गोसाइँकुण्ड रुटका होटलहरु खुले

नुवाकोट । जनैपूर्णिका लागि लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रका होटल तथा रेष्टुरेन्ट सञ्चालनमा आएको छ । सरकारले कोभिड–१९ रोगको सङ्क्रमण फैलनबाट रोक्न लगाएको बन्दाबन्दी खुला भएसगैँ गोसाइँकुण्ड पदमार्गको नुवाकोट तर्फका होटल सञ्चालन गरिएको लाङटाङ–गोसाइँकुण्ड–हेलम्बु–होटल व्यवसायी सरोकार समितिका उपाध्यक्ष पेम्बा लामाले जानकारी दिए ।

सरकारले साउन १५ देखि होटल व्यवसाय सुचारु गर्ने भनेपनि गोसाइँकुण्ड जानेहरु साउन १० गते नागपञ्चमीदेखि नुवाकोटबाट उकालो लाग्न थाल्ने भएकोले होटल सञ्चालनमा ल्याइएको हो । पैदलमार्फत सुन्दरीजलबाट नुवाकोटकोे घ्याङफेदी हुदैँ गोसाइँकुण्ड जाने तीर्थयात्री सुरक्षा, खाद्यान्न, पथप्रदर्शक, भरिया, प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था समेत होटल व्यावसायीले मिलाएका छन् ।

निकुञ्ज क्षेत्रमा नुवाकोटतर्फ सुविधा सम्पन्न सातवटा होटल सञ्चालनमा छन् भने पदमार्गमा साना–ठूला दुई दर्जन भन्दा बढी होटल तथा रेष्टुरेन्ट छन् । ती अधिकांश सञ्चालनमा आउन थालेको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए ।

तामाङका अनुसार काठमाडौँको सुन्दरीजलबाट पैदलयात्रा सुरु गरेर चिसापानी, कुटुङसाङ, मङ्गनीगोठ हुँदै छहरेपाटी, घोप्टेभीरबाट सिधैं सूर्यकुण्ड-गोसाइँकुण्ड पुग्न सकिने छ । उक्त पदमार्ग हुँदै सुन्दरीजलबाट गोसाइँकुण्ड दुई दिनमा पुगिन्छ । जेठ महिनामा परेको दशहरा पर्व कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भए पनि जनैपूर्णिमामा आंशिक रुपमा तीर्थयात्री सहभागी हुने अपेक्षाको छ ।

८ श्रावण २०७७, बिहीबार २०:३८



तपाईको प्रतिक्रिया