जन्मदिनमा विद्यालयलाई एक लाख प्रदान

विदुर । बेलकोटगढी नगरपालिकाका जनकराज ढुङ्गानाले जन्मदिनको अवसरमा मंगलवार स्थानीय एक विद्यालयमा छात्रवृत्ति कोष निर्माण गर्न एक लाख रूपैयाँ प्रदान गरेका छन् ।

हाल अमेरिकामा बसोबास गर्ने उनले बेलकोटगढी नगरपालिकाको वडा नम्बर ८ मा रहेको बागेश्वरी आधारभूत विद्यालयमा छात्रवृत्तिको कोष निर्माण गर्न एक लाख रूपैयाँ प्रदान गरेका हुन् । उनले घोषणा लगत्तै मोबाइल बैंकिङ मार्फत विद्यालयको खातामा एक लाख रूपैयाँ ट्रान्सफर गरेका छन् ।

उनी आफ्नो फेसबुक पेजमा लेख्छन्– ‘मान्छेले आफ्नो कामद्वारा पाप मोक्ष गर्ने र कर्मद्वारा सामाजिक सेवा गर्ने हो भन्नेमा म बिश्वास गर्दछु । आज परेको आफ्नो जन्मदिनको अबसरमा बेलकोटगढी नगरपालिका वडा न ८ स्थित बागेश्वरी आधारभुत बिद्यालययमा अध्ययनरत गरिब तथा जेहेन्दार बिद्यार्थीको छात्रबृतिको लागि सहयोग स्वरुप अक्षयकोश निर्माणको लागि एक लाखउपलब्ध गराएको छू । बिद्यार्थी भाई बहिनीको उज्वल भबिष्य को कामना गर्दछु !’

२३ कार्तिक २०७९, बुधबार १३:३२



तपाईको प्रतिक्रिया