एमालेका आठ सिटमा सत्तागठबन्धनको भागबन्डा

काठमाडौं । आगामी १२ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । सात महिला, तीन दलित, दुई अपांगता भएका तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सिटका लागि हुने निर्वाचनको मंगलबार उम्मेदवारी दर्ता हुँदै छ ।

सत्तागठबन्धनमा रहेका दलहरूले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने सिटमा भागबन्डा गरेका छन् । यसले एमालेलाई आफ्ना सिट सुरक्षित गर्न कठिन बनाइदिएको छ । सत्तागठबन्धनमा रहेका दलहरूले यसअघि नै राष्ट्रिय सभा चुनावमा तालमेल गर्ने सहमति गरेका थिए ।

राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बिदा हुँदै छन् । जसमा एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार–चार, कांग्रेसका तीन र मनोनीत एक सांसद छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ । मनोनीततर्फ एकजनामा कसलाई पठाउने भन्ने टुंगिएको छैन ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको संयोजनमा सोमबार बसेको गठबन्धनको बैठकले रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त भएको त्यो सिटमा सोही पार्टीलाई उम्मेदवारी दिने सहमति गरेको छ । एमालेसँग भएका आठ सिटमा भने कांग्रेसलाई तीन, जनता समाजवादी पार्टी नेपाललाई दुई तथा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई एक–एक सिट बाँडेर उम्मेदवारी दिने सहमति भएको छ ।

गठबन्धनको सहमतिअनुसार प्रदेश १ का तीन सिटमध्ये महिलातर्फ एकीकृत समाजवादी, अन्यमा कांग्रेस र अल्पसंख्यकमा जसपाले उम्मेदवारी दिनेछन् । प्रदेश २ का दुई सिटमध्ये महिलातर्फ माओवादी र अन्यमा जसपा, बागमतीका दुई सिटमध्ये अन्यमा कांग्रेस र महिलातर्फ एकीकृत समाजवादी, गण्डकीका तीन सिटमध्ये महिलामा कांग्रेस, अन्य र दलित क्लष्टरमा माओवादीले उम्मेदवारी दिने भएका छन् । त्यस्तै, लुम्बिनीका तीन सिटमध्ये पुरुष खुलामा कांग्रेस, महिलामा समाजवादी र दलितमा जनमोर्चा, कर्णालीका तीन सिटमध्ये महिलामा कांग्रेस, अपांगमा माओवादी र खुलामा एकीकृत समाजवादी तथा सुदूरपश्चिमका तीन सिटमध्ये खुलामा कांग्रेस, दलितमा माओवादी र महिलामा एकीकृत समाजवादीले उम्मेदवारी दिने सहमति भएको छ ।

‘गठवन्धनमा रहेका जुन–जुन दलको खाली भएको छ, त्यो खाली भएको सिटमा उसकै अधिकार रहेको छ । बाँकीमा बाँडफाँड गरिएको छ । जस्तो, कांग्रेसको तीनवटा मात्रै खाली थियो, अब ६ वटा भएको छ । माओवादीको चारवटा सिट खाली भएको थियो, अब पाँचवटा भएको छ,’ गठवन्धनको बैठकपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकारसँग भने, ‘एकीकृत समाजवादीको चारवटा खाली थियो, अब पाँचवटा भएको छ । जसपाको खाली थिएन, दुई सिट भएको छ । जनमोर्चाको खाली थिएन, एक सिट भएको छ । यो गठबन्धनमा सबैको सहभागिता रहोस् भन्ने उद्देश्यसहित हामीले सकेसम्म विवेकपूर्ण र तर्कसंगत ढंगले विभाजन गरेका छौँ ।’

मंगलबार उम्मेदवारी दर्ता गर्न प्रायः सबै दलहरूले सोमबार उम्मेदवारको टुंगो लगाइसकेका छन् । एमालेको सचिवालय बैठकले प्रदेश १ मा खुलातर्फ झापाका देवराज घिमिरे र सुमित्रा भण्डारीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, अल्पसंख्यकमा सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा उम्मेदवार बनेका छन् ।

