मामाको कूटनीति, आमाको प्रोत्साहन र बिसे नगर्चीको व्यवहारनीति पृथ्वीनारायणका प्रेरणा

गोरखाली राजा नरभूपाल शाहको पहिलो विवाह खाँचीकी राजकुमारी चन्द्रप्रभासँग भएको थियो । विवाह भएको केही समयसम्म सन्तान नभएपछि चतुर चन्द्रप्रभाले पतिको दोस्रो विवाह आफ्नै फुपूकी नातिनी पाल्पाली राजकुमारी कौशल्यावतीसँग गराइन् । तिनै कौशल्यावतीको कोखबाट १७७९ पुस २७ गतेका दिन पृथ्वीनारायण शाहको जन्म भयो । कौशल्यावती सुसंस्कृत, सभ्य र शालीन नारी थिइन्। गोरखनाथकी परमभक्त उनी प्रायः भातभान्सा र दरबारको भित्री बन्दोबस्तमा तल्लीन रहिन्। जेठी महारानी चन्द्रप्रभा भने राजनीति र कूटनीतिमा निपुण थिइन्। छोरा महत्वाकांक्षी, साहसी र बहादुर बन्नुमा जेठी मुमाको विशेष योगदान थियो। पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग भयो । सुरुमै ससुरालीमा झमेला परेको हुँदा उनी दुलही नलिई फर्केका थिए । मकवानपुरे सेनहरू मधेसमा अकुत सम्पत्ति भएका, हातहतियार एवं हात्तीघोडाका धनी र शक्तिशाली थिए। सायद उनीहरूले गरिब पहाडी राज्यका राजकुमार पृथ्वीनारायण शाह आफ्नो काबुमा रहलान् भन्ने पनि सोचे होलान्। किन्तु उनी छुट्टै मट्टीले बनेका स्वाभिमानी र प्रभुत्वशाली महानायक थिए ।

सेन खानदानसँग नातासम्बन्ध भएकी खाँचीका राजाकी छोरी चन्द्रप्रभाबारे मकवानीहरूले नजान्ने कुरै भएन । शाहले पुनः दुलही लिएर जाने आग्रह गर्दा जेठान दिग्बन्धन सेनले चन्द्रप्रभाको टोकसो सहन बहिनी पठाउन सकिँदैन भनेर जवाफ फर्काए । आफूलाई अत्यन्त माया गर्ने आमाको अपमान सुनेर उनी साह्रै दुःखी र क्रुद्ध भई दुलही नलिई फर्के । उनको विवाह, ससुरालीमा भएको बखेडा र मकवानपुर जितेपछि उनले सेनहरूलाई दिएको गोता, सासनार अपमानको फेहरिस्त लामो छ । उनले पछि काँशीतिरकी राजपुत कन्या नरेन्द्रलक्ष्मीसँग विवाह गरे । शाह इतिहासका सबैभन्दा प्रभायुक्त चम्किला सितारा हुन् । स्वदेशी र विदेशी इतिहासकारहरूबाट सर्वाधिक चर्चा पाएका नितान्त अग्ला पात्र हुन् उनी । साथै उनी आँट, साहस, प्रताप र जोखिमपूर्ण अभियानका प्रतीक हुन् । उनी हतियार मात्र नभई मानिसलाई समेत तिखार्नमा प्रवीण र कुशल संगठक थिए । उनी जोदाहा र सदैव खतरा मोल्न तयार यशस्वी योद्धा थिए। उनले आफ्नो पछि लाग्न आउने युवकहरूलाई मर्न र मार्न तयार छौ भने मेरो पछि लाग नत्र पन्छिएर जाऊ भन्ने गर्थे ।

