सुविधा बञ्चित समूहमा साक्षरता एवं जीवन पर्यन्त सिकाइको पहुँच विस्तार

सुविधा बञ्चित समूह भन्नाले आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक तथा विकासका पाँच पूर्वाधारहरु र राज्यका अनेकौं सुविधाबाट बञ्चित भएका पिछडिएका मानिसहरुको समूह भन्ने बुझिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने भौगोलिक हिसाबले विकट भएको ठाउँलाई सुविधा बञ्चित क्षेत्र तथा समूह भनेर चिनाउन सकिन्छ । पिछडिएको क्षेत्रमा शिक्षाको उज्यालो छर्दै जीवनपर्यन्त सिकाइको पहुँच विस्तार गर्न सकियो भने मात्र हरेक सुबिधावाट बञ्चित समुहका मानिसहरुको जीवनस्तर तथा मानव बिकासको स्तर उत्कृष्ट हुन पुग्दछ । मानिसले जन्मेदेखि नमरुञ्जेलसम्म सिक्ने प्रक्रियालाई जीवन पर्यन्त शिक्षा वा सिकाई भनिन्छ । जीवन पर्यन्त सिकाई त्यो होइन जुन दैनिक पाठशाला गएर कक्षा कोठामा बसेर सिकाई गरिन्छ र पाठ्यपुस्तक पढिन्छ । जीवनपर्यन्त सिकाई त त्यो हो जुन मानिसले जन्मेदेखि नमरुञ्जेलसम्म जीवनमा आउने विभिन्न घटनाहरु र दैनिक कार्यको अनुभवबाट जीबन उपयोगी र व्यवहारिक ज्ञान प्राप्त गर्नुलाई जीवनपर्यन्त सिकाई भनिन्छ । शिक्षाशास्त्रीहरुका अनुसारका “सिकाई गर्भबाट सुरु भएर चिहानमा गएर अन्त्य हुन्छ” भनि जीवनपर्यन्त सिकाई सम्बन्धी आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन् । राज्यका सुविधाबाट बञ्चित भएका नागरीकहरुमा जीवनउपयोगी शिक्षाको पहुँच विस्तार नगरेसम्म सुविधा बञ्चित तथा पिछडिएको क्षेत्रको विकासको परिकल्पना साकार हुन सक्दैन ।

नेपालमा पिछडिएका र सुविधा बञ्चितक्षेत्रमा रहेका मानिसहरु निरक्षरताको जीवन गुजारिरहेका छन् । जबसम्म त्यस्ता सुविधा बञ्चित क्षेत्रका मानिसहरुको शैक्षिकस्तर उकास्न सकिंदैन तबसम्म त्यस क्षेत्रको भाषा, कला, संस्कृति आदिको विकास सम्भव हुन सक्दैन । यसरी सुविधाबाट बञ्चित हुनु परेकै कारण त्यस्ता क्षेत्रको मानव विकासको स्थिति नाजुक बनेको छ । भौगोलिक संरचनाको दृष्टिले ठगिएको देश नेपालमा शिक्षा क्षेत्रमा आमूल परिवर्तन सुधार तथा विकासको खाँचो छ । पिछडिएको क्षेत्र तथा सुविधाविहिन क्षेत्रहरुमा जीवनोपयोगी तथा जीवनपर्यन्त शिक्षाको पहुँच विस्तारका लागि विविध शैक्षिक विकासका कार्यक्रमहरुलाई प्राथमिकता दिनुपर्छ । त्यसको लागि विकसित नयाँ सञ्चारका प्रविधिहरुको प्रयोग नै उत्कृष्ट सावित हुने देखिन्छ । नेपालका प्रशिद्ध आविष्कारक डा. महाविर पुनले ग्रामिण र पिछडिएको क्षेत्रको शिक्षालाई पनि प्रविधिमैत्री बनाउन जोड दिएका छन् । नेपालको कुनै पनि क्षेत्रहरु सुविधाबाट बञ्चित हुनुको मुख्य कारण साक्षरताको अभाव नै भएका कारण त्यस्ता क्षेत्रमा साक्षरता अभियानलाई सञ्चारसँग जोडेर प्रविधिमैत्री साक्षरता कार्यक्रम सञ्चालन गर्नुपर्दछ ।