घिमिरेसँग गठबन्धनको तर्फबाट कांग्रेसका गोपालकुमार बस्नेत तथा एकीकृत समाजवादीकी जयन्ती राईले प्रतिस्पर्धा गर्नेछन् । अल्पसंख्यकमा एमालेका शेर्पा र गठबन्धनले तय गर्ने उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । यो सिट जसपाको भागमा परेको छ ।

त्यस्तै, प्रदेश २ मा गठबन्धनको तर्फबाट महिलातर्फ माओवादीकी उर्मिला अर्यालसँग एमालेकी विना साहले प्रतिस्पर्धा गर्नेछिन् । एमालेबाट खुलातर्फ धनुषाका असर्फी भिनवार यादव उम्मेदवार भएका छन् भने जनता समाजवादी पार्टीले उम्मेदवार तय गर्न बाँकी छ ।

बागमतीमा खुलातर्फ गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णप्रसाद पौडेल र एकीकृत समाजवादीका गोमा तिमल्सिना उम्मेदवार बनेका छन् । पौडेल र तिमल्सिनासँग एमालेबाट उम्मेदवार बनेका ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरकुमारी कुँवर (निरु) दर्लामीले प्रतिस्पर्धा गर्नेछिन् ।

गण्डकीमा गठबन्धनका तर्फबाट कांग्रेसकी कमला पन्त तथा एमालेबाट उम्मेदवार बनेकी नवलपुरकी लीला पोखरेल थनेतबीच प्रतिस्पर्धा हुनेछ । गण्डकीमै एमालेले खुला पुरुषतर्फ कास्कीका पुण्यप्रसाद पौडेल र दलित कोटामा बाग्लुङका गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाएको छ । त्यहाँ गठबन्धनका तर्फबाट माओवादीले खुलामा सुरेश आलेमगर र दलित कोटामा भुवन सुनुवारलाई उठाउने भएको छ ।

लुम्बिनीमा गठबन्धनका तर्फबाट कांग्रेसका युवराज शर्मा उम्मेदवार बनेका छन् भने उनीसँग एमालेबाट दाङका रामदयाल गुप्ताले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै, गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरेसँग एमालेबाट उम्मेदवार बनेकी बाँकेकी भारती खनालले प्रतिस्पर्धा गर्नेछिन् । लुम्बिनीमा दलित कोटामा एमालेले गुल्मीका कृष्णबहादुर सुनारलाई उम्मेदवार बनाउने निर्णय गरे पनि गठबन्धनका तर्फबाट उम्मेदवार तय भइसकेको छैन ।

त्यस्तै, कर्णालीमा गठबन्धनबाट खुलातर्फ एकीकृत समाजवादीका उदय बोहरासँग एमालेका चूडामणि शर्मा तथा महिलातर्फ कांग्रेसकी दुर्गाकुमारी गुरुङसँग एमालेबाट जुम्लाकी गंगा थापा महतले प्रतिस्पर्धा गर्नेछिन् । त्यस्तै, अल्पसंख्यक कोटामा गठबन्धनका तर्फबाट माओवादीका साहसी राजकुमारसँग एमालेका पदमबहादुर माझीले प्रतिस्पर्धा गर्नेछन् ।

सुदूरपश्चिममा गठबन्धनबाट कांग्रेसका नारायण मिश्र र एमालेका डिल्लीराज भट्ट तथा महिलामा मदनकुमारी शाह (गरिमा) र एमालेकी सन्तोषकुमारी शर्माबीच प्रतिस्पर्धा हुँदै छ । दलित कोटामा एमालेले बैतडीका नरेश विकलाई उम्मेदवार बनाएको छ, तर गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जगतबहादुर पार्की उम्मेदवार बनेका छन् ।

