विदुर । नुवाकोटमा पहिलो पटक गुठी अन्र्तगत रहेको र निजी रुपमा सञ्चालन भएको तीन वटा बोडिङ्ग स्कुलहरू एकआपसमा मिसिएका छन् । बट्टारमा रहेको भैरबी एकेडेमी, देविघाट कोलोनीमा रहेको जेडी बोडिङ्ग सेकेण्डरी स्कुल र इनारपाटीको अपिकल स्कुल एकआपसमा मिसिएका हुन् । यसरी तीन वटै स्कुल एक आपसमा मिलेर पठनपाठन पनि सुरु भइसकेको छ ।
देविघाट जलविद्युत प्राधिकरणको स्वामित्वमा रहेको जेडी सेकेन्डरी बोडिङ्ग स्कुलको नयाँ भवनबाट तीनै विद्यालयको सहमती अनुसार गएको सोमबारदेखि एकीकृत अध्यापन सुरु गरिएको विद्यालय सञ्चालक समितिका अध्यक्ष पवन नेपालले जानकारी दिए । विद्यालयको नाम जेडी सेकेन्डरी बोडिङ्ग स्कुल राखिएको छ । भैरबी एकेडेमीका अध्यक्ष नेपाललाई नै जेडी सेकेण्डरी बोडिङ्ग स्कुलको सञ्चालक समिति अध्यक्ष बनाइएको छ । स्कुलको प्रिन्सिपल भैरबी एकेडेमीबाटै प्रतिनिधित्व गरेर ठाकुर पुडासैनी बनेका छन् ।
आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को अध्यापन अंग्रेजी माध्यमबाट गराईने योजना रहेको अध्यक्ष नेपालले बताएका छन् । बिद्यालयले उच्च माध्यमिक तहका व्यवस्थापन, बिज्ञान संकायको साथै भेटेनरी र कृषि विषयका अध्यापन गराउने योजना रहेको बताइएको छ । महाभूकम्पले क्षति पु-याएको विद्यालय भबनको पुनःर्निर्माणपछि अहिले सञ्चालनमा आएको नयाँ भवनले विद्यालयको भौतिक संरचना नै फेरिदिएको छ ।
नेपाल विद्युत् प्राधिकरणमा कार्यरत रहने कर्मचारीका सन्तानलाई पढाउन २०४३ सालमा जेडी बोडिङ्ग स्थापना भएको थियो । केही बर्ष अघिसम्म उक्त बोडिङ्ग नुवाकोटका अब्बल माविको रुपमा रहेको थियो । पछिल्लो समय शैक्षिक अवस्था खस्केको कारण विद्यार्थी संख्या जेडी बोडिङ्ग स्कुलमा कम थियो । बट्टारमा सञ्चालनमा रहेको प्रतिष्ठित भैरबी एकेडेमी मिसिएपछि स्कुलको गती परिर्वतन हुने अपेक्षा अभिभावकहरूले राखेका छन् । तीन वटै स्कुल गाभिएर संयुक्त रुपमा पठनपाठन सुरुभएपछि पाँच सय भन्दा बढी विद्यार्थी जेडी बोडिङ्ग सेकेण्डरी स्कुल छन् ।
१ माघ २०७७, बिहीबार १३:२७