सूचना सञ्चार यातायात सुविधाहरु अहिले अति जीवनउपयोगी सुविधाको रुपमा स्थापित भएका छन् । यसको प्रयोग हरेक घरको कुना काप्चामा पु¥याउन हरेक सरकार, सरकारी र गैह्र सरकारी कार्यालयहरु जिम्मेवार नागरिक लागि पर्नुपर्दछ । सुविधा बञ्चितक्षेत्रमा रहेका नागरिकहरुमा सुचना तथा सञ्चार प्रविधिहरुको सुविधाको पहुँच पु-याउँदै शिक्षालाई सञ्चारसँग जोडेर जीवन उपयोगी तथा जीवनपर्यन्त सिकाई विकासका कार्यक्रम सञ्चालन गर्नुपर्दछ । यसले पिछडिएको क्षेत्रमा शैक्षिक विकासका साथै मानव विकासले फड्को मार्नेछ ।

दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलाको “Education is the greatest weapon to change the world” उक्त विचारको सान्दर्भिकता र महत्व वास्तविक जीवनमा पनि लागू हुन सक्दछ । त्यसैले शिक्षाले देशको हरेक क्षेत्रमा सकारात्मक परिवर्तनको प्रभाव परिरहेको हुन्छ । शिक्षालाई आधुनिक प्रविधि र सञ्चारसँग जोडेर पिछडिएका गाउँगाउँमा शिक्षाको ज्योति छर्न सकिन्छ । सवै सुविधा तथा प्रविधिहरु यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य, लगायतका सवै किसिमका विकासका पूर्वाधारहरु एक अर्कामा अन्तरसम्बन्धित छन् । त्यसैले सबै क्षेत्रको समग्र विकासले मात्र पिछडिएका क्षेत्रमा शैक्षिक विकास र देश नै सम्वृद्ध हुन सक्छ । जबसम्म परम्परागत सोच, अभ्यास, विचारधाराबाट ग्रसित सुविधा बञ्चित क्षेत्रका मानिसहरु नयाँ सम्भावनाका बाटोहरु पहिल्याउन सक्दैनन् तबसम्म शिक्षामा सन्तोषजनक सुधार हुन सक्दैन ।

नेपालमा बहुसंख्यक शैक्षिक कार्यक्रमहरु सहर केन्द्रित भइरहेका छन् । जसको फलस्वरुप विकसित सहरहरु गतिशील हुँदै गइरहेका छन् । देशमा हुने हरेक शैक्षिक सामाजिक, राजनैतिक, सांस्कृतिक, आर्थिक विकासहरु सवै सहरमा मात्रै केन्द्रित छन् । आज संघीय लोकतान्त्रिक गणतन्त्राात्मक राज्यको समानुपातिक समावेशी तथा सहभागितामूलक नेपालमा समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गरिरहेका हामी देशको कुना कन्दरामा बसेर शैक्षिक विकास र विस्तार तथा जीवन उपयोगी र जीवनपर्यन्त सिकाईको आवश्यकता महसुस गरिरहेका छौं । आज देश संघियतामा गएर स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारको व्यवस्थापन भए पनि विद्यमान भ्रष्ट प्रशासन, ढिलासुस्ती, निस्क्रियता, नातावाद, कृपावादजस्ता समस्याले अझ जरो गाडिरहेको छ । स्थानीय सरकार जनतामुखी भएर स्थानीय विकासका कार्यहरु गर्न सकिरहेको छैन । यसरी स्थानीय सरकारहरु विकासमुखी नभएकै कारण अझ पनि कति जिल्लाहरु सुविधाबाट छन् । नेपालमा पाँचथर, संखुवासभा, सर्लाही, रौतहट, हुम्ला, सल्यान, मुगु, डोल्पा, कालिकोट, बझाङ, अछाम, डोटी, बाजुरा, बैतडी, कैलाली, बाजुरा, सुर्खेत, रुकुम, दैलेख, जाजरकोट, मुस्ताङ, बाँके, सिन्धुली, जस्ता जिल्लाहरुका ५७ वटा स्थानिय तहहरु राज्यका असङ्ख्य सेवा सुविधाहरुबाट बञ्चितहुनु परेको छ । पश्चिममा सल्यानको दर्मा गाउँपालिका लगायतका क्षेत्रमा सामाजिक अन्धविश्वास छाउपडी प्रथाले जरा गाडेको छ । पूर्वमा पाँचथरको तुम्मेवा गाउँपालिका लगायतका क्षेत्रमा कुनै पनि आधारभूत सेवा सुविधा पुग्न सकेको छैन । सर्लाहीमा दाइजो नपाएकै कारण एउटा श्रीमानले श्रीमतीको हत्या गरिरहेका छन् ।

