जडसुत्रवादी चिन्तनले समाज परिवर्तन र रुपान्तरण सम्भव छैन

सिद्धान्तका किताब लेख्ने विद्वानले पनि अर्को संस्करण संशोधित र परिमार्जित लेखेर नयाँ गतिका कुराहरू थपेका हुन्छन् । सिद्धान्तलाई स्थिर मानेर समाजका अन्य अवयवहरूमा मात्र परिवर्तन खोजियो भने जडसूत्रवादी भैइन्छ । त्यस्तो सिद्धान्त आर्थिक-सामाजिक परिवर्तनका निम्ति काम लाग्दैन । व्यावहारिक त झन् पटक्कै हुँदैन । हाम्रो रटाइ पनि ‘जडसूत्र’ जस्तै छ ।

संसार जिउँदो, गतिशील र परिवर्तनशिल छ । यो द्रुतगतिमा कहिले बाङ्गोटिङ्गो भएर, कहिले अर्धवृत्तमा र कहिले सरल रेखामा हिँडिरहेको हुन्छ । यो गतिलाई र गतिको प्रकृतिलाई हामीले पक्रन सक्यौं भने मात्र रूपान्तरण सम्भव हुन्छ । सिद्धान्तलाई स्थिर मानेर सिद्धान्तकै वृत्तमा चलायमान विश्वका अवयवहरूलाई घुमाउने र डो-याउने प्रयास गरियो भने अभ्यास निरर्थक हुन्छ । पूँजीवाद वर्षौंको अभ्यासपछि एउटै रूपको देखिँदैन, साम्यवाद त मरिसक्यो भन्दा पनि हुन्छ । यसका प्रयोगकर्ता मुलुकहरूले नै अर्को बाटो समातिसके ।

माक्र्सले पनि द्वन्द्वका कारणले हजारौंको संख्यामा जनता मारिएपछि सम्झौताबाट निर्माण हुने संविधान बनेको मुलुकहरूको अर्थशास्त्र लेखेका थिएनन् । माक्र्सको परिकल्पना बेलायतको औद्योगिक र यूरोपको सामाजिक विकासमा आधारित थियो । उहिलेका अर्थशास्त्रीहरू पल कोलिमर, रवि कान्वुर, शान्तानाथन देवराजन आदिले अहिले विश्व आर्थिक रङ्गमञ्चमा द्वन्द्वग्रस्त र द्वन्द्वले तङ्ग्रीदै गरेका मुलुकहरू देखे र तिनको सामाजिक,आर्थिक विकासक्रमको व्याख्या गर्न समर्थ भए ।

अहिले मुलुकको द्वन्द्वलाई माक्र्सेली चश्माले हेर्नु, विश्लेषण गर्नु वा निष्कर्षमा पुगिहाल्नु हतार हुन्छ । हाम्रो द्वन्द्व कमजोर संस्थागत व्यवस्था, गरीबी, बेरोजगारी र विषमताको उर्वर भूमिमा मौलाएको हो । राजनीतिक अस्थिरता, भ्रष्टाचार, कमजोर सेवा प्रवाह र लुरे नेतृत्वले द्वन्द्वको आगोमा इन्धन थपेको हो । यी सामाजिक र आर्थिक रोगको उपचार शान्ति र संविधान मात्र होइन ।

एक थान संविधान र कुनै न कुनै खालको शान्ति त पहिला पनि थियो । आफ्नै खालको अमन चयन पहिला पनि थियो तर, त्यसले जनताको समग्र ब्यथा बुझ्न सकेन । परिवर्तनका पेचिला मुद्दाहरू संम्बोधन हुन सकेनन् र फेरि सत्ताकै वृत्तमा राजनीति अल्झिइरह्यो भने भोलि अर्को ‘प्रचण्ड’ जन्मन्छ र निराश जनतालाई गुलिया नाराको ललीपप देखाएर अस्थिरताको ठूलै जंगको नेतृत्व गर्छनरगर्न सक्छन भन्ने हेक्का राख्नुपर्छ । यदि यसो गर्न सकिएन भने हामी फेरि पनि मूर्ख ठहर्छौ ।

अहिले हाम्रो राजनीतिक द्वन्द्व र भागबन्डाका नाममा राखेका मागहरू पूरा गराउन हतारिएको छ । अर्काथरि बीचको बाटो खोजिरहेका तर अल्मलिएका जस्ता पनि छन् । राजनीति राजनीति भित्रै गुम्सिरहेको देखिन्छ ।

मुलुकको सामाजिक,आर्थिक स्वास्थ्यमा दीर्घकालीन प्रभाव पर्ने मुद्दाहरूमा गम्भीर बहस चलाउनुको साटो आफ्ना माग संम्बोधन गराउन लागि पर्नुले देशप्रति चासै नभएको होकि भनेजस्तो पनि देखिन्छ । लेनदेनको बहस भन्दा सहि र गलतको बहस चलाएको भए सार्थक निष्कर्षमा पुग्न सकिन्थ्यो । सैद्धान्तिक अडानका नाममा मुलुकको इतिहास, भूगोल, अर्थशास्त्र र समाजशास्त्र बिर्सनु पनि जडसूत्रवाद भित्रै पर्छ ।
– म्यागङ गाउँपालिका–५ सामरी, नुवाकोट

२२ मंसिर २०७७, सोमबार ११:३६



तपाईको प्रतिक्रिया