पत्रकारितामार्फत् मानव अधिकार प्रर्वधनमा राजन कुइँकेल

राजन कुइँकेल, नेपाली पत्रकारिता र मानव अधिकार क्षेत्रमा सुपरिचित नाम । नुवाकोटको सदूरपूर्वी दुर्गम गाँउ समुन्द्रटारमा जन्मेका कुइँकेल मुलुकको पत्रकारिता र मानव अधिकार अभियानको केन्द्रीय भागमा पुग्ने सफल व्यक्तित्व हुन् । नुवाकोटको दुप्चेश्वर माध्यमिक विद्यालयबाट २०४७ सालमा विद्यालयस्तरीय शिक्षा (एसएलसी) सकाएर उच्च शिक्षाका लागि सदरमकाम विदुर हुँदै काठमाडौं छिरेका उनी समयक्रममा मुलुककै एक सुपरिचित पत्रकार (टेलिभिजनकर्मी)का रूपमा स्थापित भए । अध्ययनका साथसाथै व्यावसायिक जीवनको सुरुवात सामाजिक सेवाबाट थालेका उनले आफ्नो पेशा भने पत्रकारितालाई नै बनाए । २०५० सालबाट करिब सात वर्ष अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेन युएसमा बिताएका उनी सुरुका चार वर्ष नुवाकोट र तीन वर्ष तराईको सिराहा जिल्लामा कार्यरत रहे । जनताको आवाज बोल्ने आकाङ्क्षाले कुइँकेल विकासे कार्यकर्ताका रूपमा सीमित हुन चाहेनन् र तुलनात्मक रूपमा सहज पेशा त्यागेर २०५८ देखि नेपालको मूलधारे पत्रकारितामा होमिए ।

निजी क्षेत्रको पहिलो प्रसारण संस्था इमेज च्यानलमा करिब दुई दशकअघि संवाददाताका रूपमा प्रवेश गरेका कुइँकेल अहिले सोही संस्थामा सम्पादकको भूमिकामा छन् । इमेज टेलिभिजन र रेडियो (एफएम)मा राजनीतिक तथा समसामयिक विषयमा अन्तर्वार्ता गर्ने उनी कुशल अन्तर्वार्ताकारका रूपमा परिचित छन् । कुइँकेल आफूले लिने अन्तर्वार्ताबाट मूलतः प्रजातन्त्र, मानव (नागरिक) अधिकार, मूलधारबाट पछाडि पारिएका सीमान्तकृत वर्ग र तिनका अधिकारजस्ता विषय खरोसँग बाहिर ल्याउँछन् । पत्रकारिता पेशा भए पनि न्याय र मानव अधिकारका पक्षमा आवाज उठाउने उनी विश्वकै सबैभन्दा ठूलो मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलको नेपाल शाखाका पूर्वअध्यक्ष पनि हुन् । दुई दशकदेखि नेपालको मानव अधिकार अभियानमा संलग्न उनी सन् २०१६–२०१८ का लागि एम्नेस्टी इन्टरनेसनल नेपालको अध्यक्ष बनेका थिए । प्रजातन्त्र र नागरिक अधिकारमा लगाव रहेकै कारण उनले लामो समयदेखि पत्रकारितामा यिनै विषयलाई उठाउँदै आएका छन् । पत्रकारिता र मानव अधिकारलाई साथै लिएर अगाडि बढिरहेका कुइँकेलले विभिन्न देशमा भएका मानव अधिकार सम्मेलन र भेलामा सरिक हुने अवसर पनि पाएका छन् । युरोपका दशभन्दा बढी मुलुक, अमेरिका तथा एसियाका दर्जन मुलुकमा भएका मानव अधिकारसँग सम्बन्धित सेमिनारमा उनले नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै देशभित्र र बाहिरको मानव अधिकारबारे आफ्नो धारणा राखेका छन् ।

