१२९ दिनमा टुंगियो अधिवेशन

अध्यक्ष प्रधान (दाँयाँ), सचिव श्रेष्ठ (बाँयाँ)

विदुर । नेकपा एमाले विदुर नगर कमिटिको अधिवेशन १२९ दिनमा टुंगिएको छ । फागुन १२ गते काठमाडौंमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवको घोषणा भएसंगै विदुर नगर कमिटिको अधिवेशन सकिएको हो । नेकपा एमाले विदुर नगरकमिटीको अधिवेशनको उद्घाटन नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले कात्तिक १४ गते बट्टारमा गरेका थिए ।

चार महिना पुग्न एक दिन बाँकीमा टुंगिएको अधिवेशनमा कार्यकर्तामा भन्दा बढी नेताहरूमै विवाद र तानातानी देखिएको थियो । बिहीवार घोषणा भएअनुसार विदुर नगर कमिटिको अध्यक्षमा नविन प्रधान, उपाध्यक्षमा मनोज अधिकारी, सचिव अनुजकुमार श्रेष्ठ, उपसचिवमा राजकुमार केसी र भक्तबहादुर अधिकारी छन् । अध्यक्ष प्रधान र सचिव श्रेष्ठ यसअघि पनि सोही पदमा थिए ।

नगर कमिटिको अधिवेशनबाट पदाधिकारी नटुंगिएपछि त्यसलाई एमाले नुवाकोटले थाती राखेको थियो । नगर अधिवेशनलाई बाँकी राख्दै जिल्ला अधिवेशन सकेर मात्रै नगरको नेतृत्व घोषणा भएको छ । नगर कमिटिको अध्यक्ष र सचिवमा दाबी गर्ने अन्य उम्मेदवारहरूलाई जिल्ला कमिटिमा व्यवस्थापन गरेर बिहीबार नगर कमिटिको नेतृत्वको टुंगो लगाइएको बताइएको छ ।

१६ फाल्गुन २०७८, सोमबार १३:३०



तपाईको प्रतिक्रिया