रहेको कुरामा धेरै सहमत देखिन्छन् ।

नेवारी समाजमा र यसबाहिर छुट्टाछुट्टै पाण्डुलिपिहरू भेटिएका छन् । यसमा गोमा, नवराजको मुख्य कथा छन् । यद्यपि अठारौं शताब्दीमा गोरखाबाट पाइएको अर्काे पाण्डुलिपिमा भने नवराजसँगै महादेव र पार्वतीको कथा पनि जोडिएको कुरा प्राचीन नेपालमा प्रमोद बस्नेतले लेखेको ‘कसरी शुरु भयो स्वस्थानीको कथा’ नामक अनुसन्धानमूलक आलेखमा उल्लेख छ । पछि तयार पारिएका पाण्डुलिपिमा मात्रै शिव पार्वतीको चर्चा थपिएको कुरामा दुई दशकसम्म स्वस्थानीको अध्ययन गरेकी जेसिका भेन्टिन पनि सहमत छिन् ।

दुई वर्षअघि भेन्टिनले भनेकी थिइन्, ‘मैले करिब ८०० प्रकारका स्वस्थानीका किताब फेला पारें र तीमध्ये १२५ को जाँच गरें । त्यसमध्ये पनि प्रकाशन मिति उल्लेख गरिएका, आकारप्रकार नबिग्रिएका र पूरा कथा भएका करिब दुई दर्जन छानेर पढें ।’ १७ औं शताब्दीदेखि २१ औं शताब्दीसम्म आइपुग्दा स्रोत पुस्तक र अहिलेको पुस्तकमा धेरै भिन्नता आएको उनी बताउँछिन् ।

बस्नेतको अनुसन्धानमूलक आलेख अनुसार हालसम्म पाइएको सबैभन्दा पुरानो स्वस्थानी भनेको नेपाल संवत् ६९३ (वि.सं. १६२९) को स्वस्थानपरमेश्वर्या व्रतकथा हो । जुन हस्तलिखित पुस्तक हो । यो संस्कृत भाषामा लेखिएको छ । त्यसको ३० वर्षपछि नेवारी भाषामा लेखिएको स्वस्थानी भेटियो । यो अहिले राष्ट्रिय अभिलेखालयमा संग्रहित छ । त्यसको झण्डै ११८ वर्षपछि मैथिली भाषामा लेखिएको स्वस्थानी भेटिएको छ ।

नेपाली भाषामा भने पहिलो पटक वि.सं. १८६७ मा लेखिएको हस्तलिखित स्वस्थानी भेटिएको छ । यिनै प्रमाणको आधारमा स्वस्थानी कथा १७ औं शताब्दीभन्दा पुरानो मान्न सकिन्छ । तर यही नै समयमा शुरु भयो भन्ने तथ्य भने भेट्न सकिएको छैन ।

२५ पुष २०७९, सोमबार ०५:३०



तपाईको प्रतिक्रिया