विदुर । नेपाल सरकारले चीन दुई क्षेत्रमा प्रस्ताव गरेको महावाणिज्यदूतमा नुवाकोटको बेलकोटगढी नगरपालिकाका दुई जना परेका छन् । सहसचिवद्धय नवराज ढकाल र उदयबहादुर रानामगर क्रमशः तिब्बतको ल्हासाका लागि र हङकङ र मकाउका लागि महावाणिज्यदूतमा प्रस्तावित भएका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकाललाई तिब्बतको ल्हासाका लागि महावणिज्यदूत नियुक्त गर्ने तयारी सरकराले गरेको छ । हाल मन्त्रालयको दुई पक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख रहेका ढकाललाई चीनको स्वसाशित क्षेत्र तिब्बतको ल्हासाको महावाणिज्यदूत बनाउन लागिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अब बस्ने मन्त्रीपरिषद बैठकले ल्हासाका लागि ढकाललाई महावाणिज्यदूत बनाउने प्रस्ताव स्वीकृत गर्ने छ । ढकाल यसअघि निर्वाचन आयोगको प्रवक्ता थिए ।
यस्तै, नेपाल सरकारले हङकङ र मकाउका लागि सहसचिव उदयबहादुर रानामगरलाई महावाणिज्यदूत नियुक्त गर्ने तयारी गरेको छ । गृहमन्त्रालयका सहसचिव रानामगर अहिले झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी छन् । मन्त्रीपरिषदको अबको बैठकले रानामगरलाई हङकङ र मकाउका लागि महावाणिज्यदूत नियुक्त गर्ने तयारी छ ।
यसै बीच, नेपाल आदिवासी जनजाती महासंघ हङकङले लामो समयदेखि जनजाति समुदायका महावाणिज्यदूत पठाउन माग गर्दै आन्दोलनसमेत गरिरहेको थियो । नेपाल सरकारलाई दबाब दिने क्रममा महासंघले हङकङस्थित महावाणिज्यदूतावास घेराउ गर्नेदेखि महावाणिज्यदूतलाई सार्वजनिक कार्यक्रममा बहिस्कार समेत गर्दै आएको थियो । महासंघले जनजातीबाट पहलिो महावाणिज्यदूतमा प्रस्तावित भएको खुसी व्यक्त गरेको छ ।
त्यसो त हङकङमा अहिले वाणिज्यदूत पनि जनजाति समुदायकै किरण गुरुङ छन् । परराष्ट्र मन्त्रालयका अधिकृत गुरुङ सिन्धुलीका हुन् । हङकङमा स्थायी रुपमा बसोबास गर्ने करिब ४० हजार नेपालीमध्ये ९० प्रतिशतभन्दा बढी जनजाति समुदायका छन् । बेलायती गोरखा सैनिकमा हुँदा हङकङमा बसेका मुख्यगरी मगर, गुरुङ, राई, लिम्बु समुदायका परिवारका सदस्य अहिले हङकङमा स्थायी रुपमा बसोबास गर्दै आएका छन् ।
महावाणिज्यदूतको चार वर्षे कार्यभार पूरा गरी दुई महिनाअघि सहसचिव कमलप्रसाद भट्टराई नेपाल फर्केपछि हङकङको महावाणिज्यदूत पद खाली छ । हङकङको महावाणिज्यदूतका लागि कम्तिमा आधा दर्जन सहसचिवले दौडधुप गरेका थिए । क्षमताका हिसावले सबै प्रतिस्पर्धी योग्य भएपनि जनजाति समुदायको माग सम्बोधन हुने र कुटनीतिक नियोगहरूमा हुने नियुक्ति पनि समावेशी हुने भएपछि उदयबहादुर रानामगर प्रबल दाबेदार बनेका हुन् ।
२०५५ सालमा खरिदारबाट सेवा सुरु गरेका नुवाकोटका रानामगर २०६१ मा शाखा अधिकृत भएका थिए । रानामगरले गुल्मी, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही र काभ्रेको प्रमुख जिल्ला अधिकारीका रुपमा काम गरिसकेका छन् । यस अघि राना विदुर नगरपालिकाको कार्यकारी अधिकृत समेत भए । गृह मन्त्रालयले गत भदौमा उनलाई काभ्रेबाट झापा सरुवा गरेको थियो ।
९ भाद्र २०७७, मंगलवार १३:३३