उम्मेदवारी दर्ता ११ र १२ मा

विदुर । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको छ । उजरी दर्ता, त्यसमाथि जाँचबुझ प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गरिनेछ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते सकय दिइनेछ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिनेछ । ३० वैशाखमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुनेछ ।

यसै बीच, स्थानीय निर्वाचनमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्नेछ । आयोगले सार्वजनिक गरेको निर्वाचन आचारसंहिता, २०७८ मा स्थानीय जनप्रतिनिधिले निर्वाचनमा उम्मेदवार बन्न पदबाट राजीनामा दिनुपर्ने उल्लेख गरिएको छ । आचारसंहिताको दफा ३६ मा राजीनामा गर्नुपर्ने उल्लेख गरिएको छ । जनप्रतिनिधिले उम्मेदवारी दिनुअगाडि राजीनामा दिनुपर्ने भनिएको छ ।

‘कुनै स्थानीय तह वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेको निर्वाचित वा मनोनित पदाधिकारीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्न‘ अगावै वहाल पदबाट राजीनामा गर्नुपर्नेछ’, आचारसंहिताको दफा ३६ मा भनिएको छ । कसैले आचारसंहिता उलंघन गरे उजुरी दिन सक्नेछन् । ‘कसैले यो आचारसंहिता उलंघन गरेको पाइएमा उजुरी दिन चाहने व्यक्तिले मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाले आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन कार्यालय वा आचारसंहिताको परिच्छेद–८ बमोजिमका समिति, टोली वा अनुगमन अधिकृत समक्ष अनुसूची–४ बमोजिमको उजुरी दिन सक्नेछ’, उजुरी सम्बन्धी प्रावधानमा लेखिएको छ ।

५ चैत्र २०७८, शनिबार १५:२०



तपाईको प्रतिक्रिया