अवैध काठसहित पाँच जना पक्राउ

विदुर । जिल्लामा अवैध काठसहित पाँच जना पक्राउ परेका छन् । सूर्यगढी गाउँपालिका–३ बिसमुरेमा काठ काटिरहेको अवस्थामा दुई जना र शिवपुरी गाउँपालिका–८ मा तीन जना पक्राउ परेको डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख दीर्घनारायण कोइरालाले बताए ।

उनका अनुसार सूर्यगढी गाउँपालिका–३ बिसमुरेमा २ सय १० गोलिया र फलाँटेको एक फर्निचरबाट चिरान गरेको १ सय ६ थान सालको काठसमेत बरामद गरिएको छ ।

त्यसैगरी, शिवपुरी गाउँपालिका–८ मा बा४ख १००३ नम्बरको आइचर गाडीसहित २६ थान गोलिया सालको काठ बरामद गरिएको वन कार्यालयले जनाएको छ । ककनी गाउँपालिका ८ मा अवैधरुपमा लुकाइछिपाई राखेको एक ट्रिप सालको गोलिया काठसमेत बरामद भएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । बरामद काठ र पक्राउ परेकामाथि अनुसन्धान भइरहेको वन कार्यालय नुवाकोटका प्रमुख कोइरालाले बताए ।

२७ पुष २०७९, बुधबार ०८:२४



तपाईको प्रतिक्रिया