पत्रकारितालाई माध्यम बनाएर मानव अधिकारका मुद्दालाई मूलधारका सञ्चारमाध्यममा स्थान दिन प्रयत्न गर्नु उनको अर्को योगदान हो । उनले गरेका सयौँ अन्तर्वार्ता र कार्यक्रम मलुकको राजनीतिका अलावा पछाडि पारिएका क्षेत्र र वर्गका अधिकारबारे केन्द्रित रहेको देखिन्छ । पत्रकारिता र मानव अधिकारको क्षेत्रमा पु¥याएको योगदानकै लागि कुइँकेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरेका छन् । पत्रकारिता र मानव अधिकारका क्षेत्रमा दुई दशकदेखि अनवरत क्रियाशील कुइँकेल आवाजविहीनको आवाजलाई ‘मास मिडिया’मार्फत दुनियाँसमक्ष पु-याउन नै पत्रकारितामा प्रवेश गरेको बताउँछन् । तर, विद्यालय र कलेजमा विद्यार्थी वर्गमा राजनीतिक चेतना अभिवृद्धिका लागि होमिएका उनी विकासे कार्यकर्तामा सीमित हुन चाहेनन् । गाउँ फर्के, त्यसबेला मलुक माओवादी सशस्त्र हिंसाले ग्रस्त थियो । काठमाडौंमा पत्रकारिता अध्ययनसँगै कामको खोजीमा लाग्दा प्रसारण पत्रकारितामा निजी क्षेत्रको नेपालकै पहिलो संस्था इमेजमा पुगे । उनले २०५८ सालमा पत्रकारिता थाल्दा मुलुक माओवादीले थालेको हिंसा तथा सरकारी प्रतिहिंसाको सिकार बनिरहेको थियो । सरकारी सुरक्षाकर्मी र माओवादी लडाकहरू मात्र मारिइरहेका थिएनन्, युद्ध र हिंसासँग बिल्कलै सरोकार नभएका निहत्था नागरिक पनि दुवैखाले बन्दुकको चपेटमा दैनिक पारिएका थिए । दिनदहाडै दुवै पक्षबाट मानव अधिकारको चरम उल्लङ्घन र ज्यादती हुने क्रम बढ्दो थियो । बन्दुकको दबदबामा नागरिक आवाज दबाइएको थियो । सहरदेखि गाउँसम्म त्रस्त थियो । विद्रोही र राज्यको हिंसा–प्रतिहिंसामा परेर १७ हजारभन्दा बढी नागरिक मारिए । कुइँकेल भन्छन्, ‘प्रजातन्त्र, मानव अधिकार, नागरिक स्वतन्त्रताजस्ता आधारभूत स्वतन्त्रतालाई प्रिय ठान्दै यस विषयसँग एकाकार हुँदैयोगदान दिन सक्ने स्थान पत्रकारिता ठानेर यो पेशामा हेलिएँ ।’ उनी थप्छन्, ‘मेरो एउटा प्रयासले कति योगदान पुग्यो या पुगेन म भन्न सक्दिनँ, तर मेरो विश्वासमाथि इमानदार हुने प्रयास भने गरेको छ ।’

उनी समाचार आलेख, विचार लेख्दा होस् वा टेलिभिजन, रेडियोको सेटअगाडि कार्यक्रम चलाउन बस्दा बृहत्तर हितका पक्षमा नै केन्द्रित भएर विषय उठान गरिएका छन् । मानव अधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा मुलुक र मुलुकवासीका पक्षमा बोल्न छाडिएको छैन । रिझाउनेभन्दा आलोचनात्मक बन्नु पत्रकारको धर्म हो । आलोचनात्मक चेत भएको पत्रकारले नै सही अनुसन्धान गर्न सक्छ । उनी भन्छन्– ‘आलोचनात्मक चेतका विचार पस्कँदा पाइने प्रशंसा र कटु आलोचनाले पनि यस पेशामा लागिरहन अझ हौसला मिलिरहेको छ ।’ कुइँकेलका विचारमा ‘पत्रकारिता मात्र होइन, हरेक पेशाभित्र सुख पनि छन् दु ःख पनि । यसलाई कसरी ग्रहण गर्ने भन्ने हो । त्यो व्यक्तिविशेषमा निर्भर रहन्छ । यस पेशाका सुख भन्नुस् या राम्रो पक्ष, धेरैभन्दा धेरै क्षेत्र, समूह, व्यक्ति, पेशाका व्यक्तिसँग एकाकार हुने अवसर, जसले आफूलाई देश, काल, परिस्थिति, व्यवस्था बुझ्न मद्दत गर्दछ । समाजले पत्रकारिता पेशालाई गर्ने सम्मान अर्को छुटाउनै नहुने विषय हो । यद्यपि, समाजले गरेको अपेक्षा र विश्वासमा समग्र पत्रकारिता क्षेत्र कति खरो उत्रन सकेको छ भन्ने अर्को बहसको विषय होला । राजादेखि रङ्कसम्मको दैलो खुला रहनु पत्रकारिता पेशाप्रति सम्मान हो । पत्रकारिता पेशा आफ्ना लागि भन्दा आमजनताका पक्षमा गरिने काम हो । उसै पनि पत्रकारितालाई चौथो अङ्गका रूपमा लिइनका पछाडि पनि यस्तै–यस्तै कारण छन् ।

पत्रकारिता संवेदनशीलता, जोखिम र उत्तरदायित्वको त्रिवेणी हो ।’ पत्रकारिता गर्दाका चुनौतीका प्रसङ्गमा उदाहरण दिँदै कुइँकेल भन्छन्, ‘माओवादी शान्तिप्रक्रियामा आएको थियो । प्रचण्ड युद्धको राप र तापमा थिए । २०६४ सालको निर्वाचनपछि बनेको सरकारका प्रधानमन्त्री प्रचण्ड, प्रधानसेनापति निष्कासन काण्डमा परेर पद त्याग्न बाध्य भएका थिए । उनी भन्छन्– ‘चितवनको शक्तिखोरमा माओवादी लडाकको सङ्ख्याबारे कसरी राज्यलाई झुक्याइयो भनेर गरेको भाषणको टेप इमेज टेलिभिजनबाट सार्वजनिक गर्दा पाएको धम्की बिर्सन सकिँदैन । अर्को घटना छ, माओवादीले हिंसामार्फत शक्ति आर्जन गरेको देखेपछि तराईका जिल्लामा च्याउ उमेझैँ सशस्त्र समूह देखिन थालेका थिए । मुख्यगरी जनतान्त्रिक तराई मुक्तिमोर्चा गोइत र तराई जनतान्त्रिक मुक्तिमोर्चा ज्वालासिंह समूहले तराईमा हिंसा मच्चाउँदै निहत्था नागरिकको हत्या गरिरहेका थिए । तिनका गतिविधिविरुद्ध समाचार बनाउँदा ज्वाला समूहले तराईमा काम गर्ने हाम्रा संवाददाता र मलाईसमेतलाई ज्यान मार्नेसम्म दिएका धम्की द्वन्द्वका बेलाका रिपोर्टिङका अनभव संगालेको छ ।’ ०६२/६३ को जनआन्दोलनका समयमा समाचार सङ्कलन गर्दाको समयमै प्रहरीको घेराबन्दीमा पर्दा प्रहरीको लाठीबाट बालबाल बचिएको र यस्ता विषय पत्रकारितामा आइरहने मोड हन् ।’ ०४६ को परिवर्तनपछि सञ्चारलाई उद्योगका रूपमा लगानी गर्न तम्सने थुप्रै थपिएका छन् । नयाँ–नयाँ प्रविधि प्रवेशको प्रतिस्पर्धा बढेको छ । अत्याधुनिक शिक्षा प्राप्त जनशक्ति थपिँदो छ । पत्रकारिताका माध्यमबाटै दुराचार, भ्रष्टाचार र नीति निर्माण तहका सेटिङमा हुने बदमासी आमजनताका बीचमा उजागर गराउन उनी खरो रूपमा उत्रिन्छन् ।

उनले सत्तामा बसेर शक्तिको दुरुपयोग गर्नेलाइ नङ्ग्याउँदै गलत निर्णय फिर्ता लिन बाध्यसमेत बनाएका छन् । पत्रकारिताभित्र छिरेको दलीयकरणलाई निरुत्साहित गर्न सकिएन भने यो पेशाप्रति भुइँमान्छेको विश्वास मर्न सक्छ भन्ने मान्यता उनको छ । पत्रकारको वृत्ति विकास र क्षमता अभिवृिद्धमा लगानी जरुरी छ । लगानी आकर्षित गर्दा अहिलेको आवश्यकता अनेकन बाटोबाट भित्रिएका कालोधनलाई धुने माध्यम यो क्षेत्र नबनोस् भन्ने कुइँकेल उद्योगधन्दा, कलकारखाना प्रशस्त नहुँदा विज्ञापन व्यवसाय नफस्टाउने, विज्ञापन नहुँदा मिडिया जगत् टिक्न गाहो पर्ने चुनौती रहेको बताउँछन् । आज उनले पाएको स्थानको श्रेय पत्रकारितालाई नै जान्छ । नुवाकोटको एउटा दुर्गम गाउँमा जन्मिएर सहर पसेको ठिटोलाई पत्रकारिता र मानव अधिकारको क्षेत्रमा चिनिने बनाउने पत्रकारिता नै हो । धेरै मानिससँगको सम्पर्क विस्तार, तिनका नियत र नीति, चित्र र चरित्रबीचको भेद खट्याउने बनाउने यो माध्यमले नेपालका साथै अन्तर्राष्ट्रिय मञ्चमा मानव अधिकारका मुद्दा लिएर उपस्थित हुन सक्ने बनाउन पत्रकारिताको ठूलो योगदान छ । २०४६ को परिवर्तनका संवाहक राजनेताहरू गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णपसाद भट्टराई, गिरिजाप्रसाद कोइरालाजस्ता पात्रसँगको सामीप्यता र कराकानी गरेका कुइँकेलले झुपड बस्तीमा जीवनको अर्थ खोजिरहेकाहरूसँग भएका अन्तरङ्ग बसउठलाई पनि बाहिर ल्याएका छन् । पत्रकारिता क्षेत्रले सधैँ प्रजातन्त्र, मानव अधिकार र नागरिकको जनजीविकाका पक्षमा आफूलाई अग्रस्थानमा उभ्याउँदै आवाजविहीनको सहारा बन्न सक्नपर्छ भन्ने कुइँकेल पत्रकारिता अत्यन्तै जिम्मेवार, संवेदनशील र उत्तरदायी पेशा हो भन्छन् ।

तर, एउटा पत्रकारले कलम घुमाएकै भरका कसैको जीवन बन्छ भने कसैको स्वाहा पनि बन्न सक्छ । नेपालको मानव अधिकार क्षेत्रमा संस्थागत रूपमा काम गर्ने पहिलो संस्था एम्नेस्टी इन्टरनेसनलको अध्यक्षसमेत बनिसकेका कुइँकेल यस क्षेत्रको आबद्धताबारे भन्छन्, ‘मेरो पत्रकारिता र मानव अधिकार क्षेत्रको संलग्नता लगभग सँगैसँगै जस्तो भएको छ । सन् २००० तिरबाट म औपचारिक रूपमा मानव अधिकारको क्षेत्रमा संलग्न भएको हुँ । सन् १९९० मा प्रजातन्त्र बहालीपछि नेपालमा मानव अधिकारका विभिन्न आयामबारे छलफल हुन थाले । संविधानदेखि कानुनसम्म मानव अधिकारमैत्री बनाउने पय्रास भए । दुर्भाग्य ! मुलुकमा त्यही बेला माओवादीले राज्यसत्ता परिवर्तनका लागि भन्दै सशस्त्र हिंसाका गतिविधि बढाउन थाल्यो । मलुक विद्रोही र राज्यको हिंसा–प्रतिहिंसाको चपेटमा जान थाल्यो । सत्रौँ हजार निहत्था नेपाली नागरिक मारिए । हजारौँ बेपत्ता, अङ्गभङ्ग बनाइए । हिंसाको राँकोले देश नै सल्काउँदै थियो । यस्तो अवस्थामा व्यक्तिको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न आग्रह गर्दै विश्व मानव अधिकारवादी संस्था एम्नेस्टीले नेपालभित्र र बाहिरबाट अभियान चलाइरहेको बेला उनी आबद्ध भएका थिए । ‘सरक्षाकर्मी हुन् वा माओवादी या दुवै समूहमा आबद्ध नरहेका निहत्था नागरिक, तिनको जीवनरक्षा पहिलो प्राथमिकता हुनुपर्छ भन्दै एम्नेस्टीले अभियान चलाइरहेको थियो । त्यही अभियानलाई दूरदराज जहाँ बिनाकारण नागरिक माओवादी र सरक्षाकर्मीको चपेटमा थिए । माओवादी सुराकी गरेको आरोप लगाउँदै र सुरक्षाकर्मी माओवादीलाई सघाएको बहानामा निहत्था नागरिकलाई शूलीमा चढाउँदै थिए । त्यस्तोमा मानिसको जीवनरक्षाको सवाल पहिलो थियो । एम्नेस्टीको सदस्य र पत्रकारका रूपमा यो अभियानलाई पूरापूर सघाउँदै उनी अगाडि बढेका थिए । यसै क्रममा, पत्रकारितामा रहेर मानव अधिकारका सवाललाई प्रवद्र्धन गर्न सघाउँदा एम्नेस्टी नेपालको राष्ट्रिय समितिमा तीन कार्यकाल रहने अवसर पाएका कुइँकेल सन् २०१६–२०१८ सम्म उक्त संस्थाको राष्ट्रिय अध्यक्ष भएका थिए ।

सशस्त्र हिंसाको अन्त्यपछि मलुक राजनीतिको नयाँ चरणमा प्रवेश गरे पनि हिंसाको एक दशकमा पीडित बनाइएकाले अझै पनि न्याय पाउन सकेका छैनन् । मारिएका सत्रौँ हजार नागरिकको के अपराध थियो ? किन बेपत्ता बनाइयो ? त्यसको सत्य जान्ने र जवाफ पाउने अधिकारसम्मको पनि सम्मान हुन अझै सकेको छैन । द्वन्द्वकालमा शत्रु किटान गरिएका सत्तामा साझेदारी गरिरहेका छन् । मानव अधिकारको चरम उल्लङ्घन र ज्यादतीको आरोपबाट घेरिएका राज्यसत्ताको माथिल्लो निकायमा पगेका छन् । पीडितलाई न्याय दिलाउने भन्दा शक्तिको प्रभावमा छेक्ने कृत्य बारम्बार भइरहेको छ । पीडितका आवाजसम्म सुन्न छाडिएको छ । पदकालागि जेसुकै हर्कतको साझेदारी गर्ने नेताहरूको शैलीबाट विरक्तिएका नागरिक न्यायालयबाट समेत न्याय नपाउँदा निराश बन्न थालेको उनी बताउँछन् । गौर हत्याकाण्ड, मधेस विद्रोह या तराईमा उब्जिएका सशस्त्र समूहबाट गरिएका ज्यादती वा सुरक्षाकर्मीबाट भएका बल प्रयोगका घटनामा मारिएका, सताइएका त नेपथ्यमा पुगेका छन् । दैनिकजसो भइरहेका बालिका/किशोरी/महिला बलात्कारका मुद्दामा न्याय नपाएका हजारौँ उदाहरण भइसकेका छन् । मलुकको सुरक्षा र न्याय प्रणालीमाथि नै पनि भुइँमान्छेको विश्वास उढ्न थालिसकेको छ । रोजगारीका कारण बिदेसिन बाध्य युवा मानव बेचबिखनको जालोमा परेका छन् । यस्तो सञ्जालको निशाना खाडी, मलेसिया मात्र होइन, युरोप, अमेरिका जाने सपनामा रहेका युवासमेत हुने गरेका छन् । परम्परागत घरेलु हिंसा, सामाजिक, सांस्कृतिक रूपमा हुँदै आएका विभेदलाई अन्त्य गर्ने दिशामा त राज्यको संरचनाले कहिले चित्तबझ्दो गरी सोच्ला ? शिक्षा र स्वास्थ्यका क्षेत्रमा भएको बजारी र व्यापारीकरणले न्यूनतम अधिकारबाट पनि वञ्चित भएकाको मानव अधिकारबारे त बोलिदिने संयन्त्र नै बन्न सकेको छैन । यसतर्फ राज्य र मानव अधिकारका पक्षमा काम गर्ने सबैको ध्यान तानिनुपर्ने उनी बताउँछन् ।

१५ माघ २०७८, शनिबार १६:०१



तपाईको प्रतिक्रिया