स्काभेटर जलाउने विप्लवका कार्यकर्ता पक्राउ

विदुर । स्काभेटरमा आगजनी गरेको अभियोगमा नुवाकोट प्हरीले एक जनालई पक्राउ गरेको छ । भदौ ७ गते साँझ पासाङ्ल्हामु राजमार्गको बाराही बजार नजिकै अज्ञात समुहले स्काभेटरमा आगो लगाएका थिए । उक्त घटनास्थलमा प्रहरीले विप्लव माओवादीको पर्चा फेला परेको थियो । सो घटनाको जिम्मेवारी लिँदै विप्लवले पर्चा राखेको भेटिए लगत्तै प्रहरीले घटनामा सम्लग्नको खोजी थालेको थियो ।

त्यस क्रममा विप्लव माओवादीका कार्यकर्ता सोही गाउँका ४८ वर्षिया राजाराम पाण्डेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनलाई जिल्ला अदालत पेश गरिएकोमा चार दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

स्काभेटर आंशिक रुपमा जलेको छ । बेलकोटगढी नगरपालिका–१३ का राजेन्द्र तामाङले सञ्चालन गर्दै आएको उक्त स्काभेटरमा २० लाख रुपैयाँ बराबरको क्षती भएको अनुमान छ । आगजनी स्थलमा फेला परेको पत्रमा दुई वर्षअघि विप्लव समूहले कब्जा गरेको जग्गाबाट राजेन्द्र तामाङले अवैध रुपमा बालुवा उत्खनन गरेको, समाजमा चरित्रहीन कार्य गरेको, पार्टीविरुद्ध सुराकी गरेको तथा सोझासीधा जनतालाई अनावश्यक दुःख दिएको आरोप छ ।

९ भाद्र २०७७, मंगलवार १३:४२



तपाईको प्रतिक्रिया