१० बर्षमा बेत्रावतीबाट रेल चढेर काठमाडौं जान सकिन्छ : सांसद मैनाली

फलाटे । नेकपाका नेता एवं वाग्मती प्रदेशका सांसद बद्री मैनालीले अबको १० वर्ष भित्र बेत्रावतीबाट रेल चढेर काठमाडौं जान सकिने दावी गरेका छन् । ‘हाम्रै पालमा यो सबै काम भएको हो, अबको बढिमा १० वर्षमा हामी रेल चढेर काठमाडौं जान्छौं’ सांसद मैनालीले भने ।

सुर्यगढी गाउँपालिका वडा नंं ३ स्थित सिमपानी कृषक समुह तथा नवजागृती क्लबको भवन शिलान्यास, ढुङ्गे खानेपानीको शिलान्यास र कृषि सडकको संयुक्त रुपमा उद्घाटन गर्दैै सांसद मैनालीले यत्तिका वर्षमा हुननसकेको विकास हाम्रो कार्यकालमा हुनसकेको भन्दै सन्तुष्टि जनाएका छन् । सुर्यगढीमा मात्रै तीन वर्षमा आफ्नै पहलमा विभिन्न पाँच शिर्षकमा १० करोड रुपैयाँ भन्दा बढि विकास बजेट ल्याएको उनले बताए । आफ्नो क्षेत्र भित्र नपरेपछि नुवाकोट–चोकते–उर्लेनी सडकको स्तरउन्ती र मर्मतका लागि आफुले निरन्तर काम गरिरहेको उनले बताएका छन् ।

सो सडक मर्मतकालागि दुई करोड रुपैयाँ आफ्नै पहलमा आएको र माघ १० गते भित्र अर्को १० करोड ल्याउने उनले प्रतिवद्धता जनाए ।

यसै बीच, सांसद मैनालीले सो कार्यक्रममा केपी शर्मा ओली बाँचुन्जेल राष्ट्र र नेकपा दुबै एक ढिक्का हुने बताएका थिए । उनले राष्ट्रका लागि काम गर्ने एकमात्र सपुत नेकपाका अध्यक्ष समेत रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली रहेको बताए ।

मैनालीले ओलीका बारेमा कीर्तिनिधि बिष्टहरूले जनाएका प्रतिक्रिया उल्लेख गर्दै कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतको नेपालले गुमाएको भूमी फिर्ता ल्याउने हिम्मत ओली बाहेकका नेतामा नरहेको बताए ।

कार्यक्रममा नेकपा नुवाकोटका नेता विन्दा ढुङ्गानाले झण्डै दुइतिहाइको नजिक रहेको कम्युनिष्टको सरकारलाई पार्टी भित्रकै भाइरसहरूले काम गर्न नदिएर घेराबन्दी गरेको आरोप लगाए । पार्टी र सरकारका विरूद्धमा विभिन्न नाममा भैरहेको गुटबन्दीप्रति इंगित गर्दै उनले आफूहरू पनि सधैँभरी चुप रहेर नबस्ने बताए ।

६ पुष २०७७, सोमबार १०:३६



तपाईको प्रतिक्रिया