पठनपाठनमा बैकल्पिक विधि

सहरी क्षेत्रका बालबालिकालाई मात्रै अवसर

विदुरका अनिज खनाल अनलाईन माध्यमबाट कक्षामा सहभागि हुँदै

विदुर । विश्व महामारी नोबेल कोरोना भाइरस (कोभिड–१९) को दोश्रो ‘भरियन्ट’ उत्कर्षमा छ । तेश्रो ‘वेभ’ नेपालमा आइसकेको खतराको घण्टी बजिसकेको छ । ११ चैत २०७६ बाट सुरु भएको लकडाउनको स्वरुप मात्रै फेरिएको छ । निषेधाज्ञाको चरणमा रहिरहका हामीले २१ बैशाख, २०७८ भन्दा अघि केही सहज जीवन र दैनिकी गुजार्न पाएपनि पछिल्लो १५ महिनामा विद्यालय जाने बालबालिकाहरु चाँही प्रत्यक्ष प्रभावित बनेका छन् ।

अहिले पनि निषेधाज्ञाका कारण मुलुकभरका करिब ७७ लाख बढी बालबच्चा घरभित्रै थुनिएका छन्, । नुवाकोटमै पनि निषेधाज्ञाका कारण झण्डै १५ हजार बालबालिका प्रत्यक्ष मारमा छन् । आधिकारिक तथ्याङ्क सार्वजनिक नभए पनि त्यो संख्या अझ बढी रहेको अनुमान गर्न गाह्रो छैन । त्यसमध्ये धेरैजसो बालबच्चा विदुर, बट्टार, त्रिशुली जस्ता सहरी क्षेत्रमा छन्, जो आमाबुवासँग सानो परिवारमा बस्दै आएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण विद्यार्थीहरूलाई परेको प्रभाव र असर बेग्लै छ । १५ महिनाको बीचमा भएको दुई चरणको बन्दाबन्दीको स्वरुप र शैली फरक देखिएपनि त्यसले विद्यालयमा हुने नियमित पठनपाठनलाई भने पूर्ण रुपमै रोक लगाएको छ ।

११ चैत, २०७६ मा भएको पहिलो लकडाउन पुर्वनै एसईई परीक्षा स्थगित गरियो । परीक्षा दिनका लागि केन्द्रमै पुगेको विद्यार्थीहरू घर फर्कनु पर्यो । अन्य कक्षाहरु पनि बन्द भए । लामो समयदेखि घरमै थन्किएका विद्यार्थीहरु पढाईबाट टाढा हुने र पठनपाठनमा मर्दै जाने जाँगरलाई लक्षित गरेर विद्यार्थीहरूलाई एफएम रेडियोबाट पढाइयो । सबै विषयको कक्षा विषयगत शिक्षकहरूले रेडियोबाट नै लिए । एसईई परीक्षा सुरु नभएसम्म विद्यार्थीहरूलाई सिकाउन र पढेका कुरा नर्विसन सुरु भएको रेडियो कार्यक्रम सबै कक्षाका विद्यार्थीका लागि जारी रह्यो ।

अघिल्लो पटक विद्यालयमा नयाँ भर्ना अभियान सुरु हुनै भ्याएन । बीचमा केही समय सञ्चालनमा आएका विद्यालयहरुले बार्षिक परीक्षा समेत लिन भ्याएनन् । अहिलेको निषेधाज्ञाको समयमा अघिल्लो पटकको जस्तो पठनपाठन छैन । स्वरुपमा परिवर्तन आएका छ । सहरी क्षेत्रका सबै विद्यालयहरुले अनलाईनबाट विद्यार्थीहरुलाई पढाउँदै आएको छ । अनलाईनबाटै परीक्षा लिएका छ । तर ग्रामिण भेगका विद्यालयहरुले यो स्वरुपमा पढाउन सकेका छैनन् । अभिभावक तथा विद्यार्थीहको प्रविधिमा नभएको पहुँच र विद्यालय तथा शिक्षकहरुको क्षमता अभावका कारण सहरी क्षेत्र र ग्रामिण क्षेत्रका विद्यार्थीहरुमा असमानता देखिएको छ । सहरी क्षेत्रका सामुदायिक विद्यालयहरुले समेत अनलाईनबाट कक्षा सञ्चालन गरिरहेका छन् भने ग्रामिण क्षेत्रका निजी विद्यालयहरुले समेत त्यसो गर्न सकेका छैनन् ।