देशका विविध ठाउँमा फरक फरक समस्याहरु देखापरेका छन् । यसको प्रमुख कारण शिक्षाको कमी नै हो । देशको यस्ता सुविधाबाट बञ्चितक्षेत्रका मानिसहरु शिक्षित नभएको कारणले गर्दा छाउपडी, घुम्टो, देउकी, छुवाछुत जस्ता अन्धविश्वासमा रुमलिएका छन् । यस क्षेत्रमा रुढिबादी परम्परा सामाजिक वन्धन र अन्धविश्वासलाई जरैदेखि उखेलेर सामाजिक हकहितको वकालत गर्न कुनै पनि सरकारी जिम्मेवार निकायहरु तथा संस्थाहरु पनि यी जिल्लाहरुमा पुग्न सकेका छैनन् । तराईका कतिपय जिल्लाका मानिसहरु अझै पनि छोरीलाई शिक्षित बनाउनु हुँदैन धेरै तिलक दिनुपर्छ, बिकाउन गाह्रो हुन्छ, हतपति छोरीको बिवाह हुँदैन भन्ने जस्ता रुढिवादी परम्परावाट जकडिएका छन् । शिक्षाकै अभावमा जहाँ छोरीलाई पढाउन खोज्ने अभिभावकहरु समाजले पानी काट्ने डरले आफुना छोरीहरुको पढाई छुटाउँदछन् । समाजमा आर्थिक, धार्मिक तथा सामाजिक भेदभाव हटाउँदै समान व्यवहारका लागि साक्षरता, जीवनपर्यन्त सिकाई, सिपमुलक तालिम, अवसरहरु र सुविधाहरु प्रदान गर्दै लगेपछि जातीय भेदभाव तथा धार्मिक असहिष्णुताबाट मुक्त हुनुको साथै विभिन्न खाले विकृतिहरु स्वतः कम हुँदै जानेछन् । यस्ता क्षेत्रमा विभिन्न आधारभूत सुविधाको समेत विकास नभएको कारण स्वास्थ्य, बैंङकीङ, यातायात, शिक्षा, सूचना तथा सञ्चार आदिको पनि विकास हुन सकेको छैन ।

सुविधा बञ्चित तथा पिछडिएका क्षेत्रमा साक्षरताकै अभावमा महिलाहरु महिनावारीको समयमा छाउपडीमा वस्नुपर्ने, गन्धा कपडाहरुको प्रयोग गर्नुपर्ने, सामान्य प्रसुती सेवाको अभाव, गर्भवतीको बेला हुने सामान्य स्वास्थ्य सेवाको अभावका जस्ता विभिन्न समस्याका कारण ज्यान गुमाउनु परेको छ । सँधैं घरेलु हिंसाको सिकार बन्नु परेको छ । अझै पनि यस्ता क्षेत्रका मानिसहरु शैक्षिक विकास नभएकै कारण पलपलमा तड्पिनु परेको छ । यसलाई नजिकबाट निहालेर हेर्न सम्बन्धित पक्ष लगायत शिक्षित, सुविधासम्पन्न, नागरिकहरुको दायित्व सर्वोपरी रहेको छ । यस्ता पिछडिएको क्षेत्रमा सूचना सञ्चार, तथा शिक्षाकै अभावले बेरोजगारी जस्तो समस्या सिर्जित भएको छ । तसर्थ सुविधा बञ्चितक्षेत्रलाई केन्द्रित बनाएर विभिन्न जीवनउपयोगी शिक्षा तथा जीवनपर्यन्त सिकाइका कार्यक्रमहरुलाई प्राथमिकता दिनुपर्छ ।