मामाको कूटनीति, आमाको प्रोत्साहन र बिसे नगर्चीजस्ता अनुभवी नागरिकको व्यवहारनीति उनका प्रेरणाका स्रोत थिए। ब्रिटिस लेखक फ्रान्सिस बुचानन ह्यामिल्टनको शब्दमा पृथ्वीनारायण ‘अत्यन्तै महत्वाकांक्षी, उपयुक्त निर्णय गर्न कुशल, महान् साहसी र अथक प्रयत्नका प्रतीक थिए । उनी आफ्ना अनुयायी तथा आश्रय खोज्नेका लागि दयालु र शत्रुप्रति नितान्त कठोर व्यक्ति थिए ।’ साहित्यकार भीमनिधि तिवारीद्वारा रचित एकांकी नाटक ‘बिसे नगर्ची’मा बिसे नगर्ची (वास्तविक नाम विश्वेश्वर)ले म अनपढले के अर्ती दिन जान्दछु र ख्वामित ! भनेर बिन्ती गर्दा राजाले भनेका थिए, ‘बिसे ! त्यसो त नभन ! विद्या भनेको अर्कै कुरा हो, बुद्धि भनेको अर्कै । कति विद्या भएका मानिसको बुद्धि छैन, कति बुद्धि भएकाको विद्या छैन। विद्या त आर्जन गर्न सकिन्छ बुद्धि भन्ने कुरा आर्जन गर्न सकिन्न ।’

मकवानी युवराज जेठान दिग्बन्धन सेनसँग पेचापेच र व्यक्तित्वको टकराव परेपछि चन्द्रागिरिको बाटो गोरखा फर्कने बखतमै पृथ्वीनारायण शाहले मकवानपुर मात्र नभई कान्तिपुरसमेत हान्ने अठोट गरे । तीर्थयात्राको सिलसिलामा गोरखा आइपुगेका मामा पाल्पाली युवराज उद्योत सेनलाई उनले भनेका थिए, ‘लमजुङ भन्याको गरुड हो, गोरखा भन्याको सर्प हो र नेपाल भन्याको भ्यागुता हो। मेरा साथमा चार जातका सिपाही छन्, इनमा कसको सवार गर्या चाँडो काज फत्य होला ?’ भान्जाको जिज्ञासालाई सम्बोधन गर्दै मामाले भनेका थिए, ‘बाहुनको सवार भन्याको बयेल हो पातक् लाग्छ, ठकुरीको सवार भन्याको सिंह हो पछाडि दगा हुन्छ, मगरको सवार भन्याको टागन् घोडा हो ढिलो हुन्छ, खसको सवार भन्याको ताजी तुर्की घोडा हो । खसको सवार गर्या चाँडो होला भन्या जस्तो लाग्छ।’ मामाको यो अर्तीलाई पृथ्वीनारायणले पालना गरेका थिए ।

पृथ्वीनारायणका भाइमध्ये दलमर्दन मात्र उनका सहोदर थिए । महोद्दामकीर्ति र दलजित अर्की आमा सुभद्रा र सुरप्रताप शाह बुद्धिमतितर्फका थिए । उद्योत सेनको भनाइ थियो, तिमीले सबै भाइलाई मिलाएर राख्यौ भने पाँच पाण्डवजस्तै हुनेछौ। पृथ्वीनारायणले भाइहरूलाई आफूपछिको प्रतिष्ठा, सम्मान र सम्पत्ति दिएर राखे । परन्तु पाटनको राजगद्दीमाथि दलमर्दन र मकवानपुरको राजगद्दीमाथि महोद्दामकीर्तिले मागदाबी जाहेर गरे । दाजुको कडा फट्कार पाएपछि भाइहरू रिसाएर हिँडे। भक्तपुरमाथि आक्रमण गर्ने समयमा पृथ्वीनारायणका साथमा कान्छा सुरप्रताप मात्र बाँकी भए । भक्तपुर विजयपछि आफूले खोजेजस्तो पारितोषिक नपाएका उनी पनि देशै छाडेर हिँडेका थिए। सामरिक मामिलामा नितान्त भाग्यमानी पृथ्वीनारायण पारिवारिक मामिलामा भने भाग्यहीन निस्के । सम्मान र सम्पत्तिले सन्तुष्ट हुन नसकेका भाइहरूले सत्तामा आँखा गाडेपछि ‘त्यसो गर्न थालिस् भने आँखा झिकिदिनेछु’ भनेर हप्काउन बाध्य भए पृथ्वी । उनी कुनै हालतमा मावलीका पुर्खा पाल्पाली राजा मणिमुकुन्द सेन र यक्ष मल्लजस्तो राज्य विभाजनको अपयश लिन तयार थिएनन्। विडम्बना ! अटल र अविभाज्य राज्य कायम गर्न खोज्दा पाँच पाण्डवजस्ता भाइहरूको साथ छुट्यो ।