५९ सदस्यीय राष्ट्रिय सभामा हाल अध्यक्षसहित एमालेका २४, उपाध्यक्षसहित माओवादीका १४, कांग्रेसका सात, एकीकृत समाजवादीका सात, जसपाका दुई, लोकतान्त्रिक समाजवादी पार्टीका एक, स्वतन्त्र एक र मनोनीत तीनजना छन् । चुनावपछि भने राष्ट्रिय सभाको समीकरणमा फेरबदल हुने निश्चित छ ।

मतदाता र मतभारको अवस्था यस्तो छ 

निर्वाचनमा दुई हजार २५ मतदाता छन् । प्रदेश सांसद र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष मतदाता हुन् । प्रदेश सांसदको ४८ र पालिकाका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको मतभार १८–१८ हुन्छ । प्रदेश १ बाहेक अन्य प्रदेशमा गठबन्धनको अग्रता छ ।

  • प्रदेश १ मा जम्मा मतभार नौ हजार तीन सय १२ छ । आयोगले प्रकाशित गरेको नामावलीअनुसार यहाँ ९२ जना प्रदेश सभा सदस्य छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख दुई सय ७२ जना छन् ।

  • प्रदेश २ मा नौ हजार आठ सय १६ मतभार रहेको छ । यस प्रदेशमा प्रदेश सभा सदस्य एक सय चारजना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख दुई सय ६८ जना छन् ।

  • बागमतीमा प्रदेश सभा सदस्य एक सय नौजना छन्, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख दुई सय ३७ जना छन् । यसरी हेर्दा बागमती प्रदेशको मतभार नौ हजार चार सय ९८ रहेको छ ।

  • गण्डकीमा प्रदेशमा पाँच हजार आठ सय ९२ मतभार रहेको छ । जसमा प्रदेश सभा सदस्य ५९ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख एक सय ७० जना छन् ।

  • लुम्बिनी प्रदेशमा सात हजार सात सय ५८ मतभार रहेको छ । यस प्रदेशमा प्रदेश सभा सदस्य ८१ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख दुई सय १५ जना छन् ।

  • कर्णाली प्रदेशमा चार हजार चार सय ८८ मतभार रहेको छ । यहाँ प्रदेश सभा सदस्य ३५ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख एक सय ५६ जना छन् ।

  • सुदूरपश्चिम प्रदेशमा पाँच हजार ६ सय ४६ मतभार रहेको छ । यहाँ प्रदेश सभा सदस्य ५२ जना छन् भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिका प्रमुख, उपप्रमुख एक सय ७५ जना छन् ।

जो बिदा हुँदै छन्  

  • प्रदेश १ : अगमप्रसाद बान्तवा राई, नैनकला ओझा, परशुराम मेघी गुरुङ (सबै एमालेका)
  • प्रदेश २ : सुमनराज प्याकुरेल (एमाले), शशिकला दाहाल (माओवादी)
  • बागमती : राधेश्याम अधिकारी (कांग्रेस), उदया शर्मा पौडेल (एकीकृत समाजवादी)
  • गण्डकी : दीनानाथ शर्मा र खिमकुमार विक (माओवादी),  शान्ति जिसी (एकीकृत समाजवादी)
  • लुम्बिनी : कोमल वली र रामलखन चमार (एमाले), दृगनारायण पाण्डे (कांग्रेस)
  • कर्णाली : कविता बोगटी (एमाले), जीवन बुढा (माओवादी), ठगेन्द्रप्रकाश पुरी (एकीकृत समाजवादी)
  • सुदूरपश्चिम : चक्रप्रसाद स्नेही (एमाले), तारादेवी भट्ट (कांग्रेस), शेरबहादुर कुँवर (एकीकृत समाजवादी)
  • मनोनीत : रामनारायण बिडारी

२० पुष २०७८, मंगलवार १२:२६



तपाईको प्रतिक्रिया