विदुर । संघीय सांसद हितबहादुर तामाङले जनप्रतिनिधि र कर्मचारी बीचको आपसी तालमेल नमिल्दा स्थानीय तहको बिकासमा प्रभाब परेको बताए । चौथो जिल्ला सभा तथा समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद तामाङले नयाँ ब्यबस्था अनुसारको संरचनामा दोहोरो बिबादले समस्या सिर्जना भएको बताए ।
जिल्ला समन्वय समितिले जनप्रतिनिधि र कर्मचारी दुबैको भाबनालाई बुझेर समन्वयात्मक कार्यको थालनी गर्दै सम्बृद्ध स्थानिय तहको निर्माणमा सहयोग गर्न पनि सांसद तामाङले निर्देशन दिएका छन् । अर्का संघीय सांसद नारायणप्रसाद खतिवडाले नयाँ संरचनामा रहेका कर्मचारीहरूको तालिम र अनुभब आदानप्रदानमा जिल्ला समन्वय समितिले काम थालनी गर्नुपर्ने बताए । भर्खरै अध्ययन सकाएर स्थानिय तहमा काम गर्न आएका कर्मचारीलाई आबाश्यक सिप र ज्ञान बाँड्नको लागी भौगोलिक अबस्था अनुसारका बिज्ञसँगको अन्तक्रिया नहुँदा बिकास निर्माणमा समस्या रहेको उनको तर्क छ ।
वाग्मती प्रदेश नेकपाका प्रमुख सचेतक केशबराज पाण्डेले नयाँ संरचनामा रहेकाले देखिने बिकासका कामहरू बिस्तारै भैरहेको बताए । स्थानिय तहसँग सिमित श्रोत र साधन भएकाले देखिने गरि ठुला आयोजनाको स्तरउन्नती तथा निर्माण हुन नसकेको बताउदै, त्यसलाई वाग्मती प्रदेशले परिपुर्ति गर्दै आएको उनले बताए ।
नेकपा नुवाकोटका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य हिरानाथ खतिवडाले स्थानिय तहका जनप्रतिनिधिहरूको कार्यकाल एक बर्ष बाँकी रहेकाले अझै नागरिकहरूले चाहे अनुसारको बिकास गर्न सकिने बताएका छन् । नागरिकहरू प्रत्यक्ष जोडिन पुग्ने स्थानिय सरकारलाई नागरिकहरूले अझै अपनत्व लिन नसकेको भन्दै त्यसलाई नागरिकमुखी बनाउनुपर्नेमा उनको जोड छ ।
जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले स्थानिय तहमा देखिएका भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताए । नागरिकहरूले चाहे अनुसारको काम गर्न नसकेको भएता पनि ब्यबस्था प्रतिनै आक्रोश पोख्नु गलत रहेको उनको भनाई छ ।
बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले अहिलेसम्म स्थानिय तहले बिकास निर्माणको खाका मात्रै तयार भएको बताए । केही स्थानीय तहमा बिकास निर्माणको काम सुरु भएकाले अबको कार्यकालमा देखिने गरि र दिगो बिकास निर्माणको कार्यक्रम तयार पार्नुपर्ने उनले बताए ।
विदुर नगरपालिकाका उपप्रमुख गिताकुमारी दाहालले संबिधानले दिएको अधिकारलाई सुनिश्चित गर्न नसकिएको बताए । कानुन कार्यान्वयन गर्ने कर्मचारीहरूले आलटाल गर्ने र काम नगर्ने परिपार्टिले समस्या सिर्जना भएको उनको भनाई रहेको छ ।
तादी गाँउपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेले ससाना बजेट बिनियोजन गर्ने र कार्यबिधि समयमै नआउदा योजना कार्यान्वयनमा जान नसकेको बताए । प्रदेश र संघले दोहोरो भुमिका निर्बाह गर्दा स्थानिय तहमा आएको बजेट कार्यान्वयनमा समस्या रहेको उनको भनाई रहेको छ ।
चौथो जिल्ला सभा तथा समीक्षा बैठकमा नुवाकोटका सबै स्थानिय तहहरूले सञ्चालन गरेका नीति तथा कार्यक्रमहरूको समीक्षा गरिएको छ । यस्तै, प्रदेश र संघ अन्तर्गत रहेका कार्यालयहरूले सञ्चालन गर्दै आएका कामहरूको बिषयमा समिक्षा गरिएको छ । प्रदेश र संघ अन्तर्गत रहेका कार्यालयहरूले स्थानीय तहसँग समन्वय नगरी योजना कार्यान्वयन भैरहेको भन्दै समन्वय गर्न जिल्ला सभामा माग गरिएको छ ।
एउटै योजनामा स्थानीय तह र बिषयगत कार्यालयहरूबाट बजेट बिनियोजन हुने गरेको भन्दै सम्बन्धित स्थानिय तहसँग समन्वय गर्न जिल्ला सभाले बिषयगत कार्यालयहरूलाई निर्देशन दिएको छ ।
बिषयगत कार्यालय अन्तर्गत सडक, पुर्बाधार बिकास कार्यालय, मध्यपहाडी लोकमार्ग, गल्छि त्रिशुली मैलुङ रसुवागढी सडक आयोजना, सिञ्चाई डिभिजन बिकास कार्यालय लगायतले कहाँ के काम गर्दैछन् भन्नेमा जनप्रतिनिधिहरू अन्यौल छन् । आफ्नै स्थानिय तहमा बिगत २ बर्ष देखि योजना कार्यान्वयन हुँदै आएपनि स्थानिय तहका प्रमुख र उपप्रमुख त्यस योजना प्रति अनभिज्ञ रहेको जिल्ला सभामा पाईएको छ ।
२९ मंसिर २०७७, सोमबार १०:५४