सर्वप्रथमत बालबालिका, बुढापाका र युवाहरु सवैलाई साक्षरता कार्यक्रम भित्र समेट्नुपर्छ । यसले अरु जीविकोपार्जनका काममा पनि सहयोग पु¥याउँदै गाउँघरमा सामाजिक परोपकार र एकताको भावना उजागर गर्न सहयोग पु-याउँछ , पढेर सहरतर्फ केन्द्रित हुने विदेशतिर पलायन हुने भन्दा पनि स्थानीय सामजिक स्रोतको परिचालन गर्ने खालको शिक्षालाई केन्द्रित गरिनुपर्दछ । यसका लागि शैक्षिक विकासमा पछि परेका मानिसहरुका लागि उत्प्रेरित गर्ने खालको शिक्षा प्रदान हुनुपर्दछ । सुविधा बञ्चितक्षेत्रहरुमा जीवन उपयोगी, व्यावसायीक तथा प्राविधिक शिक्षामा जोड दिनुपर्छ ।

यस क्षेत्रमा माछापालन, पशुपालन, कृषि, वनस्पती, बगैंचा, पर्यटन क्षेत्रको स्थापना, जलको उचित प्रयोग, जडिबुटीको उचित उत्पादन र प्रशोधन, बजार व्यवस्थापनमा केन्द्रित सिकाइलाई महत्व दिनुपर्छ । युवाहरुलाई पर्यटन उद्योग तर्फ आकर्षित गर्न ज्ञान र सीपतर्फ अग्रसर गराउनुपर्छ । युवाहरुलाई उनीहरुको दक्षता र क्षमता अनुरसारको कार्यम उन्मुख गराउनुपर्छ । यसरी गाउँ गाउँ केन्द्रित शैक्षिक विकासका कार्यक्रम सञ्चालन गरी पिछडिएको क्षेत्रको समग्र विकासमा मद्दत पुग्दछ । सुविधा बञ्चितक्षेत्रका लागि साक्षरता र जीवन पर्यन्त सिकाईको विकासका क्षेत्रमा गुणस्तरीय समानता र समतामूलक उपयुक्त बजेट व्यवस्थापन गर्न सकेमा यस्ता सुविधा बञ्चित क्षेत्रको विकासमा टेवा पुग्दछ । यसका लागि सवै सरोकारवालाहरु, सम्बन्धित निकायहरु, शिक्षित नागरिकवर्ग अगाडि बढ्नुपर्छ । सुविधा बञ्चितक्षेत्रमा साक्षरता एवम् जीवनपर्यन्त सिकाईको पहुँच विस्तार गर्नु समावेशी शिक्षाको अवधारणा पनि हो । देशका सुविधा बञ्चिततथा पिछडिएको प्रत्येक क्षेत्रमा बालबालिकाको शैक्षिक अधिकारको प्राप्तिको लागि समतामूलक शिक्षाको पहुँच विस्तार गर्नु एक्काइसौं शताव्दीको मूलभूत अपरिहार्यता हो ।

नागरिकले राज्यबाट पाउने सुविधाको अभावका कारणबाट एकातिर मुलुकको हरेक क्षेत्रको विकासमा वाधा उत्पन्न गरेको हुन्छ भने अर्का तर्फ राष्ट्रियताको उत्थानमा पनि अवरोध सिर्जना गरेको हुन्छ । साक्षरता अभियानको सुरुवात तथा जीवनपर्यन्त सिकाइले राज्यका सुविधावाट पछि परेका क्षेत्रका नागरिकहरुको आर्थिक, सामाजिक, बौद्धिक विकासमा टेवा पु¥याई अन्त्यमा देशको सर्वाङ्गीण क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ । देशका पिछडिएका क्षेत्रका आर्थिक, सामाजिक विकासमा पछि परेका नागरिकहरुलाई अधिकार तथा न्याय प्रदान गर्न पनि साक्षरता तथा जीवनपर्यन्त सिकाइले सहयोग पु¥याउन सक्दछ ।

