राष्ट्रिय बालदिवस–२०७७

कोरोना भाइरस (Covid-19­) सन् २०१९ डिसेम्वर १९ मा चीनको बुहान प्रान्तबाट समुदायमा देखा परेको थियो । कोरोना भाइरस विश्व मानव समुदायकै लागी एउटा अभिसाप भएर देखा परेको छ । कोरोना भाइरसको पछिल्लो समय नेपालमा संक्रमणदर उच्च छ । कोभिड–१९ वाट नेपालमा कुनैपनि उमेर समुह अछुतो हुन सकोको छैन । कोरोना भाइरसको बाढी छेक्ने बाँधको रुपमा सावित बन्दाबन्दीले पनि बालबालिकाहरुको मनोवलमा नकारात्मक असर पारेको छ । आज कोरोना महामारीका कारणबाट छटपटाई रहेका लाखौं बालबालिकाहरु मानसिक रुपबाट बिछिप्त छन् । गर्भमा रहेको शिशु र आमाको काखमा बसेर दुध चुसिरहेका बच्चा देखी विद्यालय उमेरका लाखौं बालबालिका प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कोरोनाबाट आक्रान्त छन् । लाखौं विद्यालय उमेरका बालबालिकाहरु विद्यालयको नियमित सिकाई टुटेका कारण उनीहरु खराब सोचको शिकार हुने, कुलतमा लाग्ने, खराब संगतमा फसेर अनैतिक कार्य गर्ने जस्ता सम्भावना छ । यस महामारीले आज बालबालिकाहरुको सम्पुर्ण पक्षहरुमा ठुलो असर पारिरहेको छ । बर्तमान अवस्थामा बालबालिकाहरुको स्वास्थ्य, शिक्षा, सामाजिक पक्ष, शारिरीक तथा मानसिक पक्ष, अन्य विविध पक्षहरुमा नकारात्मक प्रभाव पारेको छ ।

दिबस ढकाल

स्वास्थ्य :
कोरोना बिश्वका साथै नेपालका पनि तिव्र गतिमा फैलिएको सर्वविधितै छ । यस महामारीबाट नेपालमा पनि सयौंको संख्यामा बालबालिकाहरु संक्रमित छन् । कोरोना महामारीबाट सिर्जित बन्दाबन्दीले अनिवार्य खोप नपाएकै कारण बालबालिकाहरु थप जोखिममा छन् । नेपालमा मात्रै हजारौं नवजात बालबालिकाहरुको ज्यान जान सक्ने सम्भावना देखिएको छ । बन्दाबन्दीले गर्दा गाउँको कुनाकन्दरासम्म खोपको आपुर्ती हुन सकेको छैन । विश्व स्वास्थ्य संगठन (WHO) ले नेपालमा दादुराको संक्रमण फैलिन सक्ने चेतावनी दिईसकेको छ ।

शिक्षा :
नेपालका वर्तमान बालबालिकाहरुको शैक्षिक अवस्था ज्यादै नाजुक बन्न पुगेको छ । देशका विद्यालयहरु पुर्ण रुपमा बन्द छन् । त्यसले गर्दा आज बन्दाबन्दीले बालबालिकाहरु शिक्षाको उज्यालोबाट वञ्चित छन् । नेपालमा बैकल्पिक शिक्षण सुरुवाती चरणमा रहेकोले लाखौं बालबालिका शिक्षाको अबसरवाट बञ्चित छन् । उनीहरुको शैक्षिक भविष्यको चिन्तालाई लिएर नेपाल सरकारले बैकल्पिक शिक्षालाई जोड दिए पनि देशको ग्रामिण क्षेत्रको कुनाकन्दरासम्म त्यसको पहुँच पुग्न सकेको छैन ।

