विदुर । मनसुनजन्य विपदको अवस्थामा तत्काल खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन जिल्ला बिपद् ब्यबस्थापन समिति नुवाकोटले आबाश्यक कार्य थालेको छ ।
वागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयसंगको समन्वयमा प्रदेश आपतकालिन केन्द्रमा रहेको गोदाम घरबाट ५०० थान त्रिपाल र ४० थान टेण्ट जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रमा ल्याइएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।
नुवाकोट, धादिङ र रसुवा जिल्लाका लागि नुवाकोटमा आपतकालिन गोदामघर समेत निर्माण हुदैछ । वागमती प्रदेश अन्तर्गत पर्ने धादिङ, नुवाकोट र रसुवा जिल्लाको विपद जोखिमको अवस्थालाई मध्यनजर गर्दै वागमती प्रदेश सरकारल चालू आर्थिक वर्षमा नुवाकोट आपतकालिन गोदामघर निर्माण र स्थापना हुने छ ।
गोदामघर निर्माणले सम्भावित विपदको अवस्थामा तत्काल खोज, उद्धार र राहत वितरणको कार्य प्रभावकारी बनाई जनधनको क्षति न्यूनिकरणमा मद्दत पुग्ने छ । मनसुनका कारण र २०७२ सालको भूकम्पका कारण प्रभावित क्षेत्र नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक लगायत जिल्लाका बासिन्दाहरु पहिरोसँग सतर्क रहनुपर्ने विज्ञहरुको सुझाव छ ।
३ श्रावण २०७७, शनिबार १९:२६