विदुर नगरपालिका वडा नं. ४ विदुरमा बसोवास गर्ने ११ वर्षिया अनिज खनाल अहिले विदुरकै सामुदायिक विद्यालय पृथ्वी माविको कक्षा ६ मा पढ्छन् । विद्यालय बन्द भएपनि उनलाई फुर्सद भने छैन । बिहान १० बज्नु अगावै खाना खाएर तयार हुन्छन्, कापी किताव लिएर स्कुलनै जान लागे जस्तै गरी तयार भएका अनिज आफ्नो पढ्ने टेलबमा ल्यापटप अगाडी बस्छन् । अनलाइन कक्षामा सहभागि उनी नियमित कक्षा जस्तै पढ्छन्, शिक्षकले दिएका गृहकार्य गर्छन् र फोटो खिचेर पठाउछन् ।

तादी गाउँपालिका वडा नं. ४ तामेका सन्दीप भण्डारी गाउँकै सामुदायिक विद्यालय सुन्दरादेवी माविको कक्षा १० मा पढ्छन् । १६ वर्षिया सन्दीपलाई भने अहिले फुर्सनै फुर्सद छ । न पढाई, न स्कुल जाने हत्तारो, न गृहकार्य । उनलाई पनि अन्य स्कुलमा पढाउने गरेको जस्तो अनलाईन कक्षामा बसेर पढ्न मन छ । तर यस विषयमा उनले सुनेका मात्रै छन् । उनको विद्यालयले न यो तारतम्य मिलाएको छ, न त ग्रामिण भेगका विद्यार्थीलाई इन्टरनेटको पहँुमा राखेर पढाउने विषयमा परिकल्पना हुनथालेको छ । ‘सहर बजारका स्कुलहरुले मोवाइलबाटै पढाइरहेको सुनेको छु, तर हामीले यो अवसर पाएका छैनौं’, सन्दीप भन्छन्– ‘पहिला त रेडियोबाट पनि पढाई हुन्थ्यो र सुनेर केही सहयोग मिल्ने गरेको थियो, तर आजभोली त्यो अवसर पनि हामीलाई छैन ।’ उनका अभिभावकहरु पनि लामो समयदेखि आफ्नो छोराको बरालिएको पढाईको विषयमा चिन्तित छन् । कक्षा नौं मा पनि राम्रोसंग पढ्न नपाएका उनले कक्षा १० मा पनि त्यही हालत ब्यहोरिरहनुपर्दा भविष्यमा समस्या हुने पो हो की भन्ने चिन्ता उनको परिवारलाई छ ।

राम्रोसंग फोन नलाग्ने, इन्टरनेटले काम नगर्ने दुर्गम ठाउँमा जन्मिएकोमा पछुताउने अभिभावकहरु पनि छन् । सरकारले शिक्षा क्षेत्रमा नयाँ प्याकेज ल्याउने गरेको छ । तर त्योे दुर्गमका विद्यार्थीलाई आकाशको फल जस्तै छ । तादी गाउँपालिका वडा नं. ४ का लक्ष्मी भण्डारी भन्छन्– ‘भाइबहिनीहरुलाई अहिलेको अवस्थमा अनालाईनबाट पढाउने इच्छा जत्ति भए पनि के गर्नु ? स्रोतसाधन केही छैन । फेरि यहाँका विद्यालयहरुले समेत त्यसरी अनलाईन कक्षा सञ्चालन गर्न सकेका छैनन् ।’

पाठ्यपुस्तक हातमा लिएर दैनिक विद्यालय जाने ग्रामिण भेगका प्रायः बालबालिका जारी निषेधाज्ञाका कारण घरायसी काममा व्यस्त छन् । कुटो, कोदालो, नाम्लो, डोको, हँसियाको साथमा घाँसदाउरा गरी अभिभावकलाई सघाउने काममा विद्यालय उमेर समुहका बालबालिका छन् । सुविधासम्पन्न ठाउँमा इमेल, इन्टरनेटबाट शिक्षा आर्जन भइरहेकोछ । ‘ग्रामिण भेगमा कुनै स्रोत साधन नहुँदा विद्यालयमा पढेको सबै बिर्सिसक्ने बेला भइसकेको छ, सहरका विद्यार्थीहरु त बरु अनलाईन क्लासमा बस्न पाउँछन्’, सरस्वती आधारभुत विद्यालय नर्जामण्डप बोहोरेका प्रधानाध्यापक रामकृष्ण खनाल भन्छन्– ‘एकैनासको शिक्षामा समेत यसरी हुने भेदभावले शिक्षा क्षेत्रको सम्मुचित बिकास हुनसक्दैन ।

