कोरोनाले देखाएको आश

विदुर\कोरोना भाइरसको संक्रमण फैलन नदिन विश्वव्यापी रुपमा भइरहेको लकडाउनले केही परिवर्तनको संकेत समेत गरेको छ ।

कोरोना भाइरसका कारण विश्वभरीमा १ लाख ६५ हजार भन्दा बढिले ज्यान गुमाएका छन् । झण्डै २४ लाख जना संक्रमित भएका छन् साढे छ लाख जना त यो रोग लागेर निको पनि भएका छन् । नेपालकै कुरा गर्ने हो भने पनि कोरोना भाइरसबाट ३१ जना संक्रमित भएकोमा चार जना निको भएका छन् भने बाँकीको उपचार भइरहेको छ । 

यो विश्व माहामारीबाट प्रभावित हुन बाँकी मानिसहरू सायदै छन् । तर यो कोरोना भाइरसले विश्वस्तरमा निम्त्याएको संकटले सम्भावना ल्याएको देख्नेहरू पनि छन् । विशेष गरी बैदेशीक रोजगारी, अध्यायनका लागि विदेशमा रहेकाहरू अहिले गाउँ फर्किएका छन् । नुवाकोटमा चैत ४ गतेदखि चैत ११ गतेको बीचमा साढे चार सय जना गाउँ आएका छन् । त्यस्तै अन्य विभिन्न जिल्ला र सहरमा नोकरी तथा अन्य सिलसिलमा बस्दै आएकाहरू आफ्नो सपरिवारनै दिएर आफ्नो पुर्खौली वा जन्मथलो फिरेका छन् । 

नेपालमा कोरोना भाइरसको संकट अहिलेकै अवस्थामा टरेमा यसले हामीलाई सम्भावना दिएको तर्क गर्छन् नुवाकोटका उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष शरण उत्सुक सापकोटा । उनका अनुसार कोरोना भाइरस नियन्त्रणमा आएपछि पनि निक्कै लामो समय बैदेशीक रोजगारी र अन्य काम गर्नका लागि नेपालीहरू जाने वातावतरण नबन्न सक्छ । जसले गर्दा गाउँघरले पुरानो शैली र नागरिकहरूको चहलपहल पाउने छ ।

अहिले शहरी क्षेत्र भन्दा ग्रामिण क्षेत्रमा नागरिकहरूको घनत्व बढि देखिएको छ । लक डाउन लम्बिदै गर्दा भने नागरिकहरूलाई अहिले घरघरमा बस्ने बानी परेको छ । स्वास्थ्य परीक्षणका लागि र स्थानीय सरकारहरू बीचको समन्वयका लागि गाउँ गाउँ डुलिरहेका जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ अहिले नागरिकहरू अनुसाशित रुपमा घरमा बसिरहेको सुनाउछन् ।

नुवाकोटमा लडक डाउन अघि र लक डाउनको बीचमा गरेर २० हजार भन्दा बढि मानिसहरू काठमाडौं वा अन्य स्थानबाट फर्किआएको अनुमान छ । यसमा आधिकारीक तथ्याङ्क चाँही संकलन भएको छैन । काठमाडौं लगायतका ठूला शहरहरूमा दैनिक ज्याला मजदुरी गर्नेहरू त हिजोआज पनि हिडैरै जिल्ला भित्रिरहेका छन् । यस्तै, जिल्ला भित्रै पनि दैनिक मजदुरी गरेर आफ्नो दैनिकी टार्दै आएकाहरू थुप्रै छन् । अहिले उनीहरू चाँही लकडाउनले बढि मर्कामा परेको बुझाई जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङको छ ।

यसरी दैनिक ज्याला मजदुरी गर्ने र वैदेशी रोजगारीमा जानेहरूले अहिले खेप्नु परेको समस्याका कारण अब आफ्नो जन्मभूमीमा आधुनिक कृषि वा घरेलु उद्योग गरेर गुजारा गर्ने मनस्थिति बनाउनेहरू यो लकडाउनले जन्माउने अपेक्षा गर्न सकिन्छ । जसले गर्दा रित्तिदै गएको ग्रामिण क्षेत्रहरूले कोरोनाको अन्त्यपछि अर्को स्वरुप प्राप्त गर्न सक्नेछ । 

१९ बैशाख २०७७, शुक्रबार १७:०४



तपाईको प्रतिक्रिया