यस्तैगरी महामारीले बालबालिकाहरुको सामाजिक, शारिरीक, मानसिक पक्षमा समेत ठुलो दख्खल परेको छ । सबैलाई थाहा छ, बालबालिकाहरु काँचो माटो जस्तै हुन् । जस्तो आकार दियो त्यस्तै बन्छन् बालबालिकाहरुलाई देवताको दोस्रो रुप पनि मानिन्छ । निश्चल, निष्कपट र सादार हृदयका धनी उनीहरुको आलो दिमागमा कसरी सचेतना, सिप र गुणस्तरीय शिक्षाको सुगन्ध फैलाउने भन्ने जिम्मेवारी सर्वप्रथम परिवार, समाजमा रहेको हरेक व्यक्तिहरु शिक्षित वर्गहरु र सरोकारवालाहरुमा भर पर्दछ । देशका कर्णधार बालबालिकाहरुलाई उचित दिशा देखाउन माथि उल्लेखित ब्यक्तित्वहरुको साथै देशमा सुनिश्चित गरिएको कानुन र यसको स्थानिय तवरमा भएको कार्यन्वयनले पनि ठुलो भूमिका खेल्छ । साथै सामाजिक तहमा विभिन्न सुविधाहरुको पँहुचले पनि असर पार्दछ । बालबालिकाहरुमा हुने मानसिक विकास उनीहरुको घर र समाजको बातावरणमा नै पुर्णत निर्भर रहने भएकोले उनीहरुको सामाजिक, शारिरिक र मानसिक विकास तवमात्र सफल हुन्छ जव यी सवै बीच सु–स्वास्थ्यमुलक सहकार्य र बालमैत्री बातारणको जग ठडिन्छ । तर अहिले कोरोना भाइरस जस्तो अनिश्चित महामारीको कारण बालबालबालिकाहरुको सबै शारिरीक र मानसिक पक्षको विकासमा प्रतिकुल असर परको छ ।

आज यसै महामारीको कारण समाजमा भयावह स्थिति सिर्जना हुन पुगेको छ । विद्यालयहरु महिनौं देखी ठप्प छन्, स्वास्थ्य संस्थाहरु कोरोनाको प्रकोप पैmलिने भयका कारण आफ्नो सुविधाहरु प्रदान गर्न समेत हिचकिचाई रहेका छन् । अत्यावश्यक काम बाहेक अरु समयमा घरबाट बाहिर निस्कन नसक्ने स्थिति सिर्जना भएको छ । दौडिने, हाँसीखुसी खेल्ने उमेरमा घर भित्र ‘कुँजो’ जस्तो बनेर बस्नुपरेको छ । यसले उनीहरुको मानसिक स्थितिमा असहजता ल्याएको छ । कतिपय बालबालिकाहरु ‘मोनोटोेनस’ भई ‘डिप्रेसन’को शिकार समेत शन्न पुग्ने स्थितिमा छ । उनीहरुले आफ्नो बानी ब्यवहारमा समेत परिवर्तन ल्याएका छन् । कोरोना महामारीले विद्यालय जानु नपर्ने अवस्था सिर्जना भएकै कारण ‘अव त मलाई पढ्नै पर्दैन’ भन्ने मानसिकताको बिकास भएको छ । पढ्ने लेख्ने बानीको बिकास हुनु पर्ने अवस्थामा झनै विनास हुँदै गईरहेको छ । आज बन्दाबन्दीको यो फजुल समय फगतमा अनलाइन गेम खेल्ने, टेलिभिजन, युटयुब आदिमा महत्वहिन विषयका भिडिओहरु, अश्लिल चलचित्रहरु हेर्ने गरेको पाइन्छ । यसले उनीहरुको बानी बिगारेको छ नै त्यसका साथै शारिरिक असरहरु पनि छन् । उनीहरुमा अल्छीपना, मोटाउने, जस्ता समस्याले शारिरिक रुपमा दुर्बल भईरहेका छन् । बालबालिकाहरु एक्लैबसी गेम खेल्ने, टेलिभिजन हेर्ने, सामाजिक सञ्जाल चलाउने जस्ता आदि कुराले उनीहरुलाई ‘एडिक’ गराएको छ । उनीहरुलाई पठनपाठनको आधारभुत विषयबाट विषयान्तर गरिएको छ । यसरी दिशान्तर भएका उनीहरुलाई सही दिशातिर लम्काउन धेरै समय लाग्ने समस्या देखिएको छ । यसका साथै सामाजिक सञ्जालमा आदानप्रदान भईरहेका कोरोनासंग सम्वन्धीत गलत समाचारको सम्प्रेषणका कारण उनीहरुमा भयको स्थिति सिर्जना गरेको छ ।