सहरी क्षेत्रकै केही विद्यालयहरूले ईन्टरनेटको प्रयोगबाट पढाईलाई निरन्तरता दिएपनि नुवाकोटजस्तो जिल्लामा कम प्रभावकारी र असम्भवन जस्तै देखिएको तर्क गर्नेहरु पनि छन् । ग्रामिण भेगका विद्यालयहरूलाई त झन् यो प्रविधिबाट समस्या छदैछ । सबै विद्यार्थी इन्टरनेटको पहुँचमा नभएकै कारण कक्षाकोठामा हुने शैक्षिक क्रियाकलापको विकल्प नरहेको प्याब्सन बागमती प्रदेशका निर्वतमान अध्यक्ष रामहरि रिमाल बताउछन् । उनीले शैक्षिक सत्रलाई परिर्वतन गर्ने बहश चलिरहेको बेलामा यो उपयुक्त अवसर हुने अघिल्लो वर्षदेखिनै बताउदै आएका थिए । अर्किड एकेडेमी बट्टारका प्रिन्सिपल समेत रहेका निर्वतनमा अध्यक्ष रिमाल आर्थिक वर्ष र शैक्षिक सत्रको सुरुवात एकैपटक हुनेगरी साउनबाट थाल्नुपर्ने तर्क गर्छन् ।

अनलाईनबाट आफ्ना बच्चाहरुले कक्षा लिइरहेको भएपनि त्यो प्रभावकारी नभएको अभिभावकहरुकै गुनासो छ । बालबालिकाले अनलाईन कक्षामा ध्यान केन्द्रित गर्न मुस्किल हुने, प्रविधि प्रयोगमा अभिभावकनै अलमलिने अवस्थामा बालबालिकाहरु झन् आत्तिने समस्या छ । तर कम्तिमा यही विधिबाट भएपनि पढाईको निरन्तरतालाई मात्रै अभिभावकहरुले सकारात्मक मानेका छन् । ‘स्कुलनै गएको जस्तो त हुँदैन, तर पनि केही सिकिरहेका छन्, कोर्सका कुराहरुमा सामान्य रुपमा भएपनि परिचित भएका छन्’, विदुरका अभिभावक अनिता ढुङ्गाना भन्छिन्– ‘अनलाईन कक्षाको साथमा हामीले पनि बच्चाहरुलाई पढाउने र केयर गर्ने गरेका छौं ।’

अघिल्लो पटकको बन्दाबन्दीमा सम्पूर्ण शैक्षिक क्रियाकलापहरु बन्द गरेर बस्नु परेको विद्यालयहरुले यसरी अनलाईनबाट हुने पठनपाठनलाई एक हदसम्म सकारात्मक रुपमा लिएका छन् । विदुरको सामुदायिक विद्यालय पृथ्वी माविका प्रधानाध्यापक बाबुराम लामिछाने भौतिक रुपमा विद्यालयमा शिक्षक र विद्यार्थीको उपस्थिति गराएर पढाउन नसकेकै कारण यो बैकल्पिक विधि अवलम्वन गरिएको बताउँछन् । यसरी हुने पढनपाठन प्रभावकारी रहेको र विद्यार्थी तथा अभिभावकहरुको सहभागिता र प्रतिक्रृया उत्साहजनक रहेको उनको भनाई छ । ‘अहिलेको परिस्थिति यस्तै छ, कम्तिमा यही अवस्थमा भएपनि विद्यार्थीहरुलाई पढाईमा अभ्यस्त बनाउने हाम्रो प्रयास हो’, प्रधानाध्यापक लामिछाने भन्छिन्– ‘अवस्था सहज भएपछि हामीले प्रत्यक्ष रुपमा कक्षाकोठामा बसेर गर्ने पठनपाठनका लागि यो अनलाईनबाट लिइएको कक्षाले पनि ठूलो मद्दत गर्ने छ ।’

केही प्रतिशत विद्यार्थीहरुले प्राप्त गरेको यो अनलाईन कक्षाको अवसरका कारण उनीहरु पुर्ण रुपमा व्यस्त भने बेनेका छैनन् । औपचारिक पठनपाठनमा केही निष्क्रिय देखिएका बालबालिकाहरुले अनौपचारिक ज्ञानमा भने समय खर्चन र घरपरिवारसंग घुलमिल हुन पाएका छन् । बालबच्चालाई घरायसी कामकाज सिकाउने, पारिवारिक जीवनमा अभ्यस्त गराउने कार्यमा समेत अभिभावकहरु लागेका छन् । कक्षा ९ मा अध्ययनरत विदुरका १५ वर्षिया अनुष्का उप्रेती घरमै बस्ने क्रममा कुचो लगाउन, लुगा धुन, भाँडावर्तन सफा गर्न जान्ने भएका छन् । उनलाई हजुरआमा र आमासंग काम सिक्न निक्कै रमाइलो लाग्छ । सागसब्जी केलाउन, भान्साको काममा, खानपान, पोषण आदिबारे सिकेका छन् । ‘अनलाईन कक्षामा बसेर मात्रै समय बित्दैन, त्यसैले घरको काम पनि सिक्ने गरेको छु’, अनुष्का भन्छन्– ‘एक्सरसाइज गर्न र ध्यान गर्न पनि सिक्न थालेको छु ।’

 

१८ असार २०७८, शुक्रबार १४:१०



तपाईको प्रतिक्रिया