नुवाकोटमा पनि काँग्रेसको शक्ति प्रर्दशन

विदुर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशभर सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ । सोहीअनुसार नुवाकोटमा पनि काँग्रेसले सदरमुकाम विदुरदेखि बट्टारबजारसम्म विरोध ¥याली निकाल्नुका साथै विरोधसभा गरको छ ।

विरोध -यालीपछिको सभालाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य डा. चन्द्र भण्डारीले नेपालका कम्युनिष्टहरु वास्तविक कम्युनिष्ट नभएको भन्दै कमाउनीष्ट भएको आरोप लगाएका छन् । उनले सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै त्यसको प्रतिकार नेपाली जनताले गर्नुपर्ने बताएका छन् । सरकार लोकतन्त्र र संविधानको मर्म अनुसार अघि नबढेको भन्दै सरकारलाई जनताले आगामी निर्वाचनमा ‘ठिक गर्ने’ उनको तर्क छ ।

केन्द्रिय सदस्य बहादुरसिंह लामा तामाङ, काँग्रेस नुवाकोट सभापति जगदिश्वरनरसिंह केसी, काँग्रेसका क्षेत्रिय सभापतिहरु जगत तामाङ, ध्रुब श्रेष्ठ लगायतले बिरोध सभामा बोल्दै सरकारको कार्यशैली र व्यवहारले आमनागरिकमा सरकारप्रति वितृष्णा फैलिएको दाबी गरे ।

केन्द्रीय सदस्य वहादुरसिंह लामाले नेपाली काँग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रूपमा लिएको भन्दै अब सरकारविरुद्ध सशक्त ढंगले विरोधमा उत्रिने बताए ।

काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीले सरकारको निरंकुश, तानाशाही, सर्वसत्तावादी, एकदलीय अधिनायकवादीका विरुद्धमा देशभर काँग्रेसले विरोध प्रदर्शन गरेको बताए । सरकारले तनहुँको पुल उद्घाटनमा जान लागेका प्रतिपक्षी दलका शीर्ष नेता रामचन्द्र पौडेलमाथिको दुब्र्यवहार गर्नु सर्वसत्तावादको संकेत भएको भन्दै उनले खेद व्यक्त गरेका छन् । नेता पौडेलमाथि भएको धरपकडको घटना आपत्तिजनक र निन्दनीय भएको भन्दै त्यस्ता सरकारको प्रवृत्तिविरुद्ध नुवाकोटमा प्रतिरोध गर्ने चेतावनी पनि उनले दिए ।

सरकारको सर्वसत्तावादी प्रवृत्तिमा कोभिड–१९ नियन्त्रणमा असफलता, स्वास्थ्य सामग्रीमा अनियमितता, राज्यआतंक, चर्को मूल्यवृद्धि, भ्रष्टाचार, महिला हिंसा, करवृद्धि र कुशासनको विरुद्ध देशभर नेपाली काँग्रेसले विरोध कार्यक्रम गरिएको उनले बताए ।

३० मंसिर २०७७, मंगलवार १०:२२



तपाईको प्रतिक्रिया