विदुर । नेपाली काङ्ग्रेस नुवाकोट १४ औँ महाधिवेशनको तयारीमा जुटेको छ । महाधिवेशनमा जिल्ला पार्टी कब्जा गर्ने दाउमा नेपाली काङ्ग्रेसका केन्द्रीय नेतादेखि जिल्ला नेतासम्म भेटघाट र छलफलमा सक्रिय रहेका छन् ।
तत्कालीन नेपाली काङ्ग्रेस र नेका(प्रजातान्त्रिक) एकीकरणपछि दुवैतर्फका क्रियाशील सदस्यको आधारमा १२औँ एकता महाधिवेशन सम्पन्न भयो । १३औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता भरेका ४५ सयको सदस्यता केन्द्रमै हराएपछि १३औँ अधिवेशन १२औँ अधिवेशनका सदस्यले मात्र सहभागिता जनाएर नेतृत्व चयन गरेका थिए । केन्द्रीय सदस्य डा.रामशरण महत र अर्जुननरसिंह केसीको शक्ति–सङ्घर्षको कारण १३औँ महाधिवेशनमा ४५ सयले भरेको क्रियाशील सदस्यता केन्द्रमै हरायो ।
१३ औँ अधिवेशनबाट जिल्लाको नेतृत्वमा पुगेको जगदीश्वरनरसिंह केसीले ४५ सयले भरेको क्रियाशील सदस्यको टुङ्गो लगाउन अहिलेसम्म सकेका छैनन् । १४औँ महाअधिवेशनका लागि क्षेत्रीय सभापतिमार्फत वडा–वडामा वितरण गरिएको क्रियाशील सदस्यता फाराम भर्न आजीवन काङ्ग्रेस बनेकाले नपाएको गुनासो आइरहेको छ । गत हप्ता सभापति केसीले क्रियाशील सदस्य फाराम वितरणमा भेदभाव गरेको गुनासो आएको स्वीकार गर्दै वडा इकाइ समितिलाई विधानसम्मत् गर्न कडा उर्दी जारी गर्नुपरेको छ ।
केन्द्रको कारण महत केसीलाई टक्कर दिन सभापति शेरबहादुर देउवाको विश्वासपात्र केन्द्रीय सदस्य प्रकाशशरण महत र बहादुरसिंह लामा जिल्लाको ८८ वटै वडामा क्रियाशील सदस्यताको फाराम भराउन कोरोना सङ्क्रमण, रोकथाम र नियन्त्रणका लागि स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई समेत चुनौती दिएर खटिरहेका छन् । कोरोना सङ्क्रमण र सङ्क्रमितको कारण सुनसान गाउँ–टोलमा अहिले काङ्ग्रेसका कार्यकर्ताको क्रियाशील सदस्यता भराउन जमघटले भिडभाड बढिरहेको छ । नुवाकोट काङ्ग्रेसमा साढे दुई दशकदेखि कब्जा जमाइरहेका सभापति जगदीश्वरनरसिंह केसी यसपटक महत केसी समूहबाट रमेश महतलाई भावी सभापतिमा प्रस्ताव गर्नुभन्दा दाजु डा. केदारनरसिंह केसीलाई सभापति प्रस्ताव गर्ने रणनीति बनाइरहेका छन् । विधानअनुसार जगदीश्वरनरसिंह केसी दुई कार्यकाल सभापति भइसकेकाले तेस्रोपटक सभापति हुन पाउने छैनन् ।
१३ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता भरेका ४५ सयले यसपटक स्वतः सदस्यता मान्यता पाउनेछन् भने नयाँ क्रियाशील सदस्यता भरेका चार हजार पाँच सय र पुरानो आठ हजार गरी १६ हजार पाँच सय सदस्य जिल्ला अधिवेशनमा सहभागी भएर नेतृत्व चयन गर्नेछन् । (त्रिशुली प्रबाह)
५ भाद्र २०७७, शुक्रबार ११:०५