जीवनको अन्तिम समयमा पृथ्वीनारायणसँग भाइहरू थिएनन् । आफू निरन्तर राज्यविस्ताररूपी कर्ममार्गको अभियानमा लागिरहेकै समयमा युवावस्थामा प्रवेश गरेका पुत्र प्रतापसिंह शाह चरम भाग्यवादी र विलासी भएको पत्तै पाएनन् महानायकले । कतिपय भारदारले प्रतापसिंह शाहलाई युवराजको ओहोदाबाट बेदखल गरी बहादुर शाहलाई राज्यको उत्तराधिकारी घोषणा गर्न भनी दिएको सुझावलाई उनले ‘रोलक्रममा खलल पर्छ’ भनी अस्वीकार गरे । दरबारमा युवराजलाई तन्त्रसाधनाको माध्यमबाट यस जन्ममा भोग र अर्को जन्ममा मुक्ति मिल्नुका साथै मांस, मदिरा र मैथुनद्वारा नै सिद्धि पाइन्छ भनी उक्साउनेहरूलाई महानायक पृथ्वीनारायणले केही गर्न सकेनन् । केवल ‘पूर्व–पश्चिमका खस र बाहुनलाई दरबारमा पैठ हुन नदिनू, यिनले बेथिति गराउँछन्’ भनेर चित्त बुझाए ।

लोकले मानेका महान् व्यक्तिहरू पनि परिवार र आफ्नै प्याराहरूबाट पीडित र प्रताडित हुन पुग्दा रहेछन् । शान्त, शालीन र पितृभक्त रामलाई बाबुको गलत प्रतिज्ञाको सिकार बनेर वनवासी हुनुप-यो । कृष्णका भाइबन्धुहरू शक्ति र सम्पत्तिको राप र तापले मैमत्त भई आपसमा लडेर सखाप भए । कुरुवंशीहरू बन्धु मात्र लडेनन्, अन्यान्य राजा र तिनका सेनाको विनाशका कारणसमेत बने । दिल्लीको मुगल दरबार आफन्तको रगतले सिञ्चित भयो । पृथ्वीनारायण राजाको रूपमा सफल थिए । उनको सार्वजनिक व्यक्तित्व प्रकाण्ड र महिमामय थियो । परन्तु उनको जीवन एउटा पिता, ज्वाइँ र भ्राताको रूपमा असफल, दुःखदायी र कष्टकर रह्यो। सामान्य मानिसले त मनको पीर पोख्ने पात्र पाउँछन्, किन्तु एउटा राजाले मनको वह र आन्तरिक वेदना कहाँ र कोसँग भनेर हलुको हुने ?