आमा, बुबाको दैनीकी गुजारा गर्ने काम खोसिएको कारण घरमा आर्थिक संकट उत्पन्न भएको छ । जसको शिकार बालबालिका बन्नु परेको छ । यसको असर पछिसम्म रहन सक्ने पुर्वानुमान गर्न सकिन्छ । यसले बालबालिकाहरुको स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा असर पु¥याउने छ । सामान्य रुपमा दिन बिताईरहेका बालबालिकाहरु फेरि त्यस्तै दिन कहिले फर्केला भनेर प्रतिक्षारत छन् । तर कोरोना महामारीको संक्रमण झन् बढ्दो क्रममा रहेको कारण उनीहरुका आत्म विश्वास घट्दो छ । बालबालिकाहरुमा हौसला र प्रेरणाको कमी भएको छ । तसर्थ बालबालिकाहरुलाई परिवारले आत्म विश्वास वढाउने, हौसला दिने, एक अर्कामा मिलेर बस्ने, सहकार्य गर्ने र श्रृजनात्मक कार्य गर्नु पर्दछ । याद राखौ ‘तपाँईहरुले गर्नुभएको सुक्ष्म गल्तीले पनि बालबालिकाहरुको मष्तिस्कमा गहिरो असर पर्न सक्छ ।’ त्यसैले आफ्नो बालबालिकाहरुलाई सिकाईसंगै आत्म बिश्वास बढाउने कार्य गर्नु परिवारको दायित्व हो । बालबालिकाहरुमा बर्तमान महामारीले पारेको असर न्यूनिकरणको लागी परिवार, समुदाय र राज्यले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्दछ । बालबालिकाहरुलाई यस्तो अवस्थामा सिर्जनात्मक क्रियाकलापमा ब्यस्त बनाउनु पर्दछ । बर्तमान कोरोना महामारीको विषम परिस्थीतीमा बालबालिकाहरुलाई सुरक्षित रुपमा परिवार भित्र रहेर उनीहरुको अधिकारको सुनिश्चितताको लागी राज्यले महत्वपुर्ण उत्तरदायित्व पुरा गर्नु पर्दछ ।

नेपालको संविधानको धारा ३९ ले बालबालिकाहरुको संरक्षण, उत्थान र हितको लागी ब्यवस्था गरेको मौलिक हकहरुको प्रत्याभुत गर्नु राज्यको दायित्व हो । आज भदौ २९ गते राष्ट्रका सम्पुर्ण बालबालिकाहरुको सम्झनामा बालदिवस मनाउँदै गर्दा बर्तमान समयमा कोरोना महामारीले बालबालिकामा नकारात्मक प्रभाव पारिरहेको परिप्रेक्षमा हेर्ने हो भने बालदिवस मनाउनु मात्रै महत्वपुर्ण विषय होइन । बालदिवसको मर्मलाई आत्मसात गर्दै आज बालबालिका कस्तो अवस्थामा छन्, त्यसको सुक्ष्म अध्ययन गरी उनीहरुको अधिकारको प्रत्याभुत गर्न सकेमात्र आजको यस्तो विषम परिस्थीतीमा पनि बालदिवस मनाउनुको सार्थकता रहन्छ ।

अन्त्यमा :
यस महामारी पछिका दिनहरुमा नेपालको ४० प्रतिशत बालबालिकाहरु मात्र सामान्य जनजिवनमा फर्कन सक्ने छन् । बाँकी ६० प्रतिशत बालबालिकाहरु महामारीले श्रृजित अनेकौं समस्याको जोखिममा पर्न सक्नेछन् । लार्खौं बालबालिकाहरु शिक्षाको सुनौलो अबसरबाट बञ्चित हुन सक्नेछन् । धेरै बालबालिकाहरुले आफ्नो पहिचान समेत गुमाउने र परिवार समेत बिस्थापित हुने जोखिम देखिन्छ । बालबालिकाको उचित स्वास्थ्य स्याहार र पोषणयुक्त खानामा समेत बर्तमानको तुलनामा कमी आउने छ । लाखौं बालबालिका कुपोषण र अन्य सरुवा रोगहरुको शिकार हुनेछन् । राज्यले विशेष संरक्षण र सुविधा प्रदान गरी पुर्ण रुपमा सबै क्षेत्रमा बालबालिकालाई समेटेर बाल अधिकारको प्रत्याभुत गर्नुपर्ने हुन्छ । राज्यको समृद्धिको पहिलो चरण नै साक्षर र स्वस्थ्य बालबालिकाहरु हुन् । त्यसैले महामारी पछिका दिनहरुमा बालबालिकाहरुको शिक्षा र पोषणलाई राज्यले महत्व दिनु पर्ने हुन्छ ।
(लेखक नुवाकोटमा भदौ २३, २०७७ मा आयोजित जिल्लास्तरिय नेपालय अनलाइन वक्तृत्वकला प्रतियोगितामा दोश्रो भएका थिए ।)

२९ भाद्र २०७७, सोमबार १२:०४



तपाईको प्रतिक्रिया