सातमा एक जना ओली पक्षमा

विदुर । नेकपाको शिर्ष तहमा भएको विभाजनले नुवाकोट नेकपामा पनि कित्ताकाँट भएको छ । तर प्रधानमन्त्री केपी ओली पक्ष नुवाकोटका कमजोर देखिएको छ । नेकपा नुवाकोटको कार्यालय टिममा रहेका सात जना नेता मध्ये एक जना मात्रै ओली पक्षमा छन् । जिल्ला अध्यक्ष, सचिव सहितका बाँकी नेताहरू प्रचण्ड–नेपाल समुहमा छन् ।

कार्यालय टिमका सदस्यहरू नुवाकोट नेकपाका अध्यक्ष हिरानाथ खतिवडा, सचिव नारायणप्रसाद खतिवडा, बुद्धि प्रधान, बिष्णु लोहनी, कल्पना रिमाल र धर्म अधिकारी प्रचण्ड–नेपाल पक्षमा छन् । कार्यालय टिमका सदस्य बद्री मैनाली मात्रै ओली पक्षमा छन् ।

नेकपा नुवाकोटको जिल्ला कमिटि पनि प्रचण्ड–नेपाल पक्षको बलियो छ । जिल्ला कमिटिको सचिवलायमा रहेका ६३ जनामा ५३ जना प्रचण्ड–नेपाल पक्षमा उभिएका छन् । उनीहरूले सचिवालयको बैठकमै उपस्थित भएर हस्ताक्षर गरेको जिल्ला अध्यक्ष हिरानाथ खतिवडाले जानकारी दिए । बाँकी १० जना प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा देखिएका छन् ।

त्यस्तै, स्थानीय सरकारको प्रमुखमा निर्वाचित जनप्रतिनिधिहरूमा बेलकोटगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल मात्रै ओली पक्षमा देखिएका छन् । नेकपाबाट निर्वाचित नुवाकोटका बाँकी स्थानीय सरकारका प्रमुखहरू प्रचण्ड–नेपाल समुहमा छन् । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, उपप्रमुख गीताकुमारी दाहाल, पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेश वस्ती, उपाध्यक्ष तारादेवी रिमाल, ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामा, उपाध्यक्ष सीता खतिवडा लामा, बेलकोटगढी नगरपालिकाका उपप्रमुख कविता ढुङ्गाना प्रचण्ड–नेपाल पक्षमा छन् ।

नेकपा वाग्मती प्रदेशका सह ईञ्चार्ज एवं नुवाकोट क्षेत्र नं. १ का संघीय सांसद हितबहादुर तामाङ, वाग्मती प्रदेश सभाका उपसभामुख राधिका तामाङ पनि प्रचण्ड–नेपाल समुहमा छन् । वाग्मती प्रदेश नेकपा प्रमुख सचेतक केशवराज पाण्डे र वाग्मती प्रदेशका सांसद बद्री मैनाली ओली पक्षमा छन् ।

प्रधानमन्त्री ओलीले नुवाकोटका पाँच जनालाई आफ्नो केन्द्रिय सदस्यमा मनोनित गरेका छन् । प्रदेश सांसद केशवराज पाण्डे, नेकपा वाग्मती प्रदेश सदस्यहरू रामशरण प्याकुरेल, विन्दा ढुङ्गाना, विदुर नगरपालिकाका पुर्व मेयर ठाकुरप्रसाद गजुरेल, जिफण्ट वाग्मतीका अध्यक्ष रामहरि नेपाल केन्द्रिय सदस्यमा मनोनित भएका हुन् । प्रदेश सांसद बद्री मैनालीलाई ओली समुहले नेकपा नुवाकोटको अध्यक्ष बनाउने तयारी गरेको बुझिएको छ । सांसद मैनाली कोरोना संक्रमित भएर हाल काठमाडौं स्थित आफ्नै घरको आइसोलेसनमा उपचार गरिरहेका छन् ।

भोलि नेकपा नुवाकोटको बैठक

नेकपाले भोली आइतवारका लागि जिल्ला कमिटिको बैठक आब्हान गरेको छ । नियमित बैठक जस्तै प्रक्रियामा बोलाइएको आइतवारको बैठकको को–को सहभागि हुन्छन् भन्ने बुझ्नका लागि नेकपा जिल्ला अध्यक्ष, सचिवले बैठकको आब्हान गरेका हुन् । नेकपा नुवाकोटका जिल्ला सदस्यहरुको मत बुझ्नका लागि र कित्ता छुट्याउनका लागि यो बैठकलाई उपयोग गरिने बुझिएको छ । अध्यक्ष हिरानाथ खतिवडा र सचिव नारायणप्रसाद खतिवडाले आब्हान गरेको बैठक भएकोले ओली पक्षका नेकपाका जिल्ला सदस्यहरु भने बैठकमा सहभागि नहुने अनुमान गर्न थालिएको छ । नेकपा नुवाकोटले भोली आइतवार दिउँसो १२ गते बट्टार स्थित होटल सतञ्चुलीको कार्यक्रम हलमा जिल्ला कमिटिको बैठक राखेको छ ।

काँग्रेसको कार्यक्रम सोमवार

नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध १३ गते सोमवार नुवाकोट सहित देशभर प्रदर्शन गर्दैछ । बिहिबार बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार सोमवार १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएको हो ।

नुवाकोट कांग्रेसका प्रवक्ता राजु थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिकरुपमा संसद् विघटन गरेकाले बिरोध प्रदर्शन कार्यक्रम घोषणा गरिएको बताए । नुवाकोटमा हुने कार्यक्रम दुबै निर्वाचन क्षेत्र केन्द्रित गरिएको छ । क्षेत्र नं. १ र २ का लागि काँग्रेसले अलग अलग -याली र विरोध कार्यक्रमको आयोजना गरेको छ । क्षेत्र नं. १ मा चौघडा र क्षेत्र नं. २ मा विदुर स्थित लोकतान्त्रिक चौतरोमा प्रर्दशन गर्ने कार्यक्रम तय भएको प्रवक्ता थापाले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्न नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरू डा. रामशरण महत, अर्जुननरसिंह केसी लगायत आउने कार्यक्रम तय भएको छ । डा. महतले चौघडाको कार्यक्रम र केसीले विदुरको कार्यक्रमलाई सम्बोधन गर्ने बुझिएको छ ।

११ पुष २०७७, शनिबार १८:२५



तपाईको प्रतिक्रिया