विकासमा खर्च नभएको रकमले पिसिआर मेसिन किन्ने

रसुवा । रसुवामा बजेटबाट खर्च नभएको रकम उपयोग गरि पिसिआर परीक्षण गर्ने मेसिन खरिद गरिने भएको छ ।

चालु आर्थिक वर्षका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विनियोजित रकम मध्ये खर्च नभएको बजेट कोरोना रोकथाम तथा नियन्त्रणमा खर्च गर्ने सरकारको निर्णय अनुसार रसुवाले सो नीति अवलम्वन गरेको हो ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत रसुवाको ५ वटा गाउँपालिकामा बिनियोजित रकम मध्ये कालिका गाउँपालिकामा ४० लाख र गोसाइँकुण्ड गाउँपालिकामा ६ लाख गरि ४६ लाख खर्च नभई बचत भएको छ ।

उक्त रकम स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत कोभिड १९ रोकथाम, नियन्त्रण, निदान र उपचारमा खर्च गर्ने व्यवस्था भए बमोजिम गाउँपालिकाबाटै बचत रकमको लेखा व्यवस्थापन गर्ने गरि ४६ लाखको पिसिआर मेसिन लगायत स्वास्थ्य सामाग्री खरिद गरिने भएको हो ।

रसुवाको ५ वटै गाउँपालिकामा स्वाब संकलन गर्ने व्यवस्था गरी खरिद गरिएको पिसिआर मेसिन सदरमुकाम धुन्चेमा राखिने जनाइएको छ । मेसिन संचालन तथा व्यवस्थापनका लागि जिल्ला विपद व्यवस्थापन समिति, जिल्ला संकट व्यवस्थापन केन्द्र र गाउँपालिकाहरुले समन्वयात्मक रुपमा गर्ने जनाइएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ६ करोड बजेट आएको थियो ।

नेपालका ७७ जिल्ला मध्ये ७६ वटा जिल्लामा कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण फैलिएको छ । तर, रसुवामा भने संक्रमण देखिएको छैन । पूर्वसावधानी अपनाएका कारण हालसम्म रसुवा जिल्ला देशकै एक मात्र कोरोना संक्रमित नभएको जिल्ला भएको छ । हालसम्म रसुवा कोरोना भाइरसको संक्रमित नभएको र स्वास्थ्य सम्बन्धि समस्या नरहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए ।

रसुवामा जिल्लामा हालसम्म ५ सय ३७ जनाको आरडिटी परीक्षण गरिएको छ भने ३२ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । पिसिआर गरिएकाहरुको नेगेटिभ तथा कोरोना नभएको पाइएको श्रेष्ठले बताए । त्यस्तै सोमबार भारतबाट आएका १७ जनाको पिसिआर परीक्षणका लागि प्रयोगशालामा पठाइएको समेत उनले बताए ।

१९ असार २०७७, शुक्रबार ११:०७



तपाईको प्रतिक्रिया