‘अर्थनाशं मनस्तापं गृहे दुश्चरितानि च। वञ्चनं चापमानं च मतिमान्न प्रकाशयेत् ।’ सम्पत्ति नास भएको विषय, मनको चिन्ता, घरभित्रका दुश्चरित्र एवं दुष्टताहरू, आफू ठगिएको र अपमानित भएको कुरा बुद्धिमान्हरूले बाहिर पोख्नु हुँदैन भन्ने नीतिवाक्यसँग उनी परिचित थिए । उनले आफ्ना पीडा र दर्दहरू छातीभित्रै दबाएर राखे । एउटा हिन्दी गीतले भन्छ, ‘किसको सुनाऊँ हाल दिल ये बेकरारका, बुझता हुवा चिराग हुँ अपने मजारका ।’ सायद यही अवस्था पृथ्वीनारायण शाहको एघारौं पुस्ताका सन्तान राजा वीरेन्द्रको पनि भयो होला । पृथ्वीनारायणले सत्ता, शक्ति र सम्पत्तिलाई आमोदप्रमोदको विषय कहिल्यै बनाएनन् । मोजमज्जाको विलास भवनभित्र मुग्ध भएको भए उनको अभियान तुहुने थियो । यी मेरा मावली हुन्, यी ससुराली हुन्, यी गोतियार हुन् र यी अनन्य मित्र हुन् भनेर मोलाहिजा राखेको भए राज्य एकीकरणको अभियान अघि बढ्नु असम्भव थियो ।

सबै कुरा पाउँदा पनि नपुगेर गादी माग्ने भाइहरूलाई प्रसन्न पार्ने अर्को उपाय उनीसँग थिएन । भाइको मामिलामा आवश्यकताअनुसार निष्ठुर बन्न सफल उनी छोराको मामिलामा भने भावुक बन्न पुगे। पुत्रमोहको सार्वभौम प्रवृत्तिबाट जोगिन उनी जस्तो कठोर व्यक्तिलाई पनि कठिन भयो । उनलाई भाइ र छोराहरूभन्दा बरु भारदार, सेनापति र थरघरहरूको भरविश्वास थियो । उनले भनेका पनि थिए, ‘मेरा थरघर र भारदारहरूले मेरो उद्देश्य बुझे भने मेरा सन्तानलाई सम्झाई–बुझाई सुबाटो देखाइदेलान् र यो राज्य थाम्लान् ।’ यो पृथ्वीनारायणजस्ता महानायकको अत्यन्तै विवश र लाचार अभिव्यक्ति हो । यस उद्गारलाई मनन् गर्दा उनमा आफूले निर्माण गरेको राज्य आफ्ना सन्ततिबाट थामिँदैन कि भन्ने आशंका रहेको प्रष्ट देखिन्छ । हुन पनि उनको देहावसानपछि नेपाल दरबारभित्र षड्यन्त्र र कलहको बीज रोपियो । बाबुको किरिया बसेकै अवस्थामा बहादुर शाह दाजु प्रतापसिंहको आदेशानुसार नजरबन्दमा परे । एकातर्फ भारदारहरूको सहयोगमा राज्य विस्तार हुँदै गयो भने अर्कोतर्फ दरबारभित्र अनेकौं खेलखाल भइरहे ।

पृथ्वीनारायणको देहान्त भएको करिब ३२ वर्षपछि १८६३ वैशाख १४ गते कालरात्रिमा आपसी द्वन्द्वका कारण रणबहादुर शाहसमेत पृथ्वीनारायणका तीन नाति काटिए । १८७१/७२ मा ब्रिटिस इस्ट इन्डिया कम्पनीसँग भएको युद्धमा भोग्नुपरेको पराजयको परिणामस्वरूप पृथ्वीनारायणले सुरु गरेको विजय अभियानमा पूर्णविराम लाग्यो, आर्जन भएको भूभागसमेत गुम्यो। पृथ्वीनारायणले अगाध विश्वास गरेका कुँवर खलकका भारदारका सन्तान जंगबहादुरले उनी स्वयंका खनाति मूढमति राजा राजेन्द्रविक्रम शाहलाई कैद गरेर गद्दीचयुत गरिदिए । राजेन्द्रका छोरा सुरेन्द्रदेखि त्रिभुवनसम्म १०४ वर्षभित्रका राजाहरू राणाका खोपीका देउता बनेर बसे । अन्त्यमा, एउटा चिनियाँ लोकोक्ति सबैले मनन् गरौं, ‘तिमी जुन कुवाको पानी पिउँछौ, त्यसको निर्मातालाई पनि याद गर्ने गर ।’

२७ पुष २०७८, मंगलवार १२:३०



तपाईको प्रतिक्रिया