वर्तमान नेपालमा सुविधा बञ्चितक्षेत्रमा एउटा आभारभुत विद्यालयसम्म छैन । त्यहाँका धेरैजसो मानिसहरुले पढेका छैनन् । केहि व्यक्तिहरु बाहिर गएर पढे पनि उनीहरु त्यहाँ फर्केर आउँदैनन्, बाहिर नै जागिर खान्छन्, स्वरोजगार बन्दछन्, उतै घरजम गर्दछन्, उतै बस्दछन् । गाउँमा शिक्षित नभएकाले धेरै जसो मानिसहरु काम नपाएर बरालिएर हिड्ने, मादक पदार्थ, ध्रुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, एक आपसमा अनाहकमा झै–झगडा गर्ने जस्ता कुकृत्यहरु गरी समय विताइरहेका छन् । उनीहरुलाई कोसँग कसरी बोल्ने, कस्तो व्यवहार गर्ने, आफूले कसलाई कस्तो आदर सम्मान गर्ने भन्ने पनि थाहा छैन । तराईका ती पिछडिएका जिल्लाका मानिसहरुको भान्छासम्म फोहोरले भरिन्छ । सरसफाई नगर्नाले गाउंमा बर्षैभरि मानिसहरु बिरामी भइरहेका छन् । बिरामी हुँदा स्वास्थ्यचौकी, अस्पताल छैनन् । एम्बुलेन्स सेवाको लागि बाटोघाटो र सडक सुविधा छैन । डाक्टरलाई सम्पर्क गर्न सञ्चार सुविधा छैन । यसले गर्दा त्यस्ता पिछडिएका जिल्लाका गाउँहरुमा बर्षैपिच्छे महामारी फैलिएर धेरै मानिसहरुले अकालमा ज्यान गुमाउनु परेको छ । त्यसमा पनि नवजात शिशु र पाँचवर्ष मुनिका बालबालिकाहरु झाडापखालाले गर्दा धेरै नै मर्ने गर्दछन् । बिरामी हुँदा गाउँलेहरु धामी झाँक्रीको भर पर्नुपर्ने कुखुरा बोका, हाँस आदिको बली दिएर पुजा आजा गरी गराई रोग निको हुन्छ भन्ने भ्रम पालेर बस्नुपर्ने तितो यथार्थ विद्यमान छ । साक्षरताको कमीले सुविधा बञ्चितक्षेत्रका मानिसहरु परम्परागत ढुङ्गे युगको रुढिवादी परम्परादेखि आधुनिकताको नाममा भएको विकृतिलाई निरन्तरता दिँदै आइरहेका छन् ।
साक्षरता र सिकाई त्यो महान भगवान हो जसले असल व्यवहार ज्ञान, सीप प्रदान गर्दछ । यसले सवैलाई समान व्यवहारको शिक्षा प्रदान गर्छ । यस्तो भगवानको प्रचारप्रसार हुन सकेको छैन । हुन सकेको भए रुकुम तथा जाजरकोटका घटनाहरु घट्ने थिएनन् । साक्षरताकै अभावले दलित भएकै कारण कतिले ज्यान गुमाउनु परेको छ । नेपालको सुविधा बञ्चितक्षेत्रमा रहेका मुसहर, चेपाङ, पासी, चमार, डोम, बादी, माझी, कुसुण्डा, सन्थ्याल लगायतका विपन्न र पछाडि परेका समुदायमा नेपाल सरकारले बृहत् साक्षरता कार्यक्रमको सुरुवातलाई बढावा दिनुपर्दछ । संघीय नेपालको वर्तमान सरकारले “गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार राष्ट्र निर्माणको आधार” भन्ने घोषणा पत्रलाई आत्मसात गर्दै शैक्षिक विकासको विभिन्न उद्देश्यहरु लिएको छ । नेपालको संविधानमा मौलिक हकको रुपमा शिक्षालाई समावेश गरी माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरेको छ । तर सुविधा बञ्चितक्षेत्रमा यो कार्यान्वयन हुन सकेकोे छैन । नेपाल सरकारले राष्ट्रिय अर्थतन्त्र निर्माण र राज्य सञ्चालन गर्न आवश्यक पर्ने दक्ष जनशक्ति निर्माण गर्न परिमार्जित शिक्षा नीति लागू गरिरहेको छ । सुविधा बञ्चित पिछडिएको क्षेत्रमा भने सामान्य साक्षरता कार्यक्रम समेत पुग्न सकेको छैन ।

