रामती । नुवाकोटको प्रशिद्ध धार्मिक स्थल दुप्चेश्वर मन्दिरको बिकास निर्माणले तिब्रचा पाएको छ । दुप्चेश्वर मन्दिरको बिकासको लागी क्षेत्र बिकास कोषको गठन गरि बिकास योजनालाई अगाडी बढाएको थियो । दुप्चेश्वर क्षेत्र बिकास कोषले मन्दिरको निर्माणको लागी बृहत्तर गुरु योजना निर्माण गरि संरचना निर्माण कार्यलाई अगाडी बढाएको छ ।
गुरु योजना अनुसार ५० प्रतिशत काम सम्पन्न भैसकेको कोषले जनाएको छ ।करिब पाँच दशक अघिसम्म लहरा र पहरामा झुण्डिएर गर्नु पर्ने दुप्चेश्वर महादेवको दर्शन पछिल्लो समय निकै सहज र सरल बन्दै गएको छ । २०२८ सालमा पहिलो पटक सिमेण्ट र छडको प्रयोग गरी बाटो बनाएपछि भक्तजनका लागी दुप्चेश्वर दर्शन सहज भएको हो । साथै, मन्दिर नजिकैसम्म पुगेको मोटरबाटोका कारण पनि विभिन्न स्थानबाट आउने भक्तजनलाई निकै सहज भएको छ ।
पछिल्लो समय दुप्चेश्वर दर्शन सहज मात्र भएको छैन, मन्दिर परिसरमा अन्य सुविधाहरु पनि थपिँदै गएका छन् । दुप्चेश्वर क्षेत्र विकास कोषको पहल र दुप्चेश्वर गाउँपालिकाको अग्रसरतामा आर्थिक बर्ष २०७६-०७७ देखि गुरु योजना मार्फत बृहत निर्माण कार्यको थालनी समेत भएको छ । हालसम्ममा गुरु योजनाको पहिलो चरण अन्तरगतको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको दुप्चेश्वर क्षेत्र विकास कोषका अध्यक्ष एवं दुप्चेश्वर गाँउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष किशोर आचार्यले जानकारी दिए ।
गुरु योजना अन्तर्गत मन्दिर परिसर कम्पाउण्ड वाल, दुप्चेश्वर र गणेश मन्दिर जाने बाटोमा (फाइबर सिटको छाना समेतको), यज्ञ कुण्ड आदीको निर्माण गरिने छ । यसमध्ये कम्पाउण्ड वाल र बाटो निर्माण सम्पन्न भइसकेको छ भने सिँढीमा ढुंगाको स्लेट र फाइबर सिटको छाना राख्ने काम बाँकी छ । त्यसैगरी यज्ञ कुण्ड निर्माणको तयारी भइरको उनले बताए ।
दुप्चेश्वर गुरु योजनाको पहिलो चरणमा स्थानीय सरकार दुप्चेश्वर गाउँपालिका, राष्ट्रिय योजना आयोग, बागमती प्रदेश सरकारको सार्वजनिक निर्माण कार्यान्वयन इकाईले आर्थिक सहयोग रहेको छ । पहिलो चरण अन्तरगत कूल ८५ लाख रुपैँयाको निर्माण कार्यमा दुप्चेश्वर गाउँपालिको ३० लाख, बागमती प्रदेश सरकारको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङको ३५ लाख र राष्ट्रिय योजना आयोगको २० लाख रुपैयाँको आर्थिक सहयोग रहेको छ ।
२०२० को दशकसम्म नुवाकोट, रसुवा, धादिङ, काभ्रे, सिन्धुपाल्चोर र काठमाडौंसम्म मात्र सिमित दुप्चेश्वर महादेवको चर्चा २०३२ मा बाटो निर्माणगरी विधिवत रुपमा उद्घाटन भएपछि निकै बढेको हो । त्यसबेला मन्दिरसम्म पुग्नका लागि एउटा मात्र बाटो निर्माण गरिएको थियो ।
मन्दिरभन्दा दक्षिणतर्फको अर्को बाटोको निर्माण भने विस २०३५-३६ तिर मात्र भएको तात्कालिन रामावती गाउँपञ्चायत अन्तर्गत रहेको थियो । भौगोलिक विभाजनमा हाल दुप्चेश्र मन्दिर दुप्चेश्वर गाउँपालिका वडा नंं. ६ मा रहेको छ ।
मुख्य मेला लाग्ने मंसिको धान्यपूर्णिमाको दिन हज्जारौं दर्शनार्थीको भिड व्यवस्थापन गर्न कठिन हुँदैगएपछि स्थानीय समाजसेवी र श्रद्धालु भक्तजनहरुको सहयोगमा मन्दिरभन्दा दक्षिणबाट अर्कोबाटो निर्माण सम्पन्न भएको थियो । नयाँ बाटो निर्माण भएपछि मुख्य मन्दिरसम्म जान र फर्कन फरक फरक बाटोको प्रयोग हुन थालको हो । त्यस यता दाताहरुको सहयोगमा मन्दिरको मर्मत लगायत अन्य थुप्रै निर्माणकार्य भइरहेको दुप्चेश्वर गाँउपालिकाका अध्यक्ष योबिन्द्रसिङ तामाङले बताए ।
दुप्चेश्वरको धार्मिक सामाजिक महत्वका साथै पर्यटकिय र आर्थिक महत्व पनि उत्तिकै रहेको छ । दुप्चेश्वर मन्दिर छेउबाटै प्रस्तावित दुप्चेश्वर–गोसाइँकुण्ड केबलकार निर्माण पछि धार्मिक पर्यटनको एउटा गन्तब्य तयार हुनेमा गाँउपालिका अध्यक्ष तामाङ बिश्वस्त छन् । दुप्चेश्वर नुवाकोट क्षेत्र नं. १ को आर्थिक समुन्नतीको खम्बा नै सावित हुने उनको भनाई छ । दुप्चेश्वर–गोसाइँकुण्ड केवलकारको सर्भे भइसकेको छ । तर, उक्त क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्ज पर्ने भएका कारण निकुञ्जको अनुमति आउन बाँकी रहेको गाँउपालिका अध्यक्ष तामाङले बताए ।
१४ श्रावण २०७७, बुधबार ०८:४२