माओवादीको महाधिवेशनको तयारी

काठमाडौं । ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि आठौँ राष्ट्रिय महाधिवेशन’ भन्ने मूल नाराका साथ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय महाधिवेशन गर्दै छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशनको उद्घाटन आज आइतबार ३ बजे हुने तय भएको छ। महाधिवेशनस्थलमा पार्टीका नेता तथा कार्यकर्ताको चहलपहल बढिरहेको छ।

के फरक हुन्छ महाधिवेशन र राष्ट्रिय सम्मेलनमा ?
माओवादी केन्द्रको आठौँ महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ। राजधानीको कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा आज ३ बजे महाधिवेशन उद्घाटन हुँदै छ। यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया सम्पन्न गरेको र गर्नैपर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा सम्पन्न गर्न लागेको हो। महाधिवेशन पाँच दिनसम्म चल्ने माओवादी केन्द्रको आकलन छ।

राष्ट्रिय महाधिवेशन स् पार्टी विधानको धारा १५ मा राष्ट्रिय महाधिवेशनसम्बन्धी व्यवस्था गरेको छ। उक्त व्यवस्थामा एकताको राष्ट्रिय महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुने तथा राष्ट्रिय महाधिवेशन प्रत्येक पाँच वर्षमा सम्पन्न गर्ने उल्लेख छ। विशेष परिस्थितिमा केन्द्रीय समितिले यसको स्पष्टीकरणसहित बढीमा ६ महिनासम्म राष्ट्रिय महाधिवेशनको समय सार्न सक्ने विधानले व्यवस्था गरेको छ।

महाधिवेशनको स्थान, मिति र प्रतिनिधित्व केन्द्रीय समितिले तोकेबमोजिम हुने तथा महाधिवेशन आफैँले महाधिवेशन सञ्चालनका लागि आवश्यक विधि, प्रक्रिया र संरचना तय गर्ने विधानमा छ। यसबाहेक राष्ट्रिय महाधिवेशनले पार्टीको विधान, राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन र आवश्यक अन्य प्रस्ताव पारित हुन्छन्। केन्द्रीय समिति, केन्द्रीय निकाय र तिनका पदाधिकारी तथा सदस्यहरूको निर्वाचन राष्ट्रिय महाधिवेशनबाट पारित विधानबमोजिम हुने व्यवस्था छ।

पार्टी एकीकरण गरिएको सन्दर्भमा एकीकरणसम्बन्धी संयुक्त भेला वा केन्द्रीय समितिहरूको संयुक्त अधिवेशनले निर्णय गरेबमोजिम राष्ट्रिय महाधिवेशनको आयोजना हुने माओवादीको विधानमा छ। यसअघि ०६९ मा माओवादीले सातौँ राष्ट्रिय महाधिवेशन हेटौँडामा गरेको थियो।

राष्ट्रिय सम्मेलन स् विधानको धारा ५९ राष्ट्रिय सम्मेलनबारे व्यवस्था छ। दुई राष्ट्रिय महाधिवेशनको बीचमा पार्टीको नीति, कार्यक्रम, संगठन, पार्टी एकता वा विभाजन वा कुनै विशेष परिस्थिति उत्पन्न भएमा केन्द्रीय समितिले राष्ट्रिय सम्मेलन आयोजना गर्न सक्ने विधानमा छ। त्यस्तो सम्मेलनले गरेको निर्णयको अनुमोदन त्यसपछि आयोजना हुने राष्ट्रिय महाधिवेशनद्वारा गरिनुपर्ने व्यवस्था छ। राष्ट्रिय सम्मेलनको प्रतिनिधित्व केन्द्रीय समितिले तोकेबमोजिम हुने पनि विधानमा छ। यसअघि ०७१ मा माओवादीले विराटनगरमा राष्ट्रिय सम्मेलन गरेको थियो।

 

११ पुष २०७८, आईतवार १४:०५



तपाईको प्रतिक्रिया