पिछडिएको क्षेत्रमा साक्षरता र जीवनपर्यन्त सिकाईको पहुँच विस्तार गरी मानवीय सभ्यतालाई सम्मुन्नत बनाउने कार्यका निम्ति सबैको चासो हुनुपर्छ । यस्ता क्षेत्रहरुमा साक्षरतामा सफलता प्राप्त गर्न विभिन्न प्रकारका स्तरीय तालिमहरु प्रदान गरिनु पर्दछ । बर्तमान समयको माग भनेको एक प्रगतिशील समाजको निर्माण गर्नु भएकोले सबैस्तरबाट सुविधा बञ्चितक्षेत्रमा जीवनपर्यन्त सिकाईलाई विस्तार गर्नुपर्दछ । यसवाट देश निर्माणको महान् कार्यमा सफलता प्राप्त भई ग्रामिण, सुविधा बञ्चितर पिछडिएको समूह तथा समाज सुखी सम्पन्न र समुन्नत बन्न सक्दछ । देशलाई एउटा प्रगतिमार्ग तर्फ धेरै प्रयासहरु भैरहेको छ । तर देशमा २०६८ सालको जनगणना अनुसार साक्षर मानिसहरुको संख्या भने कुल जनसंख्याको ६५.९ प्रतिशतमा मात्र सिमित छ । यस तथ्याङ्कमा उत्कृष्टता प्राप्त गर्न नसक्नुको मूल कारण भनेको साक्षरता कार्यक्रम भित्र देशका सबै नागरिकलाई समेट्न नसक्नु नै हो । साक्षरता तथा जीवनपर्यन्त सिकाई र ज्ञानकै अभावमा देशका पिछडिएका क्षेत्रका मानव समूदायलाई पर्याप्त मात्रामा विकासका पूर्वाधारहरु निर्माण गर्ने कार्यमा सम्लग्न गराउन सकिएको छैन । यस्ता क्षेत्रका मानिसहरुलाई उन्नति गर्ने पर्याप्त मौका दिइएको छैन र अगाडि वढ्न उत्सािहत गर्ने खालका शैक्षिक उत्प्रेणा प्रदान गरिएको छैन । संसारका विभिन्न देशहरुका गरिएको अनुसन्धानहरुले कुनै पनि देशका कुनै निश्चित क्षेत्र, समुहका नागरिकहरु राज्यका आधारभूत सुविधावाट बञ्चितहुनुको कारण पनि साक्षरता र सिकाईको अभाव भएको देखाइएको छ । यस्ता सुविधा बञ्चितक्षेत्रहरुमा प्रौढ शिक्षा, व्यवसायिक तालिम, रेडियो, सञ्चार, शिक्षा आदिबाट जीवनपर्यन्त सिकाई विस्तार गर्न सकिन्छ । साक्षरता विकास कार्यक्रममा सुविधा बञ्चित समुहको सहभागिता सुनिश्चित गर्नु आजको आवश्यकता हो ।

यसै आवश्यकतालाई महसुस गरी पिछडिएका क्षेत्रका बालबालिकाहरुको शिक्षामा पहुँच बढाउन केही स्थानीय तहहरुमा विभिन्न छात्रवृत्ति कार्यक्रम, दिवा खाजा कार्यक्रम, विद्यालय सुधार कार्यक्रम, महिला शिक्षा कार्यक्रम लागू भएका छन् । सुविधा बञ्चितक्षेत्रहरुका दक्ष जनशक्ति उत्पादनको अपेक्षाले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (CTEVT) ले पनि आधारभूत र माध्यमिकस्तरका प्राविधिक जनशक्ति उत्पादन गरिरहेको देखिन्छ । नेपालको सुदुरपश्चिम प्रदेशको शिक्षालाई पाठ्यपुस्तकमा होइन, कम्प्युटर शिक्षा प्रणाली र सुचना तथा सञ्चार प्रविधिसँग जोडेर अनलाइन शैक्षिक कार्यक्रम सञ्चालन गर्दा साक्षरता विकासमा टेवा पुग्दछ । नेपालमा धेरै मानिसहरु कृषिमा काम गर्ने भएकोले नेपाल सरकारले ग्रामिण विकासलाई अगाडी वढाउन खोजेको देखिन्छ तैपनि शैक्षिक विकासलाई प्राथमिकता दिएको पाईंदैन । देशका सुविधा बञ्चितसमुहका व्यक्तिहरुलाई राज्यले शिक्षित र दक्ष बनाउने तथा रोजगारका अवसरहरु सिर्जना र रोजगारी प्रदान गर्नुपर्दछ । यसबाट देशमा पिछडिएको क्षेत्रमा पनि आवश्यक जनशक्तिको उपलब्धतामा कमी आउँदैन र विकासको गतिमा सिथिलता आउन पाउँदैन । विकास मानिसको निम्ति आवश्यक पर्छ तर विकासको अति महत्वपूर्ण साधन भनेको मानव साधन नै हो र मानव साधन विकासको मूख्य तत्व शिक्षा भएकोले देशका हरेक क्षेत्रमा शिक्षालाई सर्वोपरि विकासको माध्यमको रुपमा सञ्चालन गरिनुपर्दछ । सुविधा बञ्चिततथा पिछडिएका क्षेत्रका मानिसहरुलाई कल्पनशील,विचारवान्, सिपयुक्त र परिश्रमी बनाउन उनीहरुमा राम्रो शिक्षा, तालिम र जीवनउपयोगी ज्ञानको सक्षमतामा बृद्धि गराउनुपर्दछ । “सबैका लागि शिक्षा” विश्वव्यापी अनुगमन प्रतिवेदन २०१५ ले पनि सवैका लागि शिक्षा कार्यक्रमको लक्ष्यसम्म पुग्न सुचना तथा सञ्चार प्रविधिको सम्भाव्यतामा जोड दिइएको थियो ।

उक्त महत्वकांक्षी विश्वव्यापी लक्ष्यलाई नेपालमा हुने भाैितक संरचनाको विकासमा हुने ढिलासुस्ती, प्रविधिको ढिलो आत्मसात र शिक्षासंग सम्बन्धित सुचना तथा सञ्चार प्रविधिमा समन्वयको अभावजस्ता कारण उक्त नारा नारामात्रै सिमित देखिएको छ । यस्तो शिक्षा प्रणालीको सुविधा बञ्चितक्षेत्रमा अपरिहार्यता भएतापनि नेपालका अधिकांश शिक्षकमा पनि प्रविधि साक्षरताको ज्ञान कमै पाईन्छ । सुचना तथा सञ्चार प्रविधिले शिक्षण र सिकाईलाई प्रभावकारी बनाउने हुँदा पिछडिएको क्षेत्रमा यस अध्ययन प्रणालीलाई लागू गर्दा राम्रो शैक्षिक उपलब्धि प्राप्त गर्न सकिन्छ । यसले त्यस क्षेत्रका मानिसहरुको जीवनपर्यन्त सिकाइमा सकारात्मक प्रभाव पार्दछ ।

२ आश्विन २०७७, शुक्रबार १२:१३



तपाईको प्रतिक्रिया