अध्यक्ष कार्यान्वयन नगराउन सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश

विदुर । सर्वोच्च अदालतले नुवाकोटको आदर्श बहुमुखी क्याम्पसमा अध्यक्षको जिम्मेवारी तोकेको सम्बन्धी पत्र कार्यान्वयन नगराउन त्रिभूवन विश्वविद्यालयलका नाममा अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सहकुल सुवेदीको एकल इजलाशले त्रिभूवन विश्वविद्यालयले नियुक्ति गरेको रामशरण प्याकुरेलको योग्यता नपुगेको भन्दै क्याम्पस सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी तोकेको सम्बन्धी पत्र कार्यान्वयन नगराउन अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्च अदलतद्वारा आदेशमा भनिएको छ : ‘निवेदक श्रीराम श्रेष्ठ त्रिभुवन विश्वविद्यालयको मिति २०७४।१।५ को निर्णयानुसार विपक्षी मध्येका नुवाकोट आदर्श बहमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदमा ३ वर्षको लागि मनोनयन भएको र उक्त पदाविधि सम्पन्न हुनु अगावै सो क्याम्पसको सञ्चालक समितिले मिति २०७६।१२।१८ मा त्रिभुवन विश्वविद्यालय,सम्बन्धन सम्बन्धी विनियम, २०७३ को नियम ३६(२) अनुसार त्रिभुवन विश्वविद्यालयका उपकुलपति समक्ष सञ्चालक समितिको अध्यक्षका पदमा मनोनयनका लागि तीन जना व्यक्तिको नाम सिफारिश गरी पठाएको देखिन आउछ । तर विपक्षी मध्येका त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयबाट मिति २०७७।१२।२७ मा सो क्याम्पसको अध्यक्षको जिम्मेवारी तोक्दा उक्त सिफारिशमा नपरेको र क्याम्पसको विधानको धारा ६(१) (क) मा सञ्चालक समितिको अध्यक्ष हुनका लागि कम्तिमा एक कार्यकाल सञ्चालक समितिको सदस्य भैसकेको हुनुपर्ने भन्ने देखिएकोमा सो बमोजिमको योग्यतासमेत नपुगेका विपक्षी मध्येका रामशरण प्याकुरेललाई तोकेको देखिँदा अन्तरिम आदेशको छलफल भै टुंगो नलागेसम्मको अवधिको लागि त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालयको मिति २०७७।१२।२७ च.नं. ३१४ ०७७।०७८ को विपक्षी मध्येका रामशरण प्याकुरेललाई क्याम्पस सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी तोकेको सम्बन्धी पत्र कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ (२) (ख) बमोजिम विपक्षीहरुका नाउँमा अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ ।

रिट निवेदक श्रीराम श्रेष्ठका वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, अधिवक्ताहरु विकाश भट्टराई, कीर्तिनाथ शर्मा पौडेल, गणेशमान प्रधान र भीमबहादुर गुरुङ्गले श्रव्यदृश्य विधिबाट बहस गरेका थिए ।

१८ असार २०७८, शुक्रबार १३:३६



तपाईको प्रतिक्रिया