कांग्रेस महाधिवेशनको मतगणना सकियो

विदुर । कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा सभापति शेरबहादुर देउवा समूहको दुईतिहाइ बहुमत आएको छ ।

निर्वाचित हुने एक सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिमा देउवा समूहका एक सय नौजना विजयी भएका छन् । दुईतिहाइका लागि निर्वाचित केन्द्रीय कार्यसमितिमा ९० जना भए पुग्छ । यसबाहेक केन्द्रीय कार्यसमितिमा कोइराला समूहका २२, सिंह समूहका दुई र कतै नखुलेका पूर्वमहामन्त्री शशांक कोइराला विजयी भएका छन् ।

नयाँ नेतृत्व चयनका लागि गत २४ मंसिरमा सुरु भएको महाधिवेशन अन्तर्गत २७ मंसिरमा भएको मतदानको अन्तिम परिणाम बिहीबार सार्वजनिक भएसँगै निर्वाचित हुने केन्द्रीय कार्यसमितिको टुंगो लागेको हो । बिहीबार खस–आर्यतर्फको १३, आदिवासी–जनजातितर्फको १५ र दलिततर्फको नौ पदको परिणाम आएपछि कांग्रेसको निर्वाचित हुने केन्द्रीय समितिले पूर्णता पाएको छ । यी तीन क्लस्टरबाहेक अन्यको मतपरिणाम यसअघि नै आइसकेको थियो ।

मतपरिणाम अनुसार दलित खुलातर्फ पाँचमध्ये देउवा समूहका चारजना विजयी भएका छन् । एकजना भने कोइराला समूहका विजयी भएका छन् । दलित महिलातर्फ भने चारजना नै देउवा समूहका विजयी भएका छन् । यस्तै, आदिवासी–जनजाति खुलातर्फ आठमध्ये सातजना देउवा समूहका विजयी भएका छन् भने एकजना कोइराला समूहका विजयी भएका छन् । त्यस्तै, आदिवासी–जनजाति महिलातर्फ भने सातैजना देउवा समूहका विजयी भएका छन् । खस–आर्यको खुलातर्फ सातमध्ये ६ जना देउवा समूहका छन् भने महिलातर्फ ६ जनामध्ये पाँचजना देउवा समूह र एकजना कोइराला समूहका विजयी भएका छन् ।

सभापति चयनका लागि २८ मंसिरमा भएको दोस्रो चरणको निर्वाचनबाट देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । उनीसँग प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला निकटतम प्रतिस्पर्धीका रूपमा रहे । पहिलो चरणमा प्रतिस्पर्धामा रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणको मतदानमा सभापतिमा देउवालाई समर्थन गरेका थिए ।

कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन आवश्यक खसेका कुल मतको ५० प्रतिशतभन्दा बढी मत आवश्यक पर्ने व्यवस्था छ । सोहीअनुरूप २७ मंसिरमा भएको मतदानमा सभापतिका कुनै पनि उम्मेदवारले आवश्यक मत प्राप्त नगरेपछि २८ मंसिरमा पुनः मतदान भएको थियो ।

पदाधिकारीमा मात्रै देउवाको समूहका कुल १३ जनामध्ये आठजना विजयी भएका छन् । जसमा पदाधिकारीतर्फ उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भए । सहमहामन्त्रीमा खस–आर्यबाट किशोरसिंह राठौर, महिलाबाट महालक्ष्मी उपाध्याय (डिना), थारूबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर, आदिवासी–जनजातिबाट भीष्मराज आङ्देम्बे, मधेसीबाट महेन्द्र यादव, दलितबाट जीवन परियार र पिछडिएको क्षेत्रबाट बद्री पाण्डे गरी आठजना निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई शनिबार प्रमाणपत्र वितरण गर्ने भएको छ । शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम रहेको सचिव केशव रिजालले जानकारी दिए ।

सभापति : शेरबहादुर देउवा
उपसभापति : पूर्णबहादुर खड्का र धनराज गुरुङ
महामन्त्री : गगन थापा र विश्वप्रकाश शर्मा
सहमहामन्त्री : महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियार, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, किशोरसिंह राठोर, महेन्द्र यादव, उमाकान्त चौधरी
केन्द्रीय सदस्यः डा.शेखर कोइराला (सभापति पदका प्रत्याशी)
केन्द्रीय सदस्यहरू खुलातर्फ (३५ जना) : शशांक कोइराला, एनपी साउद, बालकृष्ण खाँण, उदय शमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा, अर्जुननरसिंह केसी, जितजङ्ग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनिलबहादुर थापा, नैनसिंह महर, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल,सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजङ्ग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे
महिला खुलातर्फ (९ जना) : डिला संग्रौला, पुष्पा भुसाल, आरजु राणा देउवा, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाई, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य, रंगमति शाही ।
आदिवासी जनजाति (७ महिलासहित १५ जना) : चिनकाजी श्रेष्ठ, उमेश श्रेष्ठ, बहादुरसिंह लामा, दिलमान पाख्रिन, टेकबहादुर गुरुङ, आङ्गेलु शेर्पा, तारामान गुरुङ, टेकप्रसाद गुरुङ, सीता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती बजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना र सुशीला थिङ ।
खस आर्य (६ महिलासहित १३ जना) : केशवकुमार बुढाथोकी, गोविन्दबहादुर शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरी, मञ्जु खाण, प्रतिमा गौतम, नानु बाँस्तोला, कान्तिका सेजुवाल, चम्पादेवी खड्का र विद्यादेवी तिमिल्सिना ।
दलिततर्फ (४ महिलासहित ९ जना ) : मानबहादुर नेपाली, प्रकाश रसाइली ‘स्नेही’, हरिशरण नेपाली, नृपबहादुर वड, मैकुलाल बाल्मीकी, लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार विक र रुपा विक ।
मधेशीतर्फ (४ महिलासहित ९ जना) : अजयकुमार चौरसिया, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय, विनोदकुमार चौधरी, दिनेशकुमार यादव, नागिना यादव, मञ्जुकुमारी यादव, मिनाक्षी झा र मुक्ताकुमारी यादव ।
थारूतर्फ (२ महिलासहित ४ जना) : रामजनम चौधरी, योगेन्द्र चौधरी, कल्पना चौधरी र
जीवन राना ।
मुस्लिमतर्फ (१ महिलासहित ३ जना) : अब्दुल रज्जाक, अब्दुल सतार र जवेदा खातुन ।
अल्पसंख्यकतर्फ (१ जना) : प्रदीपकुमार सुनुवार
अपाङ्गता भएकातर्फ (१ जना) : मदनकृष्ण श्रेष्ठ
पिछडिएको क्षेत्रतर्फ (१ जना) : अर्जुनबहादुर सिंह
हरेक प्रदेशबाट १ महिलासहित ३–३ गरी २१ जना  : प्रदेश १ बाट अमृत अर्याल, राजीव कोइराला र महेन्द्रकुमारी लिम्बू । प्रदेश २ बाट रमेश रिजाल, आनन्द ढुंगाना र चित्रलेखा यादव । बागमतीबाट राजेन्द्रकुमार केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल केसी । गण्डकीबाट ध्रुब वाग्ले, कृष्णचन्द्र पोखरेल र सरस्वती अर्याल तिवारी । लुम्बिनीबाट देवेन्द्रराज कँडेल, चन्द्रबहादुर केसी र शिला शर्मा खड्का । कर्णालीबाट कर्णबहादुर बुढा, राजीव विक्रम शाह र जानकी सिंह । सुदूरपश्चिमबाट यज्ञराज जोशी, रणबहादुर रावल र सुशीला मिश्र भट्ट ।

९ पुष २०७८, शुक्रबार ११:०७



तपाईको प्रतिक्रिया