समिति भन्छ: भ्रष्टाचार भएको छैन

लिखु । नुवाकोटको लिखु र पञ्चकन्या गाउँपालिकामा सञ्चालित सामुहिक खेती व्यवस्थापन समितिले प्रेस विज्ञप्ती जारी गरेर समितिको बारेमा आएका समाचारहरुको खण्डन गरेको छ ।

समितिले भ्रष्टाचार गरेको समाचार एउटा अनलाईनले लेखेको भन्दै समितिका सचिव बैकुण्ठ मिश्रले विज्ञप्ती जारी गरेका हुन् । सामुहिक खेती कार्यक्रमका लागि पञ्चकन्या गाउँपालिकामा र लिखु गाउँपालिकामा एक एक वटा कृषि समुह दर्ता भएरको र सोही अन्र्तगत काम भइरहेको बताइएको छ । २ करोड १५ लाख उक्त परियोजनामा कृषि ज्ञान केन्द्रबाट डेढ करोड, समितिबाट ६५ लाखको साझेदारीमा कार्यक्रम सञ्चालन भइरहेको विज्ञप्तीमा उल्लेख छ । सो रकमबाट जग्गा चक्लाबन्दी गर्ने, विउ विजन र किटनाशक औषधि खरिद गर्ने, यन्त्रउपकरण किन्ने, कृषि सहक र नरहको निर्माण तथा मर्मतको काम सुरु भएको बताइएको छ ।

सामुहिक खेती व्यवस्थापन समितिले जारी गरेको विज्ञप्तीमा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, पञ्चकन्या गाउँपालिका वडा नं. १ का अध्यक्ष मणिनाथ लामिछानेको चरित्र हत्या गर्ने गरी समाचार आएको उल्लेख छ ।

यसै बीच, मंगलवार सामुहिक खेती व्यवस्थापन समितिको छलफलमा राप्रपाका स्थानीय नेता रामचन्द्र अगस्तीमाथि कुटपिट भएको थियो । बुधवार राप्रपा नुवाकोटले निकालेको विज्ञप्ती अनुसार लिखु गाउँपालिकाका अध्यक्ष धुव श्रेष्ठले अगस्तीलाई कुटेका हुन् ।

२५ असार २०७७, बिहीबार १३:२३



तपाईको प